अब ७५ प्रतिशत नेपाली आकाश राडारबाट निगरानी

 

अच्युत पुरी/नयाँ पत्रिका भट्टेडाँडा (ललितपुर), ११ माघ |

अत्याधुनिक राडार प्रणालीको सफल परीक्षण
नेपाली आकाशमा उडिरहेका जहाजको निगरानी अत्याधुनिक प्रविधिको राडार (रेडियो तरंगमार्फत वस्तु निगरानी गर्ने) प्रणालीबाट हुने भएको छ । जापान सरकारको सहयोगमा ललितपुरको भट्टेडा“डामा जडित ‘इन–रुट मोनोप्लस सेकेन्डरी सर्भिलियन्स राडार (एमएसएसआर)’ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित टर्मिनल मोनोप्लस सेकेन्डरी सर्भिलियन्स राडार (टिएमएसएसआर) सञ्चालन गर्न लागिएको हो ।
राडारको सफल परीक्षणपछि १८ माघ (१ फेबु्रअरी २०१८) बाट पूर्ण सञ्चालनमा ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । यस प्रणालीको राडारले अब त्रिभुवन विमानस्थलमा झन्डै २० वर्षदेखि सञ्चालनमा रहेको पुरानो टर्मिनल सर्भिलियन्स राडारलाई विस्थापित गर्नेछ ।
सो राडार पनि जापान सरकारको सहयोगमै जडान गरिएको थियो । नेपालमा पहिलोपटक इन–रुट मोनोप्लस सेकेन्डरी सर्भिलियन्स राडार (एमएसएसआर) सञ्चालन हुन लागेको हो । अहिले त्रिभुवन विमानस्थलभित्र उडान र अवतरणका क्रममा रहेका जहाजको मात्र निगरानी गर्न सक्ने टर्मिनल सर्भिलियन्स राडार सञ्चालनमा छ ।
मंसिरमा परीक्षण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण आयोजनाअन्तर्गत सञ्चालित यो आयोजनाको काम सन् २०१३ बाट सुरु भएको हो । आयोजनाका निर्देशक सञ्जीवसिंह कठायतका अनुसार राडारको उडान निरीक्षण (फ्लाइट इन्स्पेक्सन) २ मंसिरदेखि तीन दिनसम्म गरिएको थियो । निरीक्षण उडानका लागि अमेरिकी तथा जापानी प्राविधिकले सहयोग गरेका थिए ।
अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनबाट विशेष विमानसहित आएको प्राविधिक टोलीले निरीक्षण गरेको थियो । निरीक्षण उडानको सफल नतिजापछि राडार पूर्ण रूपमा सञ्चालनको तयारी गरिएको हो ।
पूर्वदेखि सुर्खेतसम्म राडारको कभरेज 
नयाँ प्रणालीको राडार सञ्चालनमा आएपछि काठमाडौंबाट पूर्वी नेपाल पूरै र पश्चिममा सुर्खेत–दाङसम्मको आकाश राडारको कभरेजमा आउनेछ । जहाजको दिशा, दूरी, गतिलगायतको संकेत गर्न अहिले त्रिभुवन विमानस्थलमा सञ्चालनमा रहेको राडारले ६० नटिकल माइलसम्मका जहाजलाई मात्र समेट्न सक्छ ।
‘एमएसएसआरको निगरानी क्षेत्र भने २ सय ५० नटिकल माइल (५ सय ५० किलोमिटर) व्यास हो । अग्लो स्थानमा राखिएका कारण पनि यस राडारले ठूलो क्षेत्र समेट्न सक्छ । तर, राडारले डाँडाको खोँचबाट उडिरहेका जहाजलाई भने देखाउन सक्दैन ।
जापानको सहयोग 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भट्टेडाँडामा नयाँ प्रणालीको राडार जडानमा झन्डै १ अर्ब रुपैयाँ लगानी गरिएको छ । कठायतका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब ९० करोड ७० लाख र बाँकी रकम प्राधिकरणबाट लगानी गरी राडार जडान गरिएको हो । १४ चैत २०६९ मा जाइका र अर्थ मन्त्रालयबीच अनुदान सहयोग सम्बन्धमा सम्झौता भएको थियो ।
राडार जडानको काम भने असोज २०७३ मै सम्पन्न भएको थियो । नेपाली आकाशलाई अझ सुरक्षित र भरपर्दो बनाउन यो आयोजना फलदायी हुने अपेक्षा लिइएको नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बताए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका मुख्य प्रतिनिधि जुन सकुमाका अनुसार जाइकाले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सन् १९८८ देखि निरन्तर सहयोग गरिरहेको छ ।
के काम गर्छ राडारले ?
अहिले त्रिभुवन विमानस्थलमा सञ्चालनमा रहेको राडार प्राइमरी सर्भिलियन्स प्रणालीको हो । प्राइमरी सर्भिलियन्स प्रणालीको राडारले जहाजको दूरी र दिशा मात्र देखाउँछ । सेकेन्डरी सर्भिलियन्स प्रणालीको राडारले दूरी, दिशा र उचाइसमेत स्पष्ट देखाउँछ । यसबाट जहाजको पहिचानसमेत गर्न सकिन्छ ।
यस राडारको सहयोगमा नेपाली आकाशमा अनधिकृत रूपमा उडिरहेका जहाज पनि चिन्न सकिने प्राविधिकहरू बताउँछन् । विमानस्थलबाटै कुन जहाज, कति उचाइमा, कति गतिमा उडिरहेको छ भन्ने पत्ता लगाउन राडारले दिने संकेत उपयोग गरिने उनीहरूको भनाइ छ ।
यस राडारले निर्माणाधीन पोखरा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत क्षेत्र समेट्ने भए पनि यसको सञ्चालन आयु भने १५ वर्ष मात्र हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने समयसम्म सबैभन्दा आधुनिक प्रविधिको राडार जडानको योजना रहेको र उक्त राडार जडानपछि सम्पूर्ण नेपाली आकाश राडारको निगरानीमा आउने महानिर्देशक गौतमले जानकारी दिए ।
राडार कभरेजमा हुनुको महत्व 
सामान्यतया उडान सुरक्षाको दृष्टिकोणबाट राडारको कभरेज नहुने आकाशमा अन्तर्राष्ट्रिय कम्पनीका जहाज उड्न मान्दैनन् । राडार जडानपछि नेपालको आकाश प्रयोग गरी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या बढ्ने र त्यसबाट नेपालले अतिरिक्त आम्दानीसमेत गर्न सक्छ ।
राडार सञ्चालनपछि यात्रु र जहाजलाई के फाइदा ? 
०  हवाई मार्गमा रहेको या उडान–अवतरणका क्रममा रहेको जहाज कुन दिशा, उचाइ र गतिमा छ भन्नेबारे बढी वास्तविक तथ्य प्रदान गर्छ ।
०  यस राडारको कभरेज क्षमता असीमित हो, सोहीकारण यसले धेरैभन्दा धेरै जहाजलाई निगरानी गर्न सक्छ ।
०  आकाशमा जहाजको अवस्थितिबारे बढी तथ्य पत्ता लाग्ने भएकाले आकाशमा जहाज होल्ड गर्नुपर्दा एउटा जहाजदेखि अर्को जहाजसम्मको दूरी कम राख्न सकिने हुन्छ । जसले गर्दा आकाशमा यात्रुले थाहै नपाउने गरी जहाजलाई अर्को दिशातर्फ उडाएर होल्ड गर्दा यात्रुमाथि हुने मनोवैज्ञानिक दबाब कम गर्न मद्दत गर्छ ।
http://www.enayapatrika.com/2018/01/25/17831/

Comments