वातावरणीय प्रभाव मूल्यांकन नगर्ने होटेल–रिसोर्ट नवीकरण नहुने


अच्युत पुरी काठमाडौं, १४ फागुन |
नियमावलीअनुसार १० देखि ५० शय्यासम्मको होटेल सञ्चालन गर्न अनिवार्य आइइई गर्नुपर्छ – होटेल तथा रिसोर्टले अनिवार्य गर्नुपर्ने प्रारम्भिक वातावणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) कार्यान्वयनमा सरकारले कडाइ गर्ने भएको छ ।
वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ बमोजिम आइइई र इआइए नगरी सञ्चालनमा रहेका होटेल–रिसोर्टको नवीकरण रोक्का गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए ।
मन्त्रालयले हालै एक सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन तथा नियमावलीले तोकेका स्थानमा खुलेका होटेल–रिर्सोटलाई यथाशीघ्र इआइए–आइइईको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।
नयाँ दर्ता प्रक्रियामा आउने होटेलका लागि पनि ऐन र नियमावलीमा उल्लेख भएबमोजिमको प्रतिवेदन पेस नगरेसम्म दर्ता नगरिने महानिर्देशक भट्टराईले जानकारी दिए ।
कस्ता होटेल–रिसोर्टले गर्नुपर्छ प्रारम्भिक वातावरणीय परीक्षण
नियमावलीअनुसार वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा १० देखि ५० शय्यासम्मको रिसोर्ट, होटेल निर्माण र सञ्चालन गर्न अनिवार्य रूपमा प्रारम्भिक वातावरणीय परीक्षण
(आइइई) गर्नुपर्छ ।
साथै अन्य स्थानमा ५० शय्यादेखि १ सय शय्यासम्मको होटेल स्थापना तथा सञ्चालन, विद्यमान विमानस्थलको क्षेत्रफल थप्ने, माछा वा अन्य जलचर भएको कुनै नदी वा तालमा इन्जिनजडित उपकरण र इन्धन ज्वलन गरी र्याफ्टिङ सञ्चालन गर्दा र तालमा स्थापना हुने आउस बोट (तैरने घर) सञ्चालन गर्नुपर्दा पनि प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य छ ।
कस्ता होटेलले गर्नुपर्छ इआइए ?
नियमावलीबमोजिम १ सय शøयाभन्दा बढी क्षमताको होटेल निर्माण, स्थापना र सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अनिवार्य गर्नुपर्छ । पर्यटन क्षेत्रअन्तर्गत नया“ विमानस्थल निर्माण गर्दा पनि इआइए अनिवार्य छ ।
इआइए र आइइई नगरे के कारबाही हुन्छ ?
वातावरण संरक्षण ऐन २०५३ बमोजिम प्रस्ताव स्वीकृत नगराई वा स्वीकृत प्रस्तावविपरीत कुनै कार्य गरेमा त्यस्तो कार्य बन्द गराउन सक्ने अधिकार सरकारस“ग छ ।
साथै कसुर हेरेर नगद जरिमानाको समेत व्यवस्था ऐनले गरेको छ । पर्यटन मन्त्रालयको सूचनामा यी दुईवटा प्रतिवेदन तयार नपारेका सबै होटेल–रिसोर्टलाई प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।
प्रतिवेदन स्वीकृत नगराई उद्योग सञ्चालन भएको पाइए वातावरण संरक्षण नियमावलीअनुसार कारबाही थालिने स्पष्ट पारेको छ ।
अधिकांश होटेल–रिसोर्ट आइइई/इआइएविना नै सञ्चालनमा
मन्त्रालयका अनुसार नेपालभर सञ्चालनमा रहेका अधिकांश होटेल र रिसोर्टले आइइई र इआइए गरेका छैनन् ।
तर, कति होटेल वातावरणीय प्रभाव अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गरी सञ्चालनमा छन् भन्नेबारे यकिन तथ्यांक भने नभएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले बताए ।
‘ठूलो लगानीका होटेल नियमबाहिर जाने आँटै गर्दैनन्’ 
होटेल संघ नेपाल (हान)का कार्यसमिति सदस्य युवराज श्रेष्ठका अनुसार पछिल्लो समय सञ्चालन, निर्माण या दर्ता प्रक्रियामा आएका सबैजसो होटेल–रिर्सोटले वातावरणीय प्रभाव अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गरेका छन् ।
‘ठूलो लगानीसहित आएका होटेल–रिसोर्टले ऐन–नियमावलीभन्दा बाहिर गएर काम गर्ने आँटै गर्दैनन्,’ उनले भने ।
http://www.enayapatrika.com/2018/02/26/27317/

Comments