अमेरिकी चेन होटेल ब्रान्ड रमाडा नेपाल भित्रिँदै


अच्युत पुरी काठमाडाैँ, १२ माघ | 

अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड रमाडा नेपाल भित्रिने भएको छ । सन् २०१८ को अन्त्यसम्म काठमाडौंको ठमेलमा लक्जरी होटेल ब्रान्ड रमाडाको सेवा सञ्चालनमा आइसक्ने ठमेल प्लाजा होटेल एन्ड सुइट्सका प्रबन्ध निर्देशक सागर पंगेनीले जानकारी दिए ।
पंगेनीका अनुसार निर्माणाधीन चारतारेस्तरको होटेल व्यवस्थापनका लागि अमेरिकी चेन होटेल ब्रान्ड रमाडा नेपाल आउन लागेको हो । लक्जरी आतिथ्य सेवा दिने गरी सञ्चालनमा आउन लागेको होटेलबाट नेपाल खचार्लु पर्यटकको समेत गन्तव्य हो भन्ने सन्देश स्थापित गराउने लक्ष्य राखेको उनको भनाइ छ ।
अहिले भौतिक पूर्वाधार निर्माणको झन्डै ७० प्रतिशत काम पूरा भइसकेको र यसै वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याइसक्ने योजना रहेको उनको भनाइ छ । कम्पनीका अनुसार यस होटेलमा झन्डै १ अर्ब २ करोड रुपैयाँ लगानी हुँदै छ । ९० वटा कोठा रहने होटेलमा रमाडा ब्रान्डको चेनमा हुनुपर्ने सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिने पंगेनीले जानकारी दिए । होटेलमा डिलक्स, सुपर डिलक्सस्तरका कोठा हुनेछन् । ठमेलमा होटेल र रेस्टुरेन्टको संख्या अधिक भए पनि अन्तर्राष्ट्रियस्तरका सुविधा सम्पन्न होटेलको अभाव देखेरै कम्पनीले लगानी गरेको उनको भनाइ छ ।
पछिल्लो समय ठमेलमा अलफ्ट, मारियोट, मुलबेरीजस्ता अन्तर्राष्ट्रिय चेन ब्रान्ड आकर्षित भइरहेका छन् । ‘विश्वमा नेपाल भन्नासाथ ठमेलको नाम पहिला आउँछ,’ पंगेनी भन्छन्, ‘यो स्थानमा विश्व चर्चित होटेल ब्रान्ड आकर्षित हुनु नेपालकै लागि प्रतिष्ठाको विषय हो ।’ नेपालमा ‘रमाडा इनकोर ठमेल’ नामबाट होटेल सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
कस्तो कम्पनी हो रमाडा
विश्वका ६३ मुलुकमा ८ सयभन्दा बढी होटेल व्यवस्थापन गरिरहेको रमाडा अमेरिकी चेन होटेल ब्रान्ड हो । आधा शताब्दीभन्दा लामो अनुभव बोकेको कम्पनी पहिलोपटक नेपालको आतिथ्य सेवामा प्रवेश गर्न लागेको हो ।
डालिया बुटिक होटेललाई ‘ट्राभलर्स र च्वाइस अवार्ड’
पोखरास्थित डालिया बुटिक होटेलले अन्तर्राष्ट्रिय ट्राभल साइट ट्रिप एडभाइजरबाट प्रदान गरिने ट्राभलर्स च्वाइस अवार्ड २०१८ जितेको छ । सन् २०१५ बाट सञ्चालनमा आएको होटेलले छोटो समयमै उक्त उपलब्धि हासिल गरेको होटेलकी सेल्स एन्ड मार्केटिङ एक्जुकेटिभ प्रज्ञा खनालले जानकारी दिइन् । होटेलले ३१ कोठाबाट लक्जरी आतिथ्य सेवा प्रदान गरिरहेको उनको भनाइ छ । ट्राभल साइट ट्रिप एडभाइजरमा होटेलको सेवाबारे पाहुनाले गर्ने ‘रिभ्यु’का आधारमा अवार्ड विजेता घोषणा गरिन्छ । होटेलले सेवामा कुनै पनि सम्झौता नगर्ने भएकाले पाहुनाको विश्वास जित्न सफल भएको होटेलका प्रबन्ध निर्देशक सागर पंगेनीले जानकारी दिए । उनका अनुसार होटेलले ९ कोठा थपेर सेवा विस्तारको योजनासमेत बनाएको छ ।
http://www.enayapatrika.com/2018/01/26/18096/

Comments