अच्युत पुरी
बिजनेश रिपोर्टर, नयाँ पत्रिका
नेपाल प्राकृतिक सुन्दता र भौगोलिक विविधताले सजिएको भूपरिवेष्ठित मुलुक हो । सोहीकारण यहाँ जलयातायातको संभावना ज्यादै कम छ । विशिष्ट प्रकारको भौगोलिक बनावटका कारण सडक यातायातका पूर्वाधार निर्माण गर्न सहज छैन भने निर्माण गरिएको सडक पूर्वाधार अपेक्षाकृत सुरक्षित हुन पनि सकेका छैनन् । यस अवस्थामा सुरक्षित र सहज यातायातको खोजी हुनु स्वाभाविक हो । यसको विकल्प हवाई यातायात बनेको छ । नेपालमा २००६ सालबाट संस्थागत हवाई सेवा प्रारम्भ भएको इतिहास छ । विश्वमा एक शताब्दी नाघिसकेको हवाई सेवाको इतिहास नेपालमा पनि ६७ वर्ष पुगिसकेको छ । त्यसबेला शाही नेपाल वायुसेवा निगमका रूपमा शुरु भएको व्यवसायिक हवाई यात्राको दौडमा आज करीब डेढ दर्जनभन्दा बढी वायुसेवा कम्पनी समावेश भइसकेका छन् ।
अनुत्तरित प्रश्न
नेपालमा आर्थिक विकासलाई गति दिने हो भने पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुको विकल्प छैन । यो तथ्य नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वलाई राम्रोसँग थाहा छ । पर्यटन विकास गर्न हवाई यातायात फस्टाउनु
पर्छ । तर, सेवा प्रारम्भ भएको ६७ वर्ष नाघिसक्दा पनि हामीसँग हवाई पूर्वाधारको दयनीय अवस्था किन ? यति ठूलो संभावना र बजार हुँदाहुँदै पनि वायुसेवा कम्पनी किन धराशयी हुन्छन् ? प्रत्येक वर्ष पर्यटक आगमन र नेपालीको औसत आम्दानी बढेको अवस्थामा हवाई यात्रु किन बढ्दैनन् ? हवाई दुर्घटनाका श्रृंखला किन रोकिएनन ? यी र यस्ता धेरै प्रश्न छन्, जसको उत्तर राजनीतिक नेतृत्वमात्र होइन, हवाई उद्योग संचालनको जिम्मेवारी पाएका सरोकारवाला निकाय र विज्ञले पनि दिन सकिरहेका छैनन् ।
पर्याप्त छन् यात्रु ?
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार अन्तरराष्ट्रिय उडानतर्फ विगत एक दशकयता यात्रु र उडान संख्या संतोषजनक अवस्थामा छ । बेरोजगारी समस्याका कारण हरेक दिन १ हजारदेखि १५ सयको हाराहारीमा
बाहिरिने नेपाली दाजुभाईको संख्याले अन्तरर्राष्ट्रिय उडानका यात्रु र उडान संख्या धानेको छ । नेपाली हवाई सेवाका लागि यो संख्या अल्पकालीन हो । हवाई सेवाको दीर्घकालीन विकासका लागि पर्यटक आगमन बढाउनुको विकल्प छैन । नेपालले सन् १९९८ मा मनाएको नेपाल भ्रमण वर्षकै साल चार लाख ६३ हजार ६ सय ८४ जना पर्यटक नेपाल आएका थिए । त्यसको ठीक १७ वर्षपछि सन् २०१५ मा नेपाल आएका पर्यटकको संख्या पाँच लाख ३८ हजार नौ सय ७० रहेको छ । नेपाली पर्यटन र हवाई सेवाका लागि यो भन्दा लाजमर्दाे अरु के हुन सक्छ ? नेपालमा अन्तर्राष्ट्रियतर्फ औसतः २६ लाख र आन्तरिकतर्फ १२ लाख हाराहारी यात्रु उड्ने विमानस्थलको तथ्यांक छ । तर, यो संख्यामा हुने वृद्धिदर ज्यादै न्यून छ । अझ कतिपय वर्ष त अघिल्लो वर्षको तुलनामा यात्रु संख्या घटेका उदाहरण पनि छन् । यस्ता तथ्यले नेपालको हवाई उद्योग अधोगतिको बाटोमा भएको प्रमाणित गर्छन् ।
![]() |
| नेपाल वायुसेवा निगमको ए ३२०-२०० जहाज |
लगानी विमानस्थलमा÷प्रयोग गौचरणमा
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा रहेका कूल ५७ विमानस्थलमध्ये दुई दर्जन विमानस्थल मात्र सबै मौसममा उडान गर्न योग्य छन् । ६ वटा विमानस्थल निर्माणाधिन अवस्थामा छन् । त्यसबाहेक अन्य आधाभन्दा धेरै विमानस्थल गौचरणमा परिणत भएका छन् । यी विमानस्थलमा नेपाल सरकारको ठूलो लगानी रहेको छ । एकातर्फ कतिपय गन्तव्यमा पुग्न नागरिक यातायात सेवाको आधारभूत सुविधाबाट बन्चित भइरहेका छन् भने अर्कातर्फ कतिपय स्थानमा यात्रु या जहाज अभावको कारण देखाउँदै निर्माण भइसकेका विमानस्थल बन्द हुने अवस्थामा पु¥याइएको छ । नेपालको विकासमा दीर्घकालिन सोचको अभाव कति रहेछ भन्ने यसले प्रष्ट पार्छ । राजनीतिक नेतृत्वले आफ्नो निर्वाचन क्षेत्रमा सुविधा पु¥याउन वा थप्न हचुवाका भरमा विमानस्थल आयोजना अगाडि बढाउँदा सरकारको ठूलो स्रोत अनुत्पादक क्षेत्रमा गएको तर्फ अब भने सचेत हुने बेला आएको छ । अहिले कतिपय दूर्गम स्थानसम्म सडक यातायात पुगेपछि हवाई यातायातको बाध्यता हटेको पक्कै हो । मुलुकका शान्ति सुरक्षा कायम भएको अवस्थामा पनि स्वाभाविक रूपमा सडक यातायातका प्रयोगकर्ता बढ्ने गर्छन् । तर, पछिल्लो समय आन्तरिक गन्तव्यमा घुमघामका निस्कने, व्यापार व्यवसाय गर्ने र समग्रमा नेपालीको आम्दानीमा वृद्धि भएको तुलनामा हवाई उद्योगले जुन अनुपातमा प्रगति गर्नु पर्ने थियो, त्यो भने हुन सकेको छैन ।
एनएसी धराशयी÷निजी सुगममुखी
नेपालमा वायुसेवाले अपेक्षित विकास गर्न नसक्नुमा नियामक निकाय र सरकारको जति धेरै हात छ, त्यति नै भूमिका वायुसेवा प्रदायक कम्पनीहरुको पनि छ । कुनै बेला आन्तरिक र वाह्य उडानमा बजार कब्जा गरेर राखेक नेपाल वायुसेवा निगम (एनएसी) अहिले आन्तरिकतर्फ धरासायी हुने अवस्थामा पुगेको छ । करीबकरीब जहाजबिहिन अवस्थामा पुगेको निगम अहिले विगतमा डुबेको छवि उकास्ने प्रयासमा छ । निगमको यो हालतपछि निजी क्षेत्रले नेपालको आन्तरिक उडानलाई केही हदसम्म भएपनि थामेको थियो । तर, बिडम्बना हिजो नेपाल वायुसेवा निगमले उडान गर्ने हिमाली र पहाडी भेगमा आज नियमित जहाज उड्न छाडेको छ । धनाढ्यले चार्टर गर्दा सहजै उडान अवतरण गर्न मिल्ने विमानस्थलमा सर्वसाधारणको लागि हुनुपर्ने नियमित उडान गर्न भने पूवार्धार नपुगेको तर्क गरिन्छ । वायुसेवा कम्पनी सुगम स्थानका विमानस्थलमा उडानका लागि तछाडमछाड गरिरहेका छन् । यति हुँदाहुँदै पनि यात्रुले प्रतिस्पर्धी मूल्य नपाउने अवस्थाले गर्दा अन्ततः नेपालको हवाई उद्योग अझै पनि प्रगतिउन्मुख देखिएको छैन ।
कहाँ चुक्यो नेपाल ?
जब नेपालले १९९८ लाई भ्रमण वर्षका रुपमा मनाउँदा मनग्य पर्यटक आकर्षित ग¥यो, त्यसबेला देखि नै हवाई सेवाका लागि बलियो पूर्वाधार निर्माणमा लाग्नु पर्ने थियो । आजभन्दा करीब चार दशकअघि निर्माण भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले वर्तमानको अत्यन्त ठूलो यात्रु चाप थाम्नु कम्ति चूनौतिपूर्ण छैन । एउटा मात्र धावनमार्गमा थोरै समस्या आउँदा पनि नेपालको अन्तरराष्ट्रिय हवाई सम्बन्ध पूर्णतया विच्छेद हुने अवस्था छ । आजभन्दा १०÷१५ वर्ष अगाडि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी हुनुपथ्र्याे । तर, त्यसो हुन सकेन । विकास निर्माण गर्दा साँघुरो सोचबाट बाहिर आउनु जरुरी छ । समयमा काम नगर्ने कम्पनीलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटी बसाल्नु जरुरी छ । नत्र भने पूर्वाधारको दयनीय अवस्था ज्यूँका त्यूँ रहने छ । वर्तमान पुस्ताले बारामा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल देख्न पाएन भने पनि अचम्म नमाने हुन्छ ।
कमजोर सुरक्षा सूचकांक हवाई उद्योगको इतिहासमै नेपाल अहिले सबैभन्दा संवेदनशील अवस्थामा छ भन्दा फरक पर्दैन । अन्तर्राष्ट्रिय नियामक निकायहरूले नेपालको समग्र हवाई उद्योगको परिचालनमा प्रश्न उठाइरहेको अवस्था छ । हवाई उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार देखिनु पर्ने सकारात्मक सूचकांक प्राप्त हुन सकेका छैनन् । यस्तो अवस्थामा पनि हवाई उद्योग प्रगतिउन्मुख छ भन्न सकिन्न । उद्योगका रूपमा हेर्दा विगतको तुलनामा पक्कै परिवर्तन आएको छ । संख्यात्मक र सेवाको गुणस्तरमा पनि कम्पनीहरूले राम्रो गरिरहेका छन् । तर, आन्तरिकतर्फ भने यात्रु संख्या घट्ने क्रम जारी छ । यो लगानीकर्ता र समग्र हवाई उद्योगका लागि सकारात्मक संकेत होइन ।
नेपालमा भौगोलिक वनावटको दृष्टिकोणका आधारमा समुन्द्री सतहबाट केवल ७२ मिटर उचाईको विराटनगरदेखि ३ हजार ७ सय ८० मिटर उचाईमा अवस्थित स्याङबोचे विमानस्थलसम्म रहेका छन् । यस्तो फरकफरक धरातलमा जहाज चलाउनु वास्तवमै चूनौतिपूर्ण छ । सोहीकारण नेपालका विमान चालक संसारकै साहसिक मानिन्छन् । छिनछिनमा परिवर्तन हुने मौसमको चूनौति चिर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन विमान चालकलाई पक्कै पनि त्यति सजिलो छैन । यस अवस्थामा नेपालले दक्ष जनशक्ति उत्पादन र उनीहरूलाई नेपालमै टिकाउने अवस्था सिर्जना गर्नेतर्फ पनि काम गर्नुपर्ने आवश्यकता छ ।
कमजोर नियमन÷प्रविधि
नेपालमा नीतिनिर्माण तहमा बस्ने जनशक्ति व्यवहारिक रूपमै दक्ष हुनुपर्ने आवश्यकता ठानिंदैन । विकसित मुलुकमा अनुभवी र सेवानिवृत्त चालक, ईन्जिनियरलाई मन्त्रालय तथा उड्डयन विभागमा विशेष जिम्मेवारी दिने अभ्यास छ । हामीकहाँ भने आफ्नो करियर अवधिभर सिकेको अनुभव र तालिम सेवानिवृत्त भएसँगै बेकामे सावित हुने गर्छ । अनुभवी विज्ञसँगको संलग्नतामा हुने अभ्यासले नीतिगत तहबाटै यस क्षेत्रमा हुने कमीकमजोरी हटाउन सहयोग पुग्छ । नेपालसँग विश्वस्तरीय नीतिनियम छन् । तर, त्यसको सही कार्यान्वयन नहुने हो भने नीतिनियम बनाउनुको औचित्य के ?
चाँदीको घेरा
यदि, कुनै अवरोध नआउने हो भने सन् २०२० भित्र मुलुकमा थप दुई (भैरहवा र पोखरा) अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसक्ने छन् । आन्तरिकतर्फ थुप्रै विमानस्थलको स्तरोन्नतीको काम जारी छ भने ति विमानस्थलमा पूवार्धार थप गर्ने योजना रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । निजी वायुसेवा कम्पनी धमाधम नयाँ जहाज थप गर्ने क्रममा छन् भने नेपाल वायुसेवा निगम (नेवानि) अहिले शुद्धिकरण अभियानमा छ । नेवानिका लागि अन्तर्राष्ट्रिय उडानको प्रयोजनका लागि दुई जहाजका लागि खरीद प्रक्रिया जारी छ । आन्तरिकतर्फ पनि अतिरिक्त जहाज थप गर्ने क्रममा निगम रहेको छ । यी सबै काम समयमा पूरा हुने हो भने नेपालको हवाई उद्योग
छिट्टै प्रगति उन्मुख हुनेछ । कुनै पनि क्षेत्रमा आजको भोली नै सुधार आउन सक्दैन । जनता पनि त्यो अपेक्षा गर्दैनन् । तर, भोलीको काम आजै सुरुवात गर्नुपर्छ । यो एउटा प्रक्रिया हो । यस्तो प्रक्रियाले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिन्छ । त्यसबेला यो उद्योग स्वतः प्रगतिउन्मुख देखिने अपेक्षा गर्न सकिन्छ ।
यो लेख नेपाल नागरिक उड्डयन प्राधिकरणको १८ औं वार्षिेकोत्सवका अवसरमा प्रकाशित विशेषंकबाट साभार गरिएको हो


Comments
Post a Comment