विमानस्थलमा अब पर्यटनमैत्री विज्ञापन मात्र


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, २७ माघ |  २०७४

एक महिनाभित्र विज्ञापन नीति बनाएर कार्यान्वयनमा लैजाने तयारी
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने सबै प्रकारका विज्ञापनबारे नीति बनाएरै नियमन गर्ने भएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले एक महिनाभित्र विज्ञापन नीति बनाएर सोहीअनुसार कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
विज्ञापन नीति बनाउन प्राधिकरणले समिति गठन गर्ने र त्यसमा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिसमेत सहभागी हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । ‘विमानस्थलमा राखिने सबै प्रकारका विज्ञापन पर्यटनमैत्री बन्नुपर्छ,’ उनले भने, ‘सोहीअनुसार नीति बनाएर व्यवस्थित गर्ने निर्णय भएको छ ।’
विमानस्थल नै कुरूप बनाउने गरी राखिएका व्यापारिक विज्ञापन हटाएर नेपालको मौलिकता झल्कने विज्ञापन राख्नेबारे सरकारले लामो समयदेखि तयारी गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।
विमानस्थलमा शौचालय अभाव, अत्यधिक भिडभाड, चोरी, असुरक्षा, भन्सारमा ठगी तथा ढिलासुस्तीजस्ता समस्या रहेको गुनासो सर्वसाधारणको छ । त्यस्तै ट्याक्सीबाट मनपरी भाडा असुली, अव्यस्थित व्यापारिक विज्ञापनका होर्डिङ बोर्ड, हेल्प डेस्क र सरसफाइका कर्मचारीको व्यवहार सम्बन्धमा पनि थुप्रै गुनासा आउने गरेका छन् ।
तर, सोहीअनुसार चुस्त व्यवस्थापन गर्न भने नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल व्यवस्थापन चुक्दै आएको छ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले कार्यभार सम्हालेको २ महिनाभित्रै विमानस्थलबाट विज्ञापन हटाउने घोषणा गरे पनि हालसम्म कार्यान्वयन भएको छैन । 
सम्झौता सकिएका विज्ञापन तत्काल हटाइने 
त्रिभुवन विमानस्थल व्यवस्थापनसँग सम्झौता गरी राखिएका व्यापारिक विज्ञापनमध्ये सम्झौता अवधि सकिएका विज्ञापन तत्काल हटाउने निर्णयसमेत मन्त्रालयले गरेको छ ।
साथै, नयाँ विज्ञापन नीति नआएसम्म सो स्थानमा नयाँ होडिङ बोर्डको सम्झौता नगर्ने निर्णय भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्डले तत्कालका लागि विमानस्थलमा राख्ने गरी डिजिटल विज्ञापन उपलब्ध गराउने सहमति भएको छ ।
महानगरपालिका पनि हटाउन चाहन्छ होर्डिङ बोर्ड 
विज्ञापन नीति २०७० जारी भएपछि काठमाडौं महानगरपालिका पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताबाट ठुल्ठूला होर्डिङ बोर्ड हटाउने पक्षमा छ ।
महानगरको सुन्दरतामा असर गर्ने होर्डिङ बोर्ड हटाएर डिजिटल विज्ञापन राख्नुपर्ने पक्षमा महानगरपालिका छ । तर, विमानस्थल व्यवस्थापनको मुख्य आम्दानीको स्रोतमध्ये एक भएकाले प्राधिकरण भने विज्ञापन हटाउन मानिरहेको छैन ।
विज्ञापन नीतिमा के कुरा समेटिनेछ ? 
मन्त्रालयका अनुसार अब बन्ने विज्ञापन नीतिले विमानस्थलको कुन–कुन स्थानमा व्यापारिक विज्ञापन राख्न उपयुक्त हुन्छ भन्नेबारे स्पष्ट निर्धारण गर्नेछ । कुन–कुन स्थानमा नेपाली मौलिकता झल्कने विज्ञापन मात्र राख्न मिल्छ भन्नेबारे पनि सोही नीतिमार्फत छुट्याइनेछ ।
‘विज्ञापनकै कारण विमानस्थलको स्वरूप कुरूप बन्नुभएन,’ प्रवक्ता उपाध्यायले भने, ‘अब पर्यटकले नेपाल आएको झल्को पाउने गरी विमानस्थलको मुहार फेरिनुपर्छ भन्नेमा सरकार सचेत छ ।’
http://www.enayapatrika.com/2018/02/10/22537/

Comments