तल्ला सरकारको सञ्चित कोष व्यवस्थापन गर्न ‘सुत्र प्रणाली’


अच्युत पुरी काठमाडौं, १० फागुन |
स्थानीय र प्रदेश सरकारले एउटै प्रणालीमा बजेट निर्माण, लेखा तथा प्रतिवेदन निर्माण गर्ने
सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले स्थानीय तथा प्रदेश सरकारहरूको सञ्चित कोष व्यवस्थापन गर्न ‘सब–नेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन (सुत्र) कार्यान्वयनमा ल्याएको छ ।
प्रदेश तथा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट दुईवटै सरकारको सञ्चित कोष सञ्चालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता कायम हुने पेफा सचिवालयका सदस्यसचिव मुरारी निरौलाले बताए ।
उनका अनुसार अहिलेसम्म करिब १ सय स्थानीय तहले सुत्र प्रणालीबाटै बजेट निर्माण तथा लेखा राख्न सुरु गरिसकेका छन् । आगामी आव ०७५/७६ बाट सबै स्थानीय तहमा यो प्रणाली कार्यान्वयनमा लैजाने योजना छ ।
प्रदेश सरकारलाई पत्राचार 
पेफा सचिवालयले मंगलबार सातवटै प्रदेश सरकारलाई पत्राचार गरी सुत्र प्रणाली कार्यान्वयनमा लैजान इच्छुक भए उक्त प्रणालीमा पहँच उपलब्ध गराउने जानकारी गराएको छ ।
अनलाइन प्रविधिमा आधारित यो प्रणाली सञ्चालनका लागि इन्टरनेटको सुविधा अनिवार्य हुन्छ । इन्टरनेट सुविधा उपलब्ध रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई पेफाले ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराउँछ ।
यसरी पहँच स्थापित भएपछि सरकारहरूले एउटै प्रणालीमा आधारित भई बजेट निर्माण, लेखा तथा प्रतिवेदन निर्माण गर्न सक्छन् ।
सुत्र प्रणालीको फाइदा के हो ? 
केन्द्र सरकारसँग चालू आर्थिक वर्ष ०७४/७५ मा समानीकरण र ससर्त अनुदानका रूपमा स्थानीय तहमा पठाएको रकम कति खर्च भयो र कति रकम सरकारी खातामा छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन ।
तर, सुत्र प्रणालीबाट सञ्चित कोषको व्यवस्थापन हुन थालेपछि यसको यकिन हिसाब केन्द्रबाटै हेर्न सकिने सदस्यसचिव निरौलाले जानकारी दिए ।
सञ्चालनमा सहजीकरण गर्न तालिम 
सचिवालयले सुत्र प्रणाली सञ्चालन गर्न सहयोग पु-याउने उद्देश्यले हरेक जिल्लाका दुईजनालाई तालिम दिइसकेको छ । कोलेनिकाबाट १ जना र जिल्ला समन्वय समिति वा स्थानीय निकायमध्येबाट कोलेनिकाबाट सिफारिस भएका १ जनालाई तालिम दिइएको हो ।
ती दुईजना तालिमप्राप्त व्यक्तिले जिल्लास्थित स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत र लेखाप्रमुखलाई सुत्र प्रणाली सञ्चालन तथा कार्यान्वयनबारे तालिम दिने योजना रहेको निरौलाले जानकारी दिए । उनका अनुसार यस्तो तालिम फागुन र चैतसम्म सक्ने योजना छ ।
अफलाइन संस्करणको तयारी 
पेफाले सुत्र प्रणालीलाई अफलाइन संस्करणमा समेत कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ । इन्टरनेट सेवा उपलब्ध नभएको या भरपर्दो नभएको स्थानमा सञ्चालन गर्न सहयोग पु-याउने उद्देश्यले अफलाइन संस्करणको विकास भइरहेको सचिवालयको भनाइ छ ।
सुत्र प्रणालीबाट बजेट तथा कार्यक्रम बनाउँदा प्राप्त हुने विवरण
राजस्व तथा खर्च अनुमानको अभिलेख र विश्लेषण
गाउँपालिका वा नगरपालिकाको विनियोजन ऐन
कार्यक्रम र बजेटको विस्तृत विवरण (रेडबुक)
स्थानीय सभामा पेस हुने बजेटसम्बन्धी अनुसूची
कार्यक्रमको चौमासिक विभाजनसहितको विवरण
कार्यक्रमको क्षेत्र, उपक्षेत्र, खर्च शीर्षकगत विवरण
बजेट तथा कार्यक्रमसँग सम्बन्धित अन्य विवरण
सुत्रमा समावेश विषय
बजेट तथा कार्यक्रम तर्जुमा
लेखांकन (सञ्चित कोष र बजेट तथा कार्यक्रम)
प्रतिवेदन
कोलेनिका
अनुगमन
(धरौटी र राजस्व थप हुने क्रममा)
यसकारण बनाइयो सुत्र
तल्ला सरकारको आर्थिक कारोबार महालेखापरीक्षकबाट स्वीकृत ढाँचा र मापदण्डअनुरूप एकरूपतामा आधारित भई लेखांकन–अभिलेखांकन गर्न
स्थानीय, प्रदेश तथा संघका विभिन्न निकायले बनाउनुपर्ने वित्तीय प्रतिवेदन समयमै गुणात्मक रूपमा उपलब्ध गराउन
स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन
आर्थिक कारोबारको मितव्ययी, कार्यदक्षता, प्रभावकारी र औचित्य पुष्टि गर्दै आर्थिक कारोबार विश्वसनीय बनाउन
वित्तीय जोखिम विश्लेषण गर्न सहज रूपमा तथ्यांक उपलब्ध गराउन
‘तल्ला सरकारमा लेखा अधिकृतको उच्च माग’ 
स्थानीय तथा प्रदेश तहमा लेखा अधिकृतको माग उच्च रहेको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयका संयोजक दामोदर रेग्मीले बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन) र पेफा सचिवालयद्वारा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक रेग्मीले अन्य सेवा–समूहको तुलनामा भने लेखा समूहका कर्मचारी धेरै स्थानीय तथा प्रदेश तहमा पुगिसकेको जानकारी दिए ।
यथाशीघ्र स्थानीय, प्रदेश र संघमा निजामती सेवा ऐन निर्माण गरी कार्यान्वयनमा लैजान सके संघीयता कार्यान्वयनको एक महत्वपूर्ण पाटो कर्मचारी समायोजन सहज हुने उनको भनाइ थियो ।
http://www.enayapatrika.com/2018/02/22/26175/

Comments