हराएका हवाईजहाज खोजी र उद्धार गर्न स्थायी संयन्त्र


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, १२ फागुन |
खोज तथा उद्धारसम्बन्धी तालिमप्राप्त दक्ष जनशक्ति २४सै घन्टा उपलब्ध हुनुपर्ने –
नेपाली आकाशमा उडिरहेका वेला हराएका वा गम्भीर संकटमा परेका वायुयानको खोज तथा उद्धार गर्न अब स्थायी संयन्त्र विकास गरिने भएको छ । ६ कात्तिक ०७४ देखि कार्यान्वयनमा आएको वायुयान खोज तथा उद्धार नियमावली, २०७४ ले नेपालमा वायुयानको खोज तथा उद्धारका लागि स्थायी संयन्त्रको व्यवस्था गरेसँगै यस्तो संयन्त्र बनाउनुपर्ने भएको हो । नियमावलीअनुसार नेपालको भौगोलिक सीमाभित्रको सम्पूर्ण हवाई क्षेत्र समेट्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार समन्वय केन्द्र रहनेछ । सो केन्द्रमा खोज तथा उद्धारसम्बन्धी तालिमप्राप्त दक्ष जनशक्ति २४सै घन्टा उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने नियमावलीले स्पष्ट पारेको छ ।
यस केन्द्रका लागि आवश्यक जनशक्ति, उपकरण र सामग्रीहरूको जोहो गर्ने जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । नेपालमा पहिलोपटक वायुयान खोज तथा उद्धार नियमावली कार्यान्वयनमा ल्याइएको हो ।
पूर्वयोजना बनाइराख्नुपर्ने
विमानस्थलमा रहने उद्धार समन्वय केन्द्रले कुनै पनि वायुयान हराइरहेको वा गम्भीर संकटमा परेको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार गर्न पूर्वयोजना बनाई राख्नुपर्ने भएको छ । यसबाट तत्काल खोजी र उद्धारमा खट्न सजिलो हुने मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसअघि नेपालमा वायुयान खोज तथा उद्धारका लागि पूर्वयोजना बनाउने प्रचलन थिएन । जहाज हराएको खबर आउनासाथ पर्यटन मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, प्रहरी, सम्भावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाबीच आकस्मिक बैठक बसी खोजीमा जुट्ने प्रचलन छ । प्राधिकरणले काठमाडौंबाहिरका विमानस्थलमा पनि आवश्यकताअनुसार उद्धार समन्वय उपकेन्द्र स्थापना गर्न सक्ने प्रावधान नियमावलीमा समेटिएको छ ।
विदेशी मुलुकसँग समन्वयको बाटो खुल्यो
नियमावली कार्यान्वयन आएसँगै अब वायुयान खोज र उद्धारमा विदेशी मुलुक र केन्द्रबीच समन्वयको बाटो खुलेको छ । खासगरी सीमा जोडिएका मुलुकको सिमानानजिक खोज र उद्धार सेवा सञ्चालन गर्नुपरे अब उद्धार समन्वय समितिको स्वीकृतिमा सम्बन्धित मुलुकको खोज तथा समन्वय केन्द्रसँग समन्वय गर्न सक्नेछ । यस कार्यमा प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिई विदेशी मुलुकसँग आवश्यकताअनुसार समन्वय गर्न सक्ने प्रावधान समेटिएको छ ।
समन्वय गर्न राष्ट्रिय सम्पर्क व्यक्ति
जहाजको खोजी तथा उद्धारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायस“ग सूचना आदान–प्रदान तथा समन्वय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सम्पर्क व्यक्ति तोक्ने प्रावधानसमेत नियमावलीमा छ ।
संयुक्त पूर्वअभ्यास गर्न सकिने
प्राधिकरणले वायुयान खोज तथा उद्धार सेवा प्रभावकारी बनाउन मन्त्रालयको स्वीकृतिमा अन्य मुलुकसँग खोज तथा उद्धारसम्बन्धी पूर्वअभ्यास तथा तालिम सञ्चालन गर्न सक्छ । यसबाट नेपालको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने सहसचिव लामिछानेले जानकारी दिए ।
खोजीमा लागेको खर्च वायुसेवाले व्यहोर्नुपर्ने
वायुयानको खोजी र उद्धारमा लागेको खर्च भने सम्बन्धित वायुसेवा कम्पनीले नै व्यहोर्नुपर्ने प्रावधान नियमावलीमा समेटिएको छ ।
जहाजमा अनिवार्य इमर्जेन्सी लोकेटर ट्रान्समिसन
अब नेपालमा उड्ने सबै जहाजमा इमर्जेन्सी लोकेटर ट्रान्समिसन हुनुपर्ने भएको छ । वायुयान खोज तथा उद्धार नियमावलीअनुसार नेपालमा दर्ता भई नेपाली आकाशमा उड्ने हरेक वायुयानमा यो उपकरण जडान गर्नुपर्नेछ । यो उपकरणले संकटकालीन अवस्थामा जहाजको अवस्थितिको संकेत प्रवाह गर्छ । यसले संकटमा परेको वा हराएको जहाज कुन स्थानमा छ भन्नेबारे जानकारी प्राप्त गर्न सजिलो हुन्छ ।
यसअघि यस्तो थियो व्यवस्था
विमानस्थलमा यसअघि पनि केन्द्र स्थापना भइसकेको छ । वायुयान हराउँदा सोही केन्द्रमार्फत समन्वय, खोज तथा उद्धारको काम हुँदै आएको थियो । यसअघि व्यवहारमा भइरहेका कामलाई नियमावली बनाएर वैधानिकता दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट हामीलाई प्रश्न उठाउनेमध्ये यो नियमावली एउटा थियो,’ उनले भने, ‘काम भइरहे पनि देखाउने प्रमाण हामीसँग थिएन, अब सहज हुन्छ ।’ विमानस्थल सञ्चालनमा रहेका वेला त्यहाँ खटिएका एयर ट्राफिक कन्ट्रोलरहरूबाट सूचना प्रवाह भई वायुयान खोज तथा उद्धारको काम अगाडि बढ्ने गर्छ । तर, विमानस्थल बन्द रहेका वेला पनि सूचना प्रवाह भइरहोस् भन्ने उद्देश्यले २४सै घन्टा जनशक्ति रहने प्रावधान समेटिएको उनको भनाइ छ ।
http://www.enayapatrika.com/2018/02/24/26848/

Comments