सबै कर्मचारीलाई भ्रमण बिदा अनिवार्य

सबै कर्मचारीलाई भ्रमण बिदा अनिवार्य

अच्युत पुरी/नयाँ पत्रिका 
काठमाडौं, ९ मंसिर
आगामी आर्थिक वर्ष ०७३-७४ देखि सरकारी, संस्थान तथा संगठित निजी संघसंस्था र व्यावसायिक घरानाले आफ्ना कर्मचारीलाई भ्रमण बिदा दिनुपर्ने भएको छ । बिदा पर्यटनको नयाँ प्रावधान समेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक पर्यटन प्रवद्र्धन कार्यविधि २०७३’ लाई अर्थ मन्त्रालयले सहमति दिएको छ ।
कार्यविधि स्वीकृति गर्न मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । पर्यटनले चालू आव ०७३-७४ मा सरकारले मनाइरहेको ‘घुमफिर वर्ष २०७३’ लाई सहयोग पुर्‍याउने गरी कार्यविधि बनाएर सहमतिका लागि अर्थमा पठाएको थियो ।
तर, लामो समय अर्थ मन्त्रालयमा रोकिएकाले कार्यविधिले घुमफिर वर्षका लागि भने कुनै योगदान गर्ने छैन। घुमफिर वर्ष ०७३ अहिले नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका संघसंस्थाको सक्रियतामा कार्यान्वयन भइरहेको छ ।
एक साता घुमफिर बिदा
कार्यविधिअनुसार सम्पूर्ण सरकारी कार्यालय तथा संगठित निजी कम्पनीले कर्मचारीलाई हरेक वर्ष ७ दिनको समय दिएर बिदा स्वीकृत गर्नुपर्नेछ । बिदामा कर्मचारीलाई निश्चित क्षेत्र तोकेर घुमघाममा पठाउनुपर्नेछ । घुमघाममा जाँदा खर्चको जोहो सम्बधित कार्यालयले गर्ने गरी कार्यविधि बनाइएको प्रवक्ता उपाध्यायले बताए ।
‘आगामी वर्षको बजेटमै मन्त्रालय, विभाग तथा संस्थानले बिदा पर्यटनका लागि निश्चित रकम छुट्याएर बिदा पर्यटनलाई कार्यान्वयन गर्ने गरी अर्थको सहमति प्राप्त भएको छ,’ उपाध्यायले भने ।
सरकारीमा अनिवार्य, निजीलाई प्रोत्साहन
पर्यटन मन्त्रालयले आफू मातहतका निकायमा अहिले पनि बिदा पर्यटनको अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको छ । आगामी वर्षदेखि अन्य सबै मन्त्रालय, संस्थान र कार्यालयमा यसलाई विस्तार गरिनेछ ।
निजी कम्पनीमा तत्काल अनिवार्य गर्न नसके पनि त्यसका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइने प्र्रवक्ता उपाध्यायको भनाइ छ । आन्तरिक गन्तव्य प्रवद्र्धन गर्ने र कर्मचारीलाई कामको चापबाट केही समय भए पनि फुर्सद दिलाउन बिदा पर्यटन अनिवार्य देखिएको
उनले बताए ।
मन्त्रालयले सरकारी तथा निजी कम्पनीका कर्मचारीलाई विभिन्न गन्तव्यमा पठाउनुअघि निजी क्षेत्रबाट प्याकेज आह्वान गर्नेछ । उनीहरूले प्रदान गर्ने प्याकेज र गन्तव्यमा कर्मचारीलाई घुमफिरका लागि खटाउने कार्यविधिको उद्देश्य छ ।
५ लाख आन्तरिक पर्यटक बढ्छन्
बिदा पर्यटन लागू भएपछि वार्षिक ५ लाख आन्तरिक पर्यटक बढ्ने मन्त्रालयको अपेक्षा छ । पछिल्लो समय आन्तरिक गन्तव्यमा विनाप्याकेज घुमफिरमा जाने नेपालीको संख्या वृद्धि भइरहेको छ । सोहीकारण उनीहरूको तथ्यांक अहिलेसम्म कुनै निकायसँग छैन ।
बिदा पर्यटन लागू भएपछि वार्षिक कम्तीमा ५ लाख आन्तरिक पर्यटक वृद्धि हुने प्रवक्ता उपाध्यायले बताए ।
अहिले सीमित गन्तव्यमा खुम्चिएको पर्यटनलाई देशव्यापी फैलाउन र नयाँ–नयाँ गन्तव्य विस्तार गर्न पनि बिदा पर्यटनले योगदान गर्ने उनको भनाइ छ ।
सरकारले सन् २०१८ लाख नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ । घुमफिर वर्ष र आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई भ्रमण वर्ष सफल बनाउन गरिएको पूर्वअभ्यासका रूपमा व्याख्या गरिएको छ ।
पर्यटन नीतिको परिकल्पना
पर्यटन नीति–२०६५ ले आन्तरिक पर्यटक आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजको विकास गरी कर्मचारीलाई यात्रा उत्प्रेरणा बिदा, शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणका लागि प्रोत्साहन अवधारणा ल्याएको थियो । त्यसपछि पर्यटन मन्त्रालयले बिदा पर्यटन कार्यक्रम सुरु गरेको हो ।
सबै क्षेत्रमा काम गर्ने जनशक्तिलाई आन्तरिक पर्यटनतर्फ आकर्षित गर्न निश्चित सहुलियतयुक्त बिदासहित स्थानीय भ्रमण प्रोत्साहन कार्यक्रम लागू गर्ने नीतिमा उल्लेख छ ।
- See more at: http://www.enayapatrika.com/2016/11/107286#sthash.smbdAKUW.dpuf

Comments