सम्भावना स्पोर्टस् टुरिजमको


नयाँ पत्रिका काठमाडौं, २१ माघ | 

‘प्लाजा ग्रुप’का प्रबन्ध निर्देशक युवराज श्रेष्ठ करिब दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न छन् । होटेल संघ नेपाल (हान)का कार्यकारी सदस्यसमेत रहेका श्रेष्ठ खेलकुदका विविध संगठनमा समेत आबद्ध छन् । खेल विधाका विविध गतिविधिमा संलग्न उनको अनुभवमा नेपालमा खेल पर्यटनको पनि प्रचुर सम्भावना छ । तर, पूर्वाधार अभाव, आन्तरिक किचलो तथा व्यवस्थापनमा भएको कमीकमजोरीका कारण क्षमताअनुसार काम हुन नसकेको उनको निष्कर्ष छ । नेपालमा स्पोर्टस् टुरिजमको सम्भावनाबारे श्रेष्ठले यसरी व्याख्या गरे :
युवराज श्रेष्ठ
प्रबन्ध निर्देशक, प्लाजा ग्रुप

साहसिक गतिविधिबाट विश्वचर्चित
नेपालले अहिलेसम्म नियमित खेलकुदजन्य क्रियाकलापका माध्यमबाट ठूलो संख्यामा पर्यटक भित्राउन सकेको छैन । तर, साहसिक खेलका विविध विधाबाट भने नेपालले आफूलाई स्थापित गरिसकेको छ । प्याराग्लाइडिङ, क्यानोइङ, बन्जीजम्प, र्‍याफ्टिङजस्ता गतिविधिका लागि नेपाल संसारमै परिचित भइसकेको छ । अब नेपालले सगरमाथा या गौतमबुद्धको देश भनेर मात्र होइन, खेलकुदजन्य गतिविधिका लागि पनि लोकप्रिय गन्तव्यका रूपमा अगाडि बढाउनुपर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा म्याराथन आयोजना गर्ने देश हो, नेपाल । अत्यन्तै खर्चिलो र साहसिक यही एउटा ‘इभेन्ट’ नेपालमा खेल पर्यटनको सम्भावना उजागर गर्न पर्याप्त छ ।
प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता
भूकम्प अगाडिसम्म क्रिकेट र फुटबलमा नेपालले निरन्तर विभिन्न प्रकारका प्रतियोगिता आयोजना गर्दै आएको थियो । तर, भूकम्पपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला भत्किएपछि फुटबलका गतिविधि शून्यप्रायः रहेको छ । क्रिकेटमा भएको एउटा ‘भेन्यू’मा प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् । क्रिकेटमा केन्या, नामिबियालगायतका टोलीले यहाँ आएर प्रतियोगिता खेलिसकेका छन् । नेपालले विभिन्न स्तरका प्रतियोगिता आयोजना गरेर अन्तर्राष्ट्रियस्तरमा आयोजना गर्न सक्ने खुबी देखाइसकेको छ । तर, पूर्वाधार अभाव र विविध काण्ड तथा आन्तरिक कारणले नेपालको क्षमता ओझेलमा परेको छ भने नकारात्मक खबरले प्राथमिकता पाएका छन् ।
मध्यस्थ मुलुक बन्ने सम्भावना
क्रिकेटमा पाकिस्तान महारथी राष्ट्रमध्ये एक हो । तर, धेरै देश असुरक्षाको कारण देखाउँदै पाकिस्तानमा गएर क्रिकेट खेल्न चाहँदैनन् । संसारका कतिपय मुलुक वातावरण र भूगोलका दृष्टिकोणबाट पनि खेलकुदका लागि उपयुक्त छैनन्, तर उनीहरू प्रतियोगिता आयोजना गर्न तथा सहभागी हुन चाहन्छन् । यस अवस्थामा त्यस्ता देशले मध्यस्थ तथा तटस्थ मुलुक खोजिरहेका हुन्छन् । हामीसँग फुटबल र क्रिकेटका अन्तर्राष्ट्रियस्तरका संरचना हुने हो भने पाकिस्तानसँगका धेरै खेल नेपालमा ल्याउन सकिने सम्भावना छ । किनकि उनीहरू अहिले युएईको दुबईमा गएर खेलिरहेका छन् । नेपालको प्राकृतिक वातावरणले संसारका सबै खेलाडी आकर्षित गर्छ । त्यसकारण नेपालले टेस्ट राष्ट्र सहभागी प्रतियोगिता वर्षमा एउटा मात्र पनि आयोजना गर्न सक्ने वातावरण बन्यो भने त्यो नेपाली पर्यटनका लागि ठूलो कोसेढुंगा सावित हुनेछ।
संसारकै खेलमैत्री वातावरण
प्राकृतिक तथा भौगौलिक दृष्टिकोणबाट नेपाल संसारकै सुन्दर मुलुकमध्ये एक हो । यहा“ केही मिटर उचाइको फरकमा अलग दृश्य र हावापानी फेला पर्छ । काठमाडौंमा रंगशालाबाटै हिमालको दृश्यावलोकन र खेलको आनन्द सँगसँगै लिन सकिन्छ । मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानमा खेल खेल्ने खेलाडीलाई हामी कुनै राष्ट्रिय निकुञ्जभित्रको मैदानमा खेलिरहेका छौँ भन्ने लाग्न सक्छ । पोखरामा खेल हुँदा मैदानबाटै टलक्क टल्कने हिमालको दृश्यले कसलाई मोहित नपार्ला ? त्यसकारण सबैभन्दा पहिले नेपालमा जुन खेलको सम्भावना छ, त्यसको पहिचान गरी राज्यले संरचना निर्माणमा ध्यान दिने हो भने यहाँको प्रकृतिले हामीलाई ठूलो लाभ दिनेवाला छ । नेपालको यो विशेषतालाई बुझ्न ढिला गर्नुहुँदैन । भारतमा उधुम गर्मी भएका वेला नेपालमा ती खेल आयोजना गर्न सकिन्छ ।
दर्शकको माया महत्वपूर्ण आधार
गत महिना राजधानीमा सम्पन्न एभरेस्ट प्रिमियर लिगको फाइनलमा कीर्तिपुर मैदानमा दर्शक अटाउन नसक्दा व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्‍यो । नेपालको राष्ट्रिय टोली प्रतिस्पर्धा गरेको हरेक खेलमा दर्शकको उपस्थिति यति उत्साहप्रद छ कि त्यसले संसारका सबै खेलप्रेमीको ध्यानाकर्षण गराएको छ । दर्शककै कारण खेल प्रायोजनतर्फ व्यापारी आकर्षित हुन्छन् । विश्वचर्चित खेलाडी पनि धेरै र खेल भावना बुझेका दर्शक रहेको मैदानमा खेल्न रुचाउ“छन् । त्यसकारण नेपाली दर्शक नै नेपालमा खेल पर्यटन विकासका आधार हुन् ।
कन्ट्री इमेजको अवसर
संसारमा धेरैले पछ्याउने ‘सेलेब्रिटी’मध्ये खेलाडी अग्रपंक्तिमा पर्छन् । ती सेलेब्रिटीलाई फ्यान मात्र होइन, सञ्चारमाध्यमले पनि पछ्याउने गर्छन् । त्यसकारण जति बढी अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सकिन्छ, त्यति नै धेरै प्रचार–प्रसारको अवसर प्राप्त हुन्छ । हामी सम्भावना के छ, त्यसको विकासमा लाग्नुपर्छ । बलिउडका चर्चित कलाकार सलमान खानको आगमनबाट नेपालले करोडौँ रुपैयाँखर्च गर्दासमेत नपाउने प्रचार पाउनेछ । खेल पर्यटनको महत्व पनि यसमै छ । नेपालमा सचिन तेन्दुलकर या लियोनल मेसीले मैत्रीपूर्ण खेल खेल्ने वातावरण र संरचना बन्ने हो भने त्यसपछि यहाँको पर्यटक आगमन कति वृद्धि होला हामी कल्पना पनि गर्न सक्दैनौँ । सन्दीप लामिछाने आइपिएलमा छनोट हुँदा मात्र पनि लाखौँले गुगलमा नेपाल खोज्न थालेका छन् । त्यो नेपालको ‘कन्ट्री इमेज’ निर्माणमा अर्को कोसेढुंगा हुनेछ ।
व्यावसायिक घरानाको चासो
मुलुकभित्र खेलकुदको विकासमा राज्यसँगै त्यहाँभित्रका व्यावसायिक घरानाको ठूलो र महत्वपूर्ण भूमिका रहन्छ । खेलाडीले खेल खेलेरै बाँच्ने वातावरण बनाउन सकियो भने मात्र नयाँपुस्ता यसतर्फ आकर्षित हुनेछन् । अहिले नेपालमा खेलकुदमा व्यावसायिक घरानाले चासो दिन थालेका छन् । जसका कारण अवसर र खेलाडीको आम्दानी बढेको छ । सरकारले ठूला र अन्तर्राष्ट्रिय सुविधासम्पन्न रंगशाला बनाइदिने हो भने ती संरचनाले सजिलै लगानी उठाउन सक्नेछन् । खेलकुद एकसाथ धेरै पर्यटक भित्रिने माध्यम हो । खेलाडी भित्रिँदा एयरलाइन्सदेखि, होटेल, यातायात, पर्यटन व्यवसायी तथा कृषि उपजले समेत बजार पाउँछन् ।
सुरक्षित भेन्यू
खेलकुद र पर्यटनको क्षेत्रमा मानिसको जिउधन सुरक्षाको विषयलाई अत्यन्तै संवेदनशील रूपमा लिइन्छ । संसारका थोरै त्यस्ता देशमध्ये नेपाल एक हो, जहाँ खेलाडी र पर्यटकले असुरक्षित महसुस गर्नुपर्दैन । किनकि सशस्त्र द्वन्द्वका वेला पनि एकजना पर्यटकमाथि आक्रमण भएन । प्राकृतिक दुर्घटना मानिसको बसमा हुँदैन । तर, नियोजित रूपमा खेलाडी र पर्यटकमाथि असुरक्षा पैदा गर्ने गतिविधि यहाँ हुँदैनन् । खेल क्षेत्रका अन्तर्राष्ट्रिय नियामक निकायहरूले ‘भेन्यु’ छनोट गर्दा सुरक्षालाई उच्च प्राथमिकता दिने गर्छन् । यो नेपालका लागि सकारात्मक पक्ष हो ।
http://www.enayapatrika.com/2018/02/04/21028/

Comments