पर्यटक बढी आउने पाँच मुलुकमा अब पर्यटन सहचारी खटाइने


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, १७ चैत | चैत १७, २०७४
पर्यटनमन्त्रीको सयदिने कार्यक्रम सार्वजनिक-
नेपालमा बढी पर्यटक भित्रिने पाँच प्रमुख मुलुकमा पर्यटन सहचारी खटाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार सार्वजनिक गरेको १ सयदिने कार्यक्रममार्फत उक्त घोषणा गरेका हुन् । मन्त्री अधिकारीका अनुसार यस अवधिमा स्रोत मुलुकमा पर्यटन सहचारी खटाउनेसम्बन्धी अवधारणापत्र तयार भइसक्नेछ । पर्यटन मन्त्रालयले पहिलोपटक स्रोत मुलुकमा पर्यटन सहचारी खटाउने अवधारणा ल्याएको हो ।

नेपालको राष्ट्रिय रणनीतिक पर्यटन योजना (सन् २०१६–२०२५)ले निर्दिष्ट गरेबमोजिम अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन श्रम सहचारी नियुक्त गर्न लागिएको मन्त्री अधिकारीले जानकारी दिए । यस अवधिमा नेपालको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सम्बन्धमा थाइल्यान्ड सरकारसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने र श्रीलंका सरकारसँग समझदारीको प्रक्रिया अगाडि बढाउने घोषणा उनले गरे ।
कार्य सञ्चालन मापदण्ड बन्ने
मन्त्री अधिकारीका अनुसार अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणमातहतका निकायले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्य सञ्चालनको मापदण्ड बनाइने भएको छ । आगामी १ सय दिनमा यस्तो मापदण्ड बनाएर लागू गर्ने मन्त्री अधिकारीको योजना छ । यसबाट कार्य सञ्चालन प्रक्रिया स्पष्ट हुने र सेवाग्राहीलाई सहज हुने मन्त्री अधिकारीले बताए । खासगरी पर्यटन विभाग, पुरातत्व विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्डजस्ता निकायमा यो लागू हुनेछ ।
त्रिभुवन विमानस्थल  दैनिक २१ घन्टा सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक चापको समस्या न्यूनीकरण गर्न तीन महिनाभित्र दैनिक २१ घन्टा सञ्चालनमा ल्याउने घोषणा मन्त्रीले गरेका छन् । यस अवधिमा आवश्यक व्यवस्था मिलाइने उनको भनाइ छ । ‘ट्राफिक फ्लो म्यानेजमेन्ट’ तथा ‘स्लट म्यानेजमेन्ट’लाई पनि वैज्ञानिक बनाइने मन्त्रालयको कार्ययोजनामा समेटिएको छ । यस विमानस्थलबाट आन्तरिक उडानलाई बाहिर स्थानान्तरण गर्ने सन्दर्भमा सम्भाव्य स्थानको खोजी गर्ने योजना मन्त्रालयको छ । त्यस्तै अन्तर्राष्ट्रिय यात्रुका ब्यागेज एक घन्टाभित्र प्राप्त भइसक्ने तथा अन्तर्राष्ट्रिय टर्मिनलमा सुविधा थप गरिने भएको छ।
सयदिने कार्ययोजनाका  केही महत्वपूर्ण पाटा
-दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तय, कोरियाली कम्पनी एलएमडब्लूले बुझाएको विस्तृत सम्भाव्यता अध्ययनको दायित्व व्यवस्थापन गर्ने ।
– गौतम बुद्ध विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायत सिभिल निर्माण कार्यको भौतिक प्रगति ४० प्रतिशत सकाउने ।
-बागमती जात्रा पुन सञ्चालनमा ल्याउने, पशुपतिनाथको धार्मिक तथा महत्व झल्कने वृत्तचित्र तयार
– लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी मनाउने, यसक्रममा २५ देशका बौद्ध धर्मसँग सम्बन्धित विद्वान्ले कार्यपत्र प्रस्तुत गर्ने ।
-रानीपोखरीको निर्माण कार्य सुरु गर्ने, ललितपुरको कृष्ण मन्दिर र मणिमण्डप संरक्षण कार्य सम्पन्न, हनुमानढोका दरबार संग्रहालयमा अस्थायी संरचना बनाएर सर्वसाधारणका लागि खुला, अन्य पुनर्निर्माणको काममा तीव्रता दिने ।
– संस्कृति, पर्यटन र हवाई क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्तिको सल्लाह, सुझाबका लागि छुट्टाछुट्टै थिंक ट्यांक ग्रुप बनाउने ।
-पर्यटन विश्वविद्यालय स्थापनाको दीर्घकालीन सोचसहित कानुनको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने ।
-अध्यागमन विभागसँगको सहकार्यमा पर्यटकीय तथ्यांक सेयरिङ सञ्जालको विकास गर्ने, स्थलमार्गबाट आउने पर्यटकको संख्या यकिन गर्न सर्भे गर्ने, पर्यटनले अर्थतन्त्रमा पुर्‍याएको योगदान यकिन गर्न टुरिजम स्याटालाइट अकाउन्ट प्रणाली विकास गर्ने होटेल, रिसोर्ट, रेस्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धको विद्यमान अवस्था विश्लेषणसहित पुनरावलोकन गरी नयाँ मापदण्ड तर्जुमा सुरुवात गर्ने
– अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको विश्वव्यापी एभिएसन सेफ्टी प्लानमा आधारित भई नेपाल एभिएसन सेफ्टी प्लान तर्जुमा गर्ने, सन् २०१० देखि २०१७ सम्म भएका हवाई दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण गरी प्रभावकारी रूपमा कार्यान्वयन सुरु गर्ने ।
– नेपाल वायुसेवा निगमको सहकार्यमा वाइडबडी जहाजको उपयोगिता योजना तयार पार्ने ।
-वायुसेवा निगमलाई ६ वटा ट्विनअटर विमान खरिद गर्न सैद्धान्तिक निर्णय दिने ।
http://www.enayapatrika.com/2018/03/31/35950/

Comments