अन्तर्राष्ट्रिय व्यापार गर्ने आधिकारिक व्यवसायी १५ हजार


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, १३ माघ | 
नेपालमा अन्तर्राष्ट्रिय व्यापार (निकासी–पैठारी) गर्ने आधिकारिक व्यवसायीको संख्या १५ हजार नाघेको छ । चालू आवमा सरकारले एक्जिम कोडविना अन्तर्राष्ट्रिय व्यापार गर्न नपाउने प्रावधानलाई कडाइ गरेपछि उक्त कोड लिने व्यवसायीको संख्या १५ हजार १ सय २ पुगेको हो ।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाका अनुसार एक्जिम कोड लिनुअघि करिब ४० हजार यस्ता व्यवसायी थिए । तर, एक्जिम कोडविना व्यापार गर्न नपाउने नीतिमा कडाइ गरेपछि १५ हजारभन्दा बढी व्यवसायी दर्ता प्रक्रियामा आएका हुन् ।
भन्सार विभागले एक वर्षअगाडि ६५औँ वार्षिकोत्सवको अवसर पारी एक्जिम कोड दर्ता सुरु गरेको थियो । चालू आवबाट भने उक्त कोडलाई अनिवार्य गरिएको हो । यस अवधिमा निकासी–पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि ०७३ दुई पटकसम्म संशोधन गरिसकिएको भन्सार विभागले जानकारी दिए ।
४५ कम्पनीको कोड रद्द 
भन्सार विभागका अनुसार एक वर्षको अवधिमा कुल ४५ वटा कम्पनीले कारोबार रद्दको निवेदन दिएका थिए । सोही आधारमा उनीहरूलाई प्रदान गरिएको कोड नम्बर भने रद्द गरिएको छ । नेपालको वैदेशिक व्यापार प्रवद्र्धन गरी निकासी–पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत गर्ने उद्देश्यले निकासी–पैठारी संकेत नम्बर जारी गरेको विभागको भनाइ छ ।
सरकारलाई यकिन तथ्यांक 
नेपालमा कति फर्मले अन्तर्राष्ट्रिय व्यापार (निकासी–पैठारी) गर्छन् भन्ने यकिन तथ्यांक सरकारस“ग थिएन । अब भने यसरी कोड नम्बर नलिने व्यवसायीले व्यवसाय नै गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आइसकेको राजस्व सचिव ढुंगानाले जानकारी दिए । यसबाट कुन फर्मले कति परिणामको व्यापार गर्छ भन्नेसमेत यकिन तथ्यांक प्राप्त हुने विभागको भनाइ छ ।
५ लाखसम्मको निर्यातमा आवश्यक छैन 
कार्यविधिले एकपटकमा ५ लाख रुपैया“सम्म मालवस्तु निर्यात गर्ने र ५० हजार रुपैया“सम्मको मालवस्तु आयात गर्ने व्यक्तिका लागि भने कोड अनिवार्य गरेको छैन । तर, एकपटक कोड नम्बर लिइसकेका व्यक्तिले भने जुनसुकै मूल्यको मालवस्तु निकासी या पैठारी गर्दा पनि नम्बर उल्लेख गर्नुपर्छ । सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कूटनीतिक नियोगलगायतले गैरव्यापारिक प्रयोजनमा गर्ने निकासी वा पैठारीमा भने संकेत नम्बर अनिवार्य छैन ।
विभागले मनायो वार्षिकोत्सव 
भन्सार विभागले ६६औँ वार्षिकोत्सव मनाएको छ । ‘आर्थिक विकासका लागि सुरक्षित र व्यावसायिक वातावरण’ भन्ने नाराका साथ शुक्रबार विविध कार्यक्रम गरी विभागले वार्षिकोत्सव मनाएको हो ।
सोही अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वित्तीय अनुशासनविना मुलुकले प्रगति हासिल गर्न नसक्ने भन्दै आफ्नो पालामा वित्तीय अनुशासनलाई प्रभाव पार्ने कुनै काम नगरेको दाबी गरे । आफूले मन्त्रीले बनाएको बजेट केवल कार्यान्वयन गर्ने काम मात्र गरेको उनको भनाइ छ ।
उक्त अवसरमा अर्थराज्यमन्त्री उदयशमशेर राणाले अबको ५ वर्ष स्थायी सरकार बनेर मुलुकमा आर्थिक विकासले गति लिने अपेक्षा गरिएको बताए । उक्त अवसरमा अर्थसचिव शंकरप्रसाद अधिकारीले भन्सार प्रशासनको सुधार र क्षमता अभिवृद्धिका लागि धेरै काम अगाडि बढेको बताए । अगाडि बढेका योजना इमानदारीसाथ कार्यान्वयन हुने हो भने त्यसको अनुभूति सेवाग्राहीले सजिलै पाउने उनको भनाइ छ ।
मुलुकभित्र लगानीको वातावरण र पूर्वाधार विकासमा जोड दिनासाथ धेरै समस्या समाधान हुने उनले बताए । यसका लागि राजनीति, प्रशासन र निजी क्षेत्र जिम्मेवार हुनुपर्ने उनले बताए । राजस्व सचिव शिशिरकुमार ढुंगानाले विभागको आधुनिकीकरणमा सरकारले ठूलो रकम लगानी गरिरहेको जानकारी दिए ।
विभागका महानिर्देशक जगदीश रेग्मीका विश्व व्यापार संगठनले हरेक वर्ष २६ जनवरीलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रूपमा मनाउने गरेको छ । सोही दिनलाई आधार मानी नेपालमा पनि यो दिवस मनाउने गरिएको हो ।
कार्यक्रममा निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भन्सारमा निजी क्षेत्रले भोग्नुपरेका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
विराटनगरमा मनाइयो भन्सार दिवस
आर्थिक विकासका लागि सुरक्षित व्यावसायिक वातावरण भन्ने नाराका साथ विराटनगरमा भन्सार दिवस मनाइएको छ । कार्यक्रमका सभापति तथा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले भन्सार प्रशासनले व्यापार सहजीकरणलाई नै प्राथमिकता दिँदै ग्रिन च्यानलबाट सामान जाँचपास गरिने बताए ।
जाँचपास प्रक्रियालाई छिटो–छरितो बनाउन अनलाइन फाराम तथा अनलाइन भुक्तानी गरी घरैबाट जाँचपास गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले राजस्व असुली मात्र अवको भन्सार प्रशासन नरही व्यापार सहजीकरणलाई प्राथमिकीरकण गर्नुपर्ने बताए ।
बढ्दो व्यापारघाटालाई पूर्ति गर्न र सरकारी खर्च व्यवस्थापन जटिल रहेको बताउँदै उनले मिरगन्ज पुललाई सुचारु गर्न जिल्ला तहदेखि केन्द्रसम्ममा पहल गरेको जानकारी दिए । यो विषयमा व्यवसायीहरूले अझै राजनीतिक तहबाट विशेष पहल गर्नुपर्ने उनले सुझाब दिए । साथै उद्योग वाणिज्य संघ प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्याय, भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासर र मोरङ व्यापार संघका तर्पबाट वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भन्सार दिवसका अवसरमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
भन्सार दिवसका अवसरमा सञ्चालित ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरूलाई कार्यक्रमका सभापति तथा कार्यक्रमका प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र वितरण भएको छ । त्यस्तै भन्सारपरिसरमा ६६ जनाले रक्तदान गरेका थिए ।
http://www.enayapatrika.com/2018/01/27/18372/

Comments