आहा ! पाथीभरा

अच्युत पुरी   |   12 katiik 
पश्चिममा घर भएको मलाई लामो समयको प्रतीक्षापछि सुदूरपूर्वी नेपाल भ्रमणको अवसर जुट्यो । ताप्लेजुङको सदरमुकामआसपास निर्माण गरिएका दुई आकर्षक ‘अलैँची मसला पदमार्ग’ सार्वजनिक गर्ने सिलसिलामा असोज अन्तिम साता नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त रूपमा यो अवसर जुराइदिएका थिए । एक त पूर्वी नेपालको भ्रमण, त्यसमा पनि ताप्लेजुङस्थित पाथीभरामाईको दर्शन गर्न पाइने अभिलाषाले मन फुरुंङ नहुने कुरै थिएन । राजधानीबाट ताप्लेजुङतर्फ लागेका आधा दर्जन सञ्चारकर्मीसहित १० जनाको टोलीका कोही पनि पाथीभरासम्म पुगेको थिएन । त्यसैले पनि यो भ्रमण हामी सबैका लागि नौलो र कौतुहलपूर्ण थियो ।
पहिलो दिन 
सडकको ट्राफिक जाम, धुलो, धुँवा र कष्टकर यात्राबाट मुक्ति मिल्ने अपेक्षासहित हवाईमार्ग रोजेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलले करिब तीन घण्टा आतिथ्य दिइरह्यो । झापाको चन्द्रगढी विमानस्थलका लागि उड्न विमानस्थल पुगेका यात्रु त्यसवेला अलमलमा परे, जब वायुसेवा कम्पनीले बोर्डिङ पाससँगै जहाज ‘टेक्निकल भएको’ र भैरहवा या विराटनगर उडेको जहाज आएपछि मात्र झापा उड्ने जानकारी दियो ।
यात्रुले झोक्किँदै भन्न थाले, ‘वेलैमा जहाज बिग्रेको जानकारी गराए त विमानस्थलको भिडभाडमा अलपत्र बन्नु पर्दैनथ्यो नि !’ करिब तीन घण्टाको कुराइपछि जहाज चन्द्रगढी विमानस्थलतर्फ उड्यो र शीतल मौसमको सहर राजधानीबाट तातो सहर झापामा अवतरण गरायो ।
ताप्लेजुङको सुकेटारमा पनि एउटा सानो विमानस्थल छ । सदरमुकाम फुङलिङबाट करिब नौ किलोमिटरको दूरीमा पर्ने यो विमानस्थलमा नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज भएका वेला र ताप्लेजुङमा सडक यातायात सहज नहुन्जेल बाक्लो उडान हुन्थ्यो । अहिले भने बन्द अवस्थामा रहेको यो विमानस्थलमा तारा एयरले परीक्षण उडानको तयारी गरेको छ ।
झापा झरेको टोलीका लागि ताप्लेजुङसम्मको यात्राका लागि विमानस्थलमा दुई निजी सवारीसाधन तयारी हालतमा थिए । सामान्यतया ताप्लेजुङका लागि झापा र विराटनगरबाट सावर्जनिक सवारी छुट्ने गर्छन् । चारपांग्रे निजी सवारी हुनेका लागि आफ्नै सवारीमार्फत पाथीभरायात्रा रोमाञ्चक हुने गर्छ । झापाको चन्द्रगढीबाट मेची राजमार्ग हुँदै इलामतर्फ लागेपछि करिब एक घण्टा पनि नहुँदै सिरेटोले घोच्न थालिसकेको थियो । इलामको फिक्कल बजार पुगुन्जेल यति चिसो भइसकेको थियो कि ब्यागमा थन्क्याएका ज्याकेट निकालेर जाडो भगाउनुको विकल्प रहेन । फिक्कलबाट कन्याम चिया बगान हु“दै इलामबजारतर्फ अगाडि बढ्दै गर्दा हुस्सुले बाटो ढपक्क ढाकिसकेको थियो । झिसमिसे साँझमा हुस्सुले ढाकेको प्रकृतिलाई क्यामरामा कैद गर्न नपाउँदा सबैभन्दा बेचैन थिए, क्यामराम्यान रामेश्वर महर्जन ।
इलाम बजार छाडुन्जेल बाहिर झमक्क अँध्यारो भइसकेको थियो । सामान्यतया पहाडी इलाकाका सदरमुकाम र साना बजारमा रात परेपछि खाना बनाउने होटेलहरू बन्द भइसकेका हुन्छन् । त्यसको सिकार हामी पनि हुनुपर्‍यो । झन्डै ताप्लेजुङसम्म नै खाना नपाउने अवस्थामा पुगेको हाम्रो टोलीलाई पाँचथर सदरमुकाम फिदिमका स्थानीय सञ्चारकर्मी खबिन लुइँटेलले सहयोग गरे । झापाबाट झन्डै १० घण्टाको निरन्तर सडक यात्रापछि रातको १ बजे ताप्लेजुङ सदरमुकाम पुगेर पहिलो दिनको यात्रा टुंगियो ।
दोस्रो दिन 
नेपालमा सबैभन्दा बढी अलैँची उत्पादन र निर्यात गर्ने ताप्लेजुङमा पाइला–पाइलामा अलैँचीको बगैँचा देख्न सकिन्छ । ताप्लेजुङमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)ले ‘हिमालीका’ नामक परियोजना सञ्चालन गरेको छ । यहाँ स्थानीय कृषकलाई व्यावसायिकतातर्फ आकर्षित गर्न सक्रिय यो परियोजनाले व्यवस्थित गरेका बगैँचालाई समेटेर टानले ‘कञ्चनजंघा कार्डामम स्पाइस गार्डेन एग्रो ट्रेल’ विकास गरेको छ । फुङलिङमा आयोजित एक कार्यक्रममा ट्रेल, यसको नक्सा र मोबाइल एप सार्वजनिक गरेपछि हाम्रो टोली आफ्नो गन्तव्य पाथीभरातर्फ लाग्यो ।
समुद्री सतहतबाट ३७९४ मिटर उचाइमा अवस्थित पाथीभरापुग्न ताप्लेजुङ सदरमुकामबाट करिब दुई घण्टा कच्ची सडक यात्रा र त्यसपछि करिब पाँच घण्टाको पैदल यात्रा गर्नुपर्‍यो । समुद्री सतहबाट १८२० मिटर उचाइमा रहेको फुङलिङबाट ९ किलोमिटर दूरीमा रहेको सुकेटार विमानस्थलसम्म सडक कालोपत्रे छ । त्यहाँबाट उकालो लागेपछि देउराली, लालिखर्क हुँदै छातेढुंगा (२७४० मि.)सम्म कच्ची सडक सुविधा उपलब्ध छ । त्यहाँ स्थानीय व्यवसायीले जिपमा यात्रु ओसार्छन् । बाटो निकै नै अप्ठ्यारो भएकाले निजी सवारीसाधनमा आउजाउ गर्ने आँट कसैले गर्दैन । पहिलोपटक पहाडी इलाकामा कच्ची सडकको यात्रामा हुनुहुन्छ भने यस सडकले पूर्ण साहसिक यात्राको अनुभूति गराउनेछ । मौसम राम्रो भएका वेला जिपहरू सानो फेदीसम्म पुग्ने गर्छन् । नभए छातेढुंगामा पुगेर सडक यात्रा समाप्त हुन्छ । त्यसपछि पैदल हिँड्नुको विकल्प छैन ।
मुलुकको जुनसुकै भेगबाट पाथीभरादर्शनका लागि फुङलिङ पुगे पनि सबै यात्रुको दोस्रो दिनको लक्ष्य माथिल्लो फेदी (३१९० मि.) रहन्छ । किनभने तल्लो फेदी या छातेढुंगाबाट उकालो लागेपछि बाटोमा बास बस्नलायक होटेल या लज भेटिँदैन । सडक यातायात नपुगेकाले पदयात्रीको सुविधाका लागि पदमार्ग भने स्तरीय बनाइएको छ । तल्लो उकालो लागेका कोही पनि यात्रु बाटो बिराएर अलमलमा पर्नुपर्दैन । तल्लो फेदीबाट झन्डै साढे दुई घण्टाको पदयात्रापछि माथिल्लो फेदी पुगिन्छ र दोस्रो दिनको यात्रा समाप्त हुन्छ ।
माथिल्लो फेदीलाई पाथीभराको आधार शिविर मानिन्छ । थाकेर आएका यात्रुको सेवामा यहाँ दर्जनौँ होटेल सञ्चालनमा छन् । गुरुङ, नेवार, लिम्बूजस्ता आदिवासी समुदायको बाहुल्य रहेको यस भेगमा यात्रुले स्थानीय परिकारको भरपुर स्वाद लिन सक्छन् । माथिल्लो फेदीमा पुगेपछि स्थानीय तोङ्बा र भ्mवाइँखट्टे पिएर थकान मेटाउने यात्रु पर्याप्त भेटिए । यस क्षेत्रबाट मौसम अधिक चिसो हुँदै जान्छ । चिसोबाट बच्न होटेलका संरचना काठबाट बनाइएको छ । पहिले नै होटेल बुक गरेर जाने यात्रुले आधार शिविरमा वास बस्न दुःख पाउनु नपर्ने रहेछ ।

तेस्रो दिन 
बिहानको २ नबज्दै होटेलका मान्छे उठेर निद्रा खराब गरिदिए भने अचम्म नमान्दा हुने रहेछ । सामान्यतया माथिल्लो फेदीमा आएर वास बसेका सबैजसो यात्रु बिहान ३ बजेदेखि पाथीभरामन्दिरतर्फ उकालो लाग्न सुरु गरिसक्छन् । यसको पछाडि दुईवटा कारण छन् । सामान्यतया टाढा–टाढाबाट पाथीभरापुगेका यात्रु धार्मिक आस्थासँगै पाथीभरामन्दिर परिसरबाट देखिने हिमशृंखलामा पर्ने घामको पहिलो झुल्कोलाई आफ्नै आँखाअगाडि देख्न लालायित हुन्छन् । सोही अभिलाषाले बिहान ३ बजे आफ्नै टर्चलाइटको सहारामा उकालो लागिरहेका सयाैँ यात्रु र तीर्थालुको जमात भेटिन्छ ।
स्थानीय होटेल व्यवसायीहरूका अनुसार माथिल्लो फेदी (३१९० मि.)बाट पाथीभराचुचुरो पुग्न स्थानीय बासिन्दालाई बढीमा आधा घण्टा लाग्छ । तर, तीर्थालु र पदयात्रीका लागि कम्तीमा दुई घण्टा छुट्याउनैपर्छ । पदमार्ग निकै स्तरीय र सुरक्षित बनाइएको भए पनि जब उचाइ बढ्दै जान्छ, बाहिरबाट आउने मानिसलाई केही असजिलो महसुस हुन्छ । पदमार्गभर करिब १ सय मिटर बाटो पार गरेपछि हरेक स्थानमा आधुनिक पौवा–पाटीजस्ता संरचना बनाइएको छ । हतार गरी दौडेर हिँड्नुभन्दा बिस्तारै उकालो चढ्दा वातावरणसँग सजिलै घुलमिल भइने र श्वासप्रश्वास सामान्य रही यात्रा सहज हुन्छ ।
पाथीभरायात्राको सबैभन्दा उपयुक्त मौसम ‘प्री’ र ‘पोस्ट’ मनसुन हो । अर्थात्, चैतदेखि जेठसम्म र असोजदेखि मंसिरसम्म यहाँ बढी यात्रु पुग्छन् । अन्य वेला हिँउ र वर्षात्को सामना गर्नुपर्दा जोखिम बढी मोल्नुपर्ने हुन्छ । पाथीभरायात्राभर अचम्मित पार्ने एक तथ्य यहाँ बिक्री हुने रेडबुलको संख्या हो । फुङलिङबाट उकालो लागेपछि हरेक पसलमा रेडबुल भेटिन्छ । स्थानीय व्यवसायीका अनुसार कतिपय यात्रुलाई पाथीभरापुग्दा लेक लाग्ने समस्या हुन्छ । यस्ता यात्रुले रेडबुल खाँदा हाई अल्टिच्युडको सिकार हुनु पर्दैन । हरेक यात्रुको साथमा भुटेको मकै र सातु भेटिन्छ । कतिपय यात्रु र तीर्थालु सातु मुखमा दलेर उकालो लागिरहेका भेटिन्छन् । उनीहरूका अनुसार सातुले पनि हाइअल्टिच्युडको समस्या कम गर्छ ।
बिहान जति छिटो चुचुरो पुग्न सक्यो, प्रकृति र धार्मिक आस्थाको केन्द्र पाथीभरामन्दिर यात्राको चरम आनन्द उसैले उठाउन सक्छ । झुल्के घाममा आँखैअगाडि टल्किने हिमाली शृंखलाले बिहान थकाइ पूरै मेटाइदिन्छ । पाथीभरापरिसरबाट कंचनजंघा, मकालु अनि सगरमाथा हिमशृंखला प्रस्टै देखिन्छ । हिमालको मुन्तिर चट्टानी पहाडको शृंखलालाई बेसीबाट उकालो लाग्दै गरेको हुस्सु र कुइरोले छोप्नुअगाडि पुग्न सक्ने पदयात्री र तीर्थालुले अलौकिक दृश्यावलोकनसँगै आस्थाकी देवी पाथीभरामाताको दर्शन गर्न सक्छन् । पाथीभरामातालाई अनुशासन र आस्थाकी केन्द्र मानिन्छ । यहाँ जेजस्ता मान्यता स्थापित छन्, स्थानीयहरू ती आस्था र अनुशासनमा अडिग छन् । उनीहरू गर्वसाथ भन्छन्, ‘हाम्रो रक्षा पाथीभराले गर्छिन् ।’
पाथीभराको दर्शन र चुचुरोबाट ३६० डिग्रीमा देखिने हिमाली, पहाडी शृंखलाको दृश्यावलोकनबाट फुरुंङ भएको तन–मन फेदी झर्दा कुनै समस्याको अनुभूति गर्दैन । फेदी झरेर स्थानीय परिकारसहित चिया–नास्ता गरेसँगै सबै यात्रुको खाना खाने गन्तवय सदरमुकाम फुङलिङ हुन्छ । किनभने पाथीभरादर्शन र प्राकृतिक दृश्यावलोकनबाहेक यहाँ अतिरिक्त उत्पादनको विकास भइसकेको छैन । फुङलिङ झर्दा पनि तल्लो फेदी या छातेढुंगासम्म पैदल आएपछि जिप भेटिन्छन् । त्यसपछि करिब २ घण्टा कच्ची सडकको यात्रापछि सदरमुकाम फुङलिङ झर्न सकिन्छ ।
फुङलिङआसपास पछिल्लो समय पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले विविध गतिविधि सुरु भएका छन् । फुङलिङ कञ्चनजंघा ट्रेल र पाथीभराटे«लको प्रवेशद्वार हो । ताप्लेजुङमा विकासका क्रममा रहेका होमस्टेको बसाइ एक अविस्मरणीय अनुभव हुन सक्छ । फुङलिङबाट करिब ४–५ किलोमिटर सडक यात्रापछि पुगिने स्थानमा दुईवटा होमस्टे सञ्चालनमा छन् । गुरुङ समुदायको बाहुल्य रहेको गुम्बाडाँडा र शीतलडाँडामा होमस्टे खोलिएको छ । गुरुङ समुदायको स्थानीय परिकार र संस्कृतिमा रमाउँदै थकाइ मेटाउने योभन्दा उत्तम माध्यम अरू नभेटिन सक्छ । एक स्थानबाट १०–१२ घरमा सञ्चालित यी होमस्टेले दैनिक एक सय पाहुनालाई सेवा दिन सक्छन् ।
चौथो दिन 
पाथीभरादर्शन र पदयात्रा प्याकेज सञ्चालन गर्ने ट्राभल तथा टुर कम्पनीहरूले सामान्यतया ६ देखि ९ दिनसम्मका प्याकेज बिक्री गरिरहेका हुन्छन् । तर, आफ्नै सवारीसाधन र आफ्नै व्यवस्थाअनुसार जाने पर्यटक चौथो दिनमा ताप्लेजुङबाट अन्य गन्तव्यतर्फ मोडिन या घर फर्किन सक्छन् । बिहान ३ बजे शीतलडाँडा होमस्टेबाट झापा प्रस्थान गरेको हाम्रो टोली दिउँसो करिब २ बजे झापा आइसकेको थियो । सोही दिन ३ बजे राजधानी फर्किने जहाज भेटाउने गरी सकुशल झापा ल्याइपुर्‍याउने ‘गुरुजी’लाई सलाम गर्दै पाथीभरायात्रा सम्पन्न भयो।
http://www.enayapatrika.com/2017/10/29/194753/

Comments