एक हजार राजस्व संकलन गर्न ६ रुपैयाँ खर्च

अच्युत पुरी ९ मंसिर 
आर्थिक वर्ष ०७३-७४ मा नेपालमा २ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ कर राजस्व संकलन भयो । नेपालमा कर राजस्व संकलन गर्ने निकाय आन्तरिक राजस्व विभाग र मातहतका आन्तरिक राजस्व कार्यालयले यस आवमा चालू र पुँजीगत गरी कुल १ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । यसको मतलव कुल राजस्व संकलनमा खर्चको अनुपात ०.५८८ प्रतिशत रहेको छ ।
यो अनुपातअनुसार विभाग र मातहतका कार्यालयबाट १ हजार रुपैयाँ राजस्व सकंलन गर्न ५ दशमलव ८८ रुपैयाँ खर्च हुन्छ । तथ्यांकअनुसार उक्त आवमा विभागले चालूतर्फ १ अर्ब ३४ करोड ६९ लाख ३१ हजार खर्च गरेको छ । पुँजीगततर्फ भने १७ करोड ३६ लाख ६६ हजार रुपैयाँ खर्च भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार गत आवमा विगत सात वर्षयताकै कम खर्चमा प्रतिहजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०६६-६७ मा रू. १ हजार राजस्व संकलन गर्न औसतः ४.९९ रुपैयाँ खर्च भएको थियो । त्यसपछि खर्च ह्वात्तै बढेको तथ्यांक छ । आव २०६७÷६८ मा १२.७२ रुपैयाँ खर्च गर्दा रू. १ हजार राजस्व संकलन सम्भव भएको थियो । त्यसपछिका आवमा भने क्रमशः खर्च कम र कर राजस्व संकलन वृद्धि हुँदै गएको छ । संस्था बलियो बन्दै जानु र राजस्व प्रशासनमा स्थायित्व कायम हुँदै गएपछि कम खर्चमा राजस्व संकलन वृद्धि भइरहेको अधिकारीहरू बताउँछन् ।
विभाग र मातहतका आन्तरिक राजस्व कार्यालयहरुबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर संकलन हुने गरेको छ । गत आवमा कुल राजस्व परिचालनमा आन्तरिक राजस्व विभागको हिस्सा ४७ दशमलव १६ प्रतिशत रह्यो । चालू आवमा सरकारले राजस्व निर्धारणको लक्ष्य ७ खर्ब ३० अर्ब तोकेको छ । यसमध्ये विभागको भागमा २ खर्ब ९९ अर्ब ९१ करोड हिस्सा छ । नेपालमा अहिलेसम्म १६ लाख २३ हजार ७८ जना करदाता पुगेका छन् । त्यसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ९ लाख ३४ हजार ६ सय ५८ जना छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता भने ६ लाख ८८ हजार ४ सय २० पुगेका छन् ।
http://www.enayapatrika.com/2017/11/25/637/

Comments