मालिकामा मैले देखेको ‘सपनाको पर्यटन’



अच्युत पुरी 

अनलाइन खबरडट कम 

बडा दशैं नजिकिएको छ । कोरोना महामारीका कारण अघिल्लो दशैं होटेल क्वारेन्टिनमा बिताएको मैले घरमा बाबालाई सोध्ने गर्थे, ‘बाबा कोटमा यो पाली कोको पस्नु भयो ?’ रागाँपाठा कसले काट्छ ?’ परिस्थिति भनौं वा बाध्यता, कोरोना महामारीका कारण यो पटक पनि बडा दशैंले समुदायमा रौनक ल्याउने छाँट देखिँदैन । सम्भवतः घरघरमा आउने बडा दशैं यो पटक पनि समुदायसम्म निस्कन डराउने छ । निस्किहाले पनि मुखमा माक्स र स्यानिटाइजरको बोतल छुट्नै छैन । मान्यजनले हाँसिहाँसि दिएको आर्शिवाद कतै सुन्न मात्र पो पाइने हो की ? यसो भन्दै गर्दा आजभन्दा १०÷१५ वर्ष अगाडीको दशैंको माहोलको याद आउँछ । महानवमी मेलापछिको ६ दिन मालिका र मदाने गाउँपालिका भित्र पर्ने विभिन्न स्थानमा खेलिने सराय नाँचको रौनक र त्यसमा पुग्न लालायीत मनले सम्झिरहेको छ, मेरो गाउँ, मेरो ठाउँ संस्कृतिमा साच्चिकै धनी छ, के हामीले त्यसको संरक्षण गर्न सक्यौं ? हिजोसम्म केन्द्र सरकारको ध्यान गएन भनेर उम्कन सजिलो थियो । अब त सरकार हाम्रो हातमा छ । बजेट हाम्रो हातमा छ । स्थानीय सरकारले यो मौलिक संस्कृति संरक्षणमा कति भूमिका खेल्यो ? अब सोच्नु पर्ला ।

सिमलटारी बजार 



मर्भूङ कोटबाट छहरे भिर हुँदै अर्खबाङ उक्लिएका ती दिनमा कहिले पनि सोचिएन, यो बाँदर लड्ने भिरमा मोटरबाटो आउला ! चमत्कार भयो । बाटो आयो । गज्जब भयो । तर, सम्झनुस त ती दिन, जब तपाई मर्भुङ मैदानबाट देउराली उक्लनु हुन्थ्यो, त्यसबेला तपाईको थाकेको शरीरलाई द्यौलागिरीले हानेको सिरेटोले कति उर्जा दिन्थ्यो ? कति शक्ति प्रदान गथ्र्यो ? मर्भुङ तिर गर्मीले उकुसमुकुस भएको जिउलाई अर्खबाङको चिसोले कसरी कक्रक्क पाथ्र्यो ? यो प्रकृतिले दिएको अनुपम उपहार होइन र ? हामीले यो सिरेटो संरक्षणमा के काम गरिरहेका छौं ? यो प्रकृतिको देनबाट कति उपयोग गरिरहेका छौं ? अब त अर्खबाङ चौर पनि क्रमशः कंक्रिट घरले भरिने छ । पोखरीहरुमा खेल मैदान बन्ने छन् । गोरेटोहरुलाई सडकका गल्लीले भर्ने छन् । त्यसपछि हिँजो पिकनिक मनाउन प्रफुल्ल मन लिएर उक्लने हामी अब वियर र आयातित रक्सीमा रेष्टुराँतिर बरालिएको अवस्थामा भेटिने छौं । त्यसकारण मेरो सपनाले भन्छ, सिमलटारी–अर्खाबाङ रुटमा हाइकिङ किन नगर्ने ?’ नियमित पदयात्रा चलाएर आन्तरिक पर्यटन प्रवद्र्धन किन नगर्ने ? छहरे छाँगो झरिरहोस न । द्यौलागिरिको सिरेटो खान पाइरहोस न ।


मालिका र मदाने हाम्रो शिरमा अटल छन् । मालिका माईले सबैको रक्षा गरेकी छिन् । यो तीर्थस्थललाई परम्परागत रुपमा मात्र राख्ने कि उनको महिमालाई विश्वभर फैलाउने ? स्थानीयले तत्परता नदेखाएको भए ताप्लेजुङकी पाथिभरा माता पनि हाम्री मालिका माईजस्तै गुमनाम रहने थिइन् । स्वर्गद्धारी बाबाको दर्शन गर्न पुग्ने बाटो सजिलो छैन, तर मानिस पुगिरेहका छन् । खप्तड बाबा र बडीमालिका माईको दर्शन नेपालकै कठिन तीर्थ यात्रामध्ये पर्छ, तर त्यहाँ वर्षेनी हजारौं भक्तजन दर्शनमा पुग्ने गर्छन् । तर, म मालिका माई सम्झन्छु, मर्भुङ मैदानबाट मालिका माईको मन्दिरसम्म जाने बाटो सम्झन्छु, सायद हामीले उनको महिमालाई चिन्नै सकेका छैनौं । उनको शक्तिलाई आत्मसाथ गर्ने सकेका छैनौं । के मालिका माईलाई जिल्लाकै लोकप्रिय तीर्थस्थल बनाउन सम्भव छैन र ? त्यसको फाइदा त मालिकाकै बासिन्दाले लिने हो नी ।


गत वर्ष प्रत्यक्ष अनुभव गर्न नपाएपनि डुमटारीमा रहेको मेरो घर माथि प्याराग्लाइडिङमा उड्दै आएका यात्रुले आमालाई ‘के छ आमा’ भनेर बोलाएको क्षणले मेरो मन फुरुङ्ग भयो । एक पर्यटनप्रेमी भएको नाताले मेरो गाउँमा यस्तो गतिविधिले प्रवेश पाउनु निकै खुसीको क्षण थियो । मैले आमासँग यो खुसी साटेको थिए । गाउँमा सम्भावना रहेछ नी, अर्खाबाङबाट नियमित प्याराग्लाइडिङ उडाउने हो भने त्यसले स्थानीय स्तरमा ठूलो आर्थिक सम्भावना बोकेर आउँछ । मेरो सपनामा मालिका गाउँपालिकाको आकास भरी यस्तै रंगिबिरगी प्याराग्लाइड देख्ने गर्छु, जुन हाम्रो गाउँको समृद्धिको मापक बन्न सक्छ ।




मेरो सपनामा एक महत्वकांक्षी योजना मडारिन्छ, जो म आफु पुरा गर्न सक्दिन, तर सम्भावना छ । त्यो हो केवलकार । किसानटारी वा सिमलटारीमा तल्लो स्टेशन पारेर मालिका वा देउरालीको कुनै एक थुम्कामा केवरकार लैजान सकियो भने ? केवलकारबाटै सम्भवतः हामीले पुरै गुल्मी अवलोकन गर्न सक्नेछौं । यसले मालिका दर्शनलाई यति उचाईमा लैजाने थियो की, हाम्रो पहिचान स्थापित गराउन अर्को उत्पादन खोजिरहनु पर्ने आवश्कयता हुने थिएन । यो महत्वकांक्षी योजनालाई सफल बनाउन गाउँपालिकाले निजी क्षेत्रलाई सहजिकरण गर्न सक्छ । जग्गा उपलब्ध गराएर निजी लगानी प्रोत्साहित गर्न सक्छ । मेरो सपनाले भन्छ, ‘मालिकामा केवलकार चल्छ, चल्छ ।’


छल्दी र पनाहा फाँट गुल्मी जिल्लाकै सम्पत्ति हो । यो उर्बर भूमिलाई हामीले उत्पादनशिल क्षेत्रमा उपयोग नै गर्न सकेका छैनौं । परम्परागत खेती प्रणालीबाट माथि उठेर नगदे बालीलाई प्रोत्साहन गर्न सक्ने हो भने होमस्टे र अग्र्यानिक खानेकुराबाट मालिका र यस आसपासका गाउँपालिकाले पर्याप्त आम्दानी गर्न सक्छ । मेरो सपनाले भन्छ, मालिकामा ‘प्याकेज’ किनेर पर्यटक आउनेछन् । होमस्टे र घरगाउँमै हुर्किएको खसी–बोका, कुखुराको परिकारमा पाहुना रमाउने छन् । केवलकार चढेर देउराली वा अर्खबाङ पुगेका पर्यटक प्याराग्लाइडिङबाट सिमलटारी झर्नेछन् । बर्षामा रोपाईसँगै रमाउने छन् । हिउँदमा धान भित्राउने चटारोमा किसानसँगै पाहुना रमाउने छन् ।



बडिघाढ, निस्ती, पनाहा, छल्दीजस्ता नदी गुल्मी जिल्लाका लागि जीवन हुन् । मेरो सपनाले भन्छ, सिमलटारी बजारजस्ता ठूलो बस्तीबाट ढल सिधै खोलामा मिसाइने छैन । खोलामा घन हान्दा अहिले पनि माछा भेटिने छन् । पाहुनाले भरेका लागि माछाको छाक आफै टिप्न सक्ने छन् । त्यसको बदला समुदायले बरु निश्चित शूल्क लगाउन सक्ने छ । त्यो शूल्कले नदी र खोला संरक्षण हुनेछ । म भन्छु, छल्दीखोला पुस्तौंपुस्तासम्म पनि कलकल बगिरहने छ । सम्भव भयो भने शाहसिक खेल कायाकिङ र ¥याफ्टिङमा युवा झुम्नेछन् । पौडी पोखरी किन चाहियो, प्रकृतिले दिएकै खोलामा आजभन्दा१०÷१५ वर्ष अगाडी जस्तै डुबुल्कि मार्न सक्ने छन् । मेरो सपनाले भन्छ, नदी संरक्षण नै पर्यटन विकासको ठूलो आधार हो ।


म सपना देख्छु, मालिकामा एक संग्रहालय निर्माण भएको होस । जसको भ्रमण गर्दा यो भेगको इतिहास पढ्न पाइयो । पूर्खाको गाथा पढ्न पाइयोस । नजिक नजिक खुलेका दूर्गा भवानीका मन्दिरहरुको महिला पढ्न पाइयोस । अर्जेल समुदायको चर्चित कुल पूजाको महिमा संग्रहालयमा देख्न पाइयोस । ऐतिहाँसिक बाजा, घण्टा र त्रिशुलहरुको संरक्षण होस । दुर्गा मन्दिरको गेट दशैंमा मात्र किन, सधैभरी खुला गरि धार्मिक र ऐतिहासिक महत्वबारे अन्य दिनमा पनि अवलोकन गर्न पाइयोस न ।    

मालिका थान जाने बाटो 


हो, म सपना देख्न सक्छु, सम्भावना उजागर गर्न सक्छु, तर काममा म अपेक्षा गर्छु, स्थानीय सरकार, जनप्रतिनिधी र व्यवसायीबाट । संस्कृति आज बचाउन सकेनौं भने इतिहासले हामीलाई धिक्कार्ने छ । भोली नातिले सोध्ने छ, बा सरायँ नाच कस्तो हुन्छ ? देउसी भैलो कस्तो हुन्छ ? दशैंका आर्शिवाद कस्ता हुन्छन् ?, भजन भनेको के हो ? पन्चेबाजा कुन बेला बजाइन्छ ? त्यो बेला मसँग उत्तर रहने छैन । भोली छोराले सोध्न सक्छ, ‘बा ढावको जोगिकुटीमा लटरम्म आँप फल्थे रे, अहिले किन कंक्रिट भएको ?’ त्यो बेला मसँग उत्तर हुने छैन । नदी दोहन र त्यसमा बढ्दो फोहोरले जलक्रिडामा बाच्ने जलचर बाँच्न नसक्दा मानव अस्तित्व पनि धरापमा पर्ने गरेको उदाहरणले पनि अब हामीलाई झस्काउनु पर्छ । हो मालिका जिवन्त छ, कालान्तरसम्म जिवन्त नै रहनु पर्छ ।


यो आलेख, मालिका दर्पणमा प्रकाशित भएको हो, मालिका गुल्मी जिल्लाको एक गाउँपालिका हो । जसको वडा नं ८ मा पर्छ मालिका मन्दिर...

Comments