समिट एयर जहाज दुर्घटना जाँच प्रतिवेदन : मौसमले पाइलट र एटिसी दुवैलाई झुक्यायो


अच्युत पुरी काठमाडौं, १ पुस | 
६ महिनाअघि १३ जेठ ०७४ का दिन काठमाडौं–लुक्ला रुटमा लगातार चार सफल उडान गरी पाँचाैँ उडान सम्पन्न गर्न केही सेकेन्ड बाँकी रहेको अवस्थामा समिट एयरको कार्गो जहाज दुर्घटनाग्रस्त भयो । लुक्ला विमानस्थलको धावनमार्ग छुन १ सय ३० फिट मात्र बाँकी रहेको अवस्थामा समिट एयर (तत्कालीन गोमा एयर)को ‘९एन–एकेएन, एलइटी–४००’ जहाज भिरमा ठोक्कियो । दुर्घटनामा अनुभवी पाइलट पारसकुमार राई र युवा को–पाइलट श्रीजन मानन्धरले ज्यान गुमाए ।
फाइल तस्बिर
एयरहोस्टेस प्रज्ञा महर्जन घाइते भइन् । यसरी दुई दक्ष पाइलट गुमाउने गरी भएको दुर्घटनामा छिनछिनमा अदलबदल हुने लुक्काको मौसमले पाइलट र एयर ट्राफिक कन्ट्रोलर (एटिसी) दुवैलाई झुक्याएको दुर्घटना जाँच आयोगको प्रतिवेदनले देखाएको छ । दुर्घटनापछि सरकारले गठन गरेको हवाई दुर्घटना जाँच आयोगले शुक्रबार आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवसमक्ष हस्तान्तरण गरेको छ ।
कसरी भयो दुर्घटना ? 
दुर्घटना जाँच आयोगका सदस्यसचिव तथा मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाज र चालक दलले सोही दिन काठमाडौं–लुक्ला रुटमा चार उडान पूरा गरी पाँचौँ उडान गरिरहेका थिए । अघिल्ला उडानका क्रममा मौसम अत्यन्त राम्रो रहे पनि पाँचौँ उडान सुरु भई १० माइल उड्नासाथ लुक्लाको मौसम बिग्रियो । लुक्लामा अत्यधिक वर्षा भएपछि तत्काल एटिसीले पाइलटलाई अवस्थाबारे जानकारी गराए । त्यतिन्जेल त्रिभुवन विमानस्थलमा जहाजको चाप बढेर ‘होल्ड’ सुरु भइसकेको थियो । एटिसीका अनुसार वर्षाका बाबजुत पनि लुक्लाको भिजिबिलिटी राम्रो थियो, जसमा अवतरण गर्न सम्भव थियो ।
त्यसकारण चालक दलले जहाज त्रिभुवन विमानस्थल फर्काउनुको साटो जसोतसो लुक्ला नै लैजाने निर्णय लिए । तर, ‘इनरुट’ मौसमअनुकूल भने थिएन । सोहीकारण जहाज अघिल्लो चारवटा उडान गरेको रुटभन्दा फरक रुट समात्न बाध्य भयो । काठमाडौंबाट १ बजेर २९ मिनेट जाँदा उडेको जहाजलाई उडानका दौरान लुक्ला टावरले पछिल्लो मौसमी अवस्थाबारे अपडेट गराउँदा जहाज ओखलढुंगाको रुम्झाटारआसपास पुगेको थियो । सोही समय लुक्लाबाट काठमाडौंका लागि उडेको ‘९एनएजियू, एएस३५०’ हेलिकोप्टरका पाइलटले लुक्ला टावरलाई इनरुट मौसमको अपडेट टिपाएका थिए । साथै, उनै पाइलटले समिटका चालक दललाई समेत लुक्ला भ्यालीको मौसमबारे जानकारी गराएका थिए ।
लुक्ला एटिसी र समिटको चालक दलका सदस्यबीच पहिलोपटक सम्पर्क भएको ४ मिनेटपछि एटिसीले पुनः मौसमबारे अपडेट गराए । त्यसवेला लुक्ला उपत्यकालाई बाक्लो कुइरोले ढाकिसकेको थियो । धावनमार्ग भने देखिने अवस्थामै थियो । तर, मौसम निरन्तर प्रतिकूल भए पनि त्यतिन्जेल जहाज पहाडको खोँचमा छिरिसकेका कारण डाइभर्ट गर्न सम्भव थिएन । जहाज पूर्णतया कुइरोमा हराइसकेको थियो भने चालक दलका सदस्यले धावनमार्ग देखेका थिएनन् । जहाजले ‘लो अल्टिच्युड मेन्टेन’ गरेका कारण निकै तलबाटै उडेको थियो । जहाज ठोक्किनु ६४ सेकेन्डअगाडि को–पाइलटले धावनमार्ग देखेको संकेत गरे ।
सोही आधारमा पाइलटले जहाज अवतरण गर्न थाले । तर, एकाएक जहाज दाया“तर्फ मोडिन पुग्यो । कुइरोभित्र रहेको जहाज अवतरणका क्रममा धावनमार्गमा फाइनल टच गर्ने बिन्दुभन्दा तल पुगेको थियो । यो थाहा पाएका पाइलटले अवतरणको सबैभन्दा संवेदनशील अवस्था (गति न्यून, पांग्रा निकालिएको अवस्था)मा अपर्झट उचाइ लिने क्रममा जहाज भिरमा ठोक्किन पुगेको निष्कर्ष जा“च आयोगले निकालेको छ ।
सुझाब के छ ? 
प्रतिवेदनले दुर्घटना जाँच आयोगका सुझाबलाई गम्भीर रूपमा लिएर कार्यान्वयन गर्न सरोकारवालालाई सचेत गराएको छ । त्रिभुवन विमानस्थलको चाप कम गर्न, लुक्ला विमानस्थलमा सम्भव भए रनवे थप गर्न तथा हवाई सुरक्षामा लापरबाही गर्ने जोसुकै भए पनि त्यसको सूक्ष्म र गोप्य सूचना संकलन गरी कारबाही प्रक्रियालाई बलियो बनाउन आयोगले सुझाब दिएको छ ।
‘विगतका सुझाब कार्यान्वयनको समेत समीक्षा गर्छौँ’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले विगतदेखि हालसम्म भएका दुर्घटना जाँच आयोगका प्रतिवेदन कार्यान्वयनको समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसको थालनी गर्न उनले सम्बन्धित महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिए ।
दुर्घटनामा देखिएका सहायक कारण
-जोखिमपूर्ण भौगोलिक अवस्था र प्रतिकूल मौसम
– चालक दलले जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने तत्कालीन सचेतना अपनाउन नसक्नु
-समयमा उचित निर्णय लिन नसकी पर्ख र हेरको अवस्थामा जहाज उडाउनु
– एटिसीले खराब मौसमका बाबजुत विमानस्थल बन्द भएको घोषणा गर्न नसक्नु
-प्राविधिक र चालक दलको स्वास्थ्यमा खराबी थिएन
– दुर्घटना जाँच आयोगका अनुसार जहाजमा कुनै पनि प्राविधिक गडबडी थिएन । चालक दलका सदस्यको स्वास्थ्य राम्रो थियो भने उनीहरूले अल्कोहलसमेत सेवन नगरेको मेडिकल रिपोर्टले देखाएको छ ।
http://www.enayapatrika.com/2017/12/16/7072/

Comments