नेपालको ‘वाइल्डलाइफ टुरिजम’माथि पशु अधिकारकर्मीको धावा


अच्युत पुरी/नयाँ पत्रिका नवलपरासी, ३ माघ | २०७४

हात्ती सफारीविरुद्ध सञ्चालित अन्तर्राष्ट्रिय अभियानका कारण नेपालमा खर्चालु पर्यटक भित्राउने मुख्य प्रडक्ट ‘वाइल्डलाइफ’ धरापमा पर्ने खतरा
युरोप र अमेरिकामा पछिल्लो एक वर्षयता पशुअधिकारकर्मीले हात्ती सफारीविरुद्ध अभियान चलाएपछि नेपालमा खर्चालु पर्यटक भित्राउने मुख्य माध्यम वाइल्डलाइफ टुरिजम धरापमा पर्ने खतरा बढेको छ ।
पशुअधिकारकर्मीले ‘हात्तीमाथि चढ्नु जनावरमाथिको अत्याचार हो’ भन्दै अन्तर्राष्ट्रियस्तरबाटै अभियान थालेका छन् । यो अभियानबाट नेपालमा पर्वतारोहणपछि बढी खर्चालु पर्यटक भित्राउने वाइल्डलाइफ टुरिजमको भविष्यमाथि प्रश्नचिह्न खडा भएको हो । वरिष्ठ पर्यटन व्यवसायी तथा नेपालमा वाइल्डलाइफ टुरिजम स्थापित गर्ने कम्पनीमध्ये एक टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट नवलपरासीका सञ्चालक वसन्त मिश्रका अनुसार पशुअधिकारकर्मीले नेपालमा प्याकेज बिक्री गर्ने अन्तर्राष्ट्रिय टुर अपरेटर्ससम्म पुगेर हात्ती सफारीको प्याकेज बिक्री रोक्न दबाब दिइरहेका छन् । यसबाट नेपालको मौलिक पर्यटकीय उत्पादन नै खतरामा पर्ने आशंका बढेको उनले जानकारी दिए ।
नेपालबारे अध्ययनविना नै कुप्रचार
व्यवसायीका अनुसार नेपालमा हात्तीको प्रयोग खासगरी पर्यटन, राष्ट्रिय निकुञ्ज तथा जंगली जनावरको संरक्षणका लागि मात्र हुने गरेको छ । नेपालमा हात्तीलाई सर्कसमा देखाउने तथा खेल खेलाउने प्रयोजनमा प्रयोग गरिँदैन । संसारभर नेपालले हात्तीमाथि नराम्रो व्यवहार नगरेको पुष्टि हुँदाहुँदै पनि अधिकारकर्मीले नकारात्मक प्रचार फैलाइरहेको मिश्रले बताए । ‘नेपालमा हात्तीमाथि कस्तो व्यवहार हुन्छ र यहाँको जीवनशैली र पर्यटन कसरी विकास भएको छ भन्ने नबुझी चलेको अभियानले नेपालको पर्यटन नै धरापमा पर्ने खतरा बढेको छ,’ उनले भने, ‘हामी हौवाको भरमा दौडिनुभएन ।’
सरकार बोल्नुपर्‍यो : व्यवसायी
नेपालको अर्थतन्त्रको मुख्य आधार पर्यटन र पर्यटनको मुख्य आधार वाइल्डलाइफ टुरिजम नै धरापमा पर्ने गरी अन्तर्राष्ट्रियस्तरमा फैलिएको प्रचारबारे नेपाल सरकार र सरोकारवाला निकायले वेलैमा पहल थाल्नुपर्ने पर्यटन व्यवसायीको माग छ । चिडियाखानामा राखेको हात्तीभन्दा जंगल सफारीमा जाने हात्ती कैयौँ गुना खुसी हुन्छ,’ मिश्र भन्छन्, ‘बरु हात्ती सफारीका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायलाई समेत मान्य हुने गरी सरकारले एउटा मापदण्ड बनाओस्, हामी मान्न तयार छौँ ।’ हात्तीलाई कति घन्टा सफारीमा लैजान पाउने, सफारीमा कति मानिस राख्न पाउने भन्नेबारे स्पष्ट मापदण्ड बनाएर अन्तर्राष्ट्रियस्तरमा नेपालबारे भएको कुप्रचार रोक्न पर्यटन बोर्ड तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै पहल हुनुपर्ने व्यवसायीको माग छ । होटेल संघ नेपाल, चितवन च्याप्टरका अध्यक्ष सुमन घिमिरे भन्छन्, ‘हात्ती सफारी रोक्ने प्रश्न आउँदैन, बरु एउटा सर्वमान्य मापदण्ड बनाएर त्यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गरौँ ।’
२ सय ५० हात्तीको जीवन के हुन्छ ?
व्यवसायीहरूका अनुसार नेपालमा निजी र सरकारीस्तरमा करिब २ सय ५० हात्ती पालिएका छन् । त्यसमध्ये झन्डै १ सय ४० हाराहारीमा हात्ती निजी व्यवसायीले पालेका छन् । पर्यटनमा हात्तीको प्रयोग गर्न नपाएमा व्यवसायीले हात्ती पाल्न सक्दैनन् । त्यसवेला घरमा हुर्किएको हात्ती जंगलमा बस्न सक्नेछैन भने उसलाई दैनिक रूपमा चाहिने आवश्यक खाना पनि मिल्दैन । यसबाट सयौँ हात्तीको जीवन नै खतरामा पर्नेतर्फ सचेत हुनुपर्ने हात्तीपालक पर्यटन व्यवसायीहरूको भनाइ छ । उनीहरूका अनुसार एउटा हात्तीका लागि दैनिक १५ किलो धान र त्यति नै परिमाणमा भेली (सख्खर) खपत हुन्छ । घाँससहित उसका लागि दैनिक १ सय ५० किलो खाना र त्यति नै परिमाणमा पानी आवश्यक पर्छ । उसलाई नियमित व्यायामसमेत आवश्यक पर्छ । ‘हात्तीले आफ्ना लागि आफैँ कमाइरहेको छ, पर्यटनमा प्रयोग गर्न नपाउने हो भने उसलाई हामीले पाल्न सक्ने अवस्था रहन्न, त्यो अवस्थामा हात्तीकै भविष्य के होला ?’ मिश्रले भने ।
अर्बौं लगानी संकटमा
व्यवसायीहरूका अनुसार चितवन र नवलपरासीबाट हात्ती सफारी निकाल्नासाथ यहाँको वाइल्डलाइफ पर्यटन धर्मराउँछ । त्यसपछि स्वाभाविक रूपमा व्यवसायी निकुञ्जभित्र सवारीसाधन चलाउन बाध्य हुन्छ । सौराह र यसआसपास २ सयभन्दा बढी स्तरीय होटेल र त्यसमा अर्बौं रुपैयाँ लगानी रहेको अनुमान छ । पछिल्लो समय होमस्टेसमेत फस्टाउने क्रममा छ । यहाँबाट हात्ती सफारी निकाल्नासाथ सबै होटेल एकसाथ धरापमा पर्ने व्यवसायीको चिन्ता छ । हान चितवनका अध्यक्ष घिमिरेका अनुसार सौराहा र यसआसपासका होटेलमा मात्र करिब १५ अर्बभन्दा बढी लगानी भइसकेको छ ।
विश्वसम्पदा संरक्षणको चिन्ता
चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा हो । हात्तीको विकल्पमा सवारीसाधन चलाउन सुरु भयो भने यहाँको एकसिंगे गैँडादेखि समग्र निकुञ्जको भविष्यमाथि प्रश्नचिह्न उठ्नेछ । यस अवस्थामा सम्पदा संरक्षण कसरी गर्ने भन्नेबारे चिन्ता यस भेगका सरोकारवालाको छ । यस निकुञ्जमा संरक्षण प्रयोजनका लागि नेपाली सेनाले पनि व्यवसायीको सहयोगमा हात्तीको प्रयोग गर्छ । किनकि, वर्षातको समयमा गाडी गुड्न नसक्ने गरी बाटो बिग्रिएका वेला निकुञ्जको संरक्षणमा हात्ती अनिवार्य हुन्छ ।
तर, संसारभर पर्यटकको आकर्षणमा प्रयोग गरिन्छन् जनावर
हात्ती सफारी : लाओस, थाइल्यान्ड, श्रीलंका, भारतजस्ता मुलुक पनि हात्ती सफारीका माध्यमबाटै संसारभर आफ्नो प्याकेज बिक्री गरी करोडौँ पर्यटक भित्राउँछन् । दक्षिण अफ्रिकामा पनि हात्ती सफारी चर्चित छ ।
बुल फाइट : स्पेनसहित संसारका धेरै देशमा मनोरञ्जन र पर्यटकीय आकर्षणका लागि बुल फाइट चर्चित छ । स्पेन, पर्चुगल, फ्रान्स, तान्जानिया, मेक्सिको, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरुलगायत देशमा बुल फाइट चर्चित छ ।
उँट सफारी : खासगरी खाडी मुलुकमा पर्यटकको आकर्षणका रूपमा उँट सफारी प्रयोगमा छ । मरुभूमिमा उँट चढ्ने गरी यी मुलुकले प्याकेज बिक्री गर्छन् । युएई, कतारजस्ता देशले उँट सफारीको प्याकेज बेचिरहेका छन् ।
http://www.enayapatrika.com/2018/01/17/15786/

Comments