कमजोर पुँजीगत खर्चको असर राजस्व संकलनमा


अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, ६ माघ |
कर राजस्वका मुख्य स्रोत भन्सार, मूल्य अभिवृद्धि कर र आयकरकै लक्ष्य पुगेन
चालू आर्थिक वर्ष ०७४/७५ को प्रथम ६ महिनामा कुल राजस्व संकलनको लक्ष्य पूरा भए पनि मुख्य–मुख्य कर राजस्वका स्रोतको लक्ष्य भने पूरा हुन सकेन । समीक्षा अवधिमा सरकारले ३ खर्ब ३४ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा ३ खर्ब ३४ अर्ब ९६ करोड असुली भएको छ । जुन लक्ष्यको १००.२५ प्रतिशत हो ।
कुल राजस्वको लक्ष्य पूरा भए पनि कर राजस्वका मुख्य स्रोत भन्सार, मूल्य अभिवृद्धि कर र आयकर तीनवटै स्रोतको लक्ष्य भने पूरा हुन सकेन । सरकारले पुँजीगत खर्चको गति बढाउन नसक्दा त्यसले राजस्व संकलनमा पनि असर पुगेको अर्थ मन्त्रालयका अधिकारीहरूले स्वीकार गरेका छन् ।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले भने, ‘पुँजीगत खर्च कम हुँदा स्वतः त्यसको प्रभाव राजस्व संकलनमा देखिन्छ ।’
सरकारी संस्थानबाट अपेक्षाअनुरूप उठेन आयकर 
अर्थ मन्त्रालयका अनुसार प्रथम ६ महिनामा सरकारी संस्थानहरूबाट अपेक्षाअनुसार आयकर उठ्न सकेन । जसको असर समग्र आयकरमा देखिएको हो ।
गत आवमा झन्डै २ अर्ब आयकर तिरेको नेपाल आयल निगम यस आवका घाटामा जानु तथा अन्य संस्थानको प्रदर्शनसमेत उत्साहजनक नभएपछि आयकर संकलनमा प्रभाव परेको राजस्व सचिव ढुंगानाले जानकारी दिए । उनका अनुसार यस अवधिमा निजी क्षेत्रबाट पनि उत्साहजनक रूपमा आयकर उठ्न सकेन ।
मूल्य अभिवृद्धि करतर्फ आन्तरिक उत्पादन र पर्यटन क्षेत्रबाट सोचअनुसार कर उठ्न नसक्दा लक्ष्य पूरा हुन नसकेको मन्त्रालयको विश्लेषण छ । भन्सारतर्फको राजस्व भने स्वाभाविक रूपमा संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।
पुँजीगत खर्च मात्र १४ प्रतिशत 
पुँजीगत खर्च बढाउने सरकारी लक्ष्य भने चालू आवमा पनि पूरा हुन सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो ६ महिनामा केवल १४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।
समीक्षा अवधिमा चालू खर्च भने ४१ प्रतिशत पुगेको छ । अहिलेसम्म स्थानीय तहमा १ सय ५० अर्ब रुपैया“ गए पनि त्यसलाई पुँजीगत खर्चमा जोडिएको छैन । स्थानीय तहमा ससर्त र समानीकरण अनुदानबापत गएको रकम कति खर्च भयो र कति भएको छैन भन्नेबारे अध्ययन गरिने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
http://www.enayapatrika.com/2018/01/20/16570/

Comments