निर्यात व्यापारले खपतको ५० प्रतिशत पनि इन्धन किन्न सकेन


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, १९ माघ |
चालू आवको पहिलो ६ महिनामा नेपालले आम्दानी गरेको कुल निर्यात व्यापारको झन्डै दोब्बर रकम पेट्रोलियम पदार्थ आयातमा खर्च गरेको छ ।
यस अवधिमा नेपालले ७८ अर्ब ८९ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ खरिद गरेको छ । तर, नेपालबाट हुने कुल निर्यात व्यापारबाट भने केवल ४१ अर्ब १६ करोड रुपैयाँ मात्र कमाउन सकेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
दैनिक पौने ३ अर्ब घाटा
अन्तर्राष्ट्रिय व्यापारतर्फ नेपालले दैनिक औसत पौने ३ अर्ब रुपैयाँबराबर घाटा व्यहोरिरहेको तथ्यांक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको प्रथम ६ महिनामा नेपालको व्यापारघाटा ४ खर्ब ९३ अर्ब ८८ करोड पुगेको छ ।
सोही तथ्यांकलाई आधार मान्दा नेपालको दैनिक व्यापारघाटा औसतमा २ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ देखिएको हो । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा व्यापारघाटा १५ दशमलव ५२ प्रतिशतले बढेको तथ्यांक छ । त्यस्तै, देशको कुल आयातमा १५ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा निर्यात भने १३ दशमलव ७२ प्रतिशत बढेको छ ।
चालू आवको पुस मसान्तसम्म नेपालले कुल ५ खर्ब ३५ अर्ब ५ करोड रुपैयाँबराबरको आयात गरेको छ । सोही अवधिमा नेपालले निर्यात भने ४१ अर्ब १६ करोड रुपैयाँबराबरको मात्र गरेको छ । नेपालले दैनिक औसत २ अर्ब ९७ करोड २५ लाख रुपैयाँबराबर आयात गर्दा निर्यात भने केवल २२ करोड ८७ लाख रुपैयाँबराबर मात्र गरिरहेको तथ्यांकले देखाएको छ ।
http://www.enayapatrika.com/2018/02/02/20118/

Comments