हवाई सेवाको गैरपर्यटक भिसा सिफारिसमा सरकारको कडाइ


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, ३ फागुन |

गैरपर्यटक भिसा सिफारिस गर्ने समयसीमा ६ महिना घट्यो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हवाई सेवामा काम गर्ने विदेशी कामदारको कार्य सहमति, श्रम स्वीकृति र गैरपर्यटक भिसा सिफारिस मन्त्रालयमा पेस गर्ने समयसीमा ६ महिना तोकेको छ ।
सम्बन्धित वायुसेवा कम्पनीले विदेशी कामदार राख्दा यसअघि आवेदनसम्बन्धी विज्ञापन समाप्त भएको मितिले १ वर्षसम्म यस्तो प्रस्ताव मन्त्रालयमा पेस गर्न पाउने प्रावधान थियो ।
मन्त्रालयका एक अधिकारीका अनुसार सरकारलाई जानकारी नै नगराई विदेशी कामदार राख्ने र पुरानो विज्ञापन पेस गरी कामदार राख्ने कम्पनीहरूको प्रवृत्ति बढेपछि नयाँ प्रावधान ल्याइएको हो ।
‘केही कम्पनीले एक वर्षपहिले प्रकाशित विज्ञापन देखाएर नयाँ कामदार ल्याउने गरेको पाइयो,’ ती अधिकारीले भने, ‘अब हरेक विदेशी कामदारको विषयमा वेलैमा सरकारलाई जानकारी होस् भन्ने उद्देश्ले नीतिगत परिवर्तन गरिएको हो ।’ मन्त्रालयले हालै प्याराग्लाइडिङ कम्पनीहरूका नाममा यस्तो मार्गनिर्देशन जारी गरेको छ ।
के छ परिवर्तित नीतिमा 
वायुसेवा कम्पनीहरूले विदेशी नागरिकलाई आफ्नो संस्थामा नियुक्ति गर्दा १५ दिन समय राखेर विज्ञापन प्रकाशित गर्नुपर्नेछ । विज्ञापनको म्याद समाप्त भएको मितिले ६ महिनाभित्र कार्य सहमति, श्रम स्वीकृति र गैरपर्यटक भिसाको सिफारिसका लागि मन्त्रालयमा पेस गरिसक्नुपर्नेछ । यसअघि यस्तो अवधि १ वर्ष राखिएको थियो ।
मन्त्रालयमा विवरण पेस गर्दा आवेदकहरूको संख्या र राष्ट्रियता खुलाई आवेदकहरूको दर्ता पुस्तिकाको प्रमाणित प्रतिलिपि समावेश गर्नुपर्छ ।
कम्पनीले विदेशी नागरिक नियुक्त गर्नु परे सम्बन्धित सञ्चालक समिति वा पदपूर्ति समितिले सात दिनभित्र निर्णय गरी विदेशी नागरिक नियुक्त गर्नुपर्ने कारणसहित निर्णयको प्रतिलिपिसमेत मन्त्रालयमा पेस गर्नुपर्नेछ ।
तीन निकायबाट स्वीकृति 
नेपालमा वायुसेवा कम्पनीले ३ महिनाभन्दा बढी अवधिका लागि विदेशी कामदार राख्न परे कार्य सहमति, श्रम स्वीकृति र गैरपर्यटक भिसा लिनुपर्छ । कार्य सहमति गृह मन्त्रालयबाट प्राप्त हुन्छ ।
श्रम स्वीकृति श्रम मन्त्रालयबाट प्राप्त हुन्छ भने सोही श्रम स्वीकृतिका आधारमा अध्यागमन विभागले गैरपर्यटकीय भिसा प्रदान गर्छ । यी तीनवटै प्रयोजनको सिफारिसका लागि कम्पनीहरू हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालय आउनुपर्ने प्रावधान छ ।
तीन महिनाभन्दा कम समय काम गर्ने गरी भित्र्याइने विदेशीको हकमा भने कार्य सहमति आवश्यक पर्दैन ।
प्राविधिक क्षेत्रमा बढी विदेशी 
नेपालको हवाई क्षेत्रमा पछिल्लो समय विदेशी कामदारको माग बढ्दो छ । कम्पनीहरूका अनुसार नयाँनयाँ जहाज थप हुनेक्रममा ती जहाजबारे जानकार इन्जिनियर र पाइलटको नेपालमा उच्च अभाव छ ।
त्यसकारण विदेशी कामदार ल्याउनुको विकल्प छैन । वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपाने भन्छन्, ‘नेपालमा प्राविधिक तयार नभएसम्म विदेशबाटै मगाउनुपर्ने हुन्छ ।’
मन्त्रालय स्रोतका अनुसार नेपालमा सबैभन्दा बढी विदेशी कामदार राख्ने कम्पनी हिमालय एयरलाइन्स हो । उक्त कम्पनीसँग तीनवटा एयरबस छ । नेपालमा एयरबस जहाज भित्रिएको थोरै मात्र समय भएकाले यससम्बन्धी दक्ष नेपाली प्राविधिकको अभाव छ । नेपाल वायुसेवा निगमसँग पनि दुई एयरबस जहाज छन् ।
यसबाहेक हेलिकोप्टर कम्पनीले पर्यटकीय सिजनमा बढी विदेशी पाइलट भित्र्याउँछन् । हेलिकोप्टर उडाउन करिब २०–२२ जना नेपाली पाइलट छन् । तर, पर्यटकीय मौसममा विदेशबाट पाइलट ल्याउने गरिएको सचिव न्यौपानेले बताए ।
उनका अनुसार एकजना हेलिकोप्टरचालक बन्न करिब १ करोड रुपैयाँ खर्च हुन्छ । दक्ष पाइलट तयार बन्न झन्डै ५ वर्ष समय लाग्छ । सोहीकारण नेपालीहरू हेलिकोप्टर उडानतर्फ आकर्षित हुन सकिरहेका छैनन् ।
http://www.enayapatrika.com/2018/02/15/23999/

Comments