आन्तरिक पर्यटन प्रवद्र्धनका तीन रणनीति तय

अच्युत पुरी, काठमाडौं   |   भदौ ०२, २०७४


यस वर्ष आन्तरिकतर्फ पर्यटन गन्तव्यको खोजी र विस्तार नेपाल पर्यटन बोर्डले गर्ने –
सरकारले ०७४ सालमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीनवटा रणनीति अपनाएको छ । सरकारले यस वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै गन्तव्य विकास र विस्तारका लागि रणनीति बनाएर कार्यान्वयनमा ल्याइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
०७३ लाई ‘घुमफिर वर्ष’ घोषणा गरी अभियान सञ्चालन गर्दा ब्रान्डिङ र प्रचार–प्रसार सफल भएको निष्कर्ष सरकारको छ । उक्त वर्ष देखिएको उत्साहलाई कायम राख्दै विभिन्न गन्तव्यमा आन्तरिक पर्यटक आकर्षित गर्न थप रणनीति तय गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
के–के हुन् रणनीति ? 
-धार्मिक पर्यटन प्रवद्र्धन 
-स्थापित गन्तव्यमा पर्यटन प्रवद्र्धन
-पर्यटन विविधीकरण
रणनीति कार्यान्वयनको मोडालिटी के हो ? 
मन्त्रालयका अनुसार धार्मिक पर्यटन प्रवद्र्धनका लागि ‘पशुपति दर्शन वर्ष’, ‘राम–जानकी विवाह महोत्सव’ र ‘जाऔँ है लुम्बिनी’ घोषणा गरी यस वर्ष धार्मिक गन्तव्यमा पर्यटक आकर्षित गर्ने योजना बनाइएको छ । धार्मिक गन्तव्यमा पर्यटन प्रवद्र्धनको नेतृत्व पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, बृहत्तर जनकपुर विकास परिषद्जस्ता संस्थालाई दिएर मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गर्ने योजना छ ।
स्थापित गन्तव्यमा निजी क्षेत्रको नेतृत्व 
पर्यटन पूर्वाधार, प्रचार–प्रसार र ब्रान्डिङका दृष्टिकोणबाट स्थापित भइसकेका चर्चित पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक आकर्षित गर्ने जिम्मा निजी क्षेत्रले पाउनेछ । खासगरी पोखरा, चितवन, बर्दियाजस्ता चर्चित गन्तव्यमा नेपाल पर्यटन बोर्डस“गको समन्वयमा निजी क्षेत्रले विविध कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाइएको मन्त्रालयका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
नयाँ गन्तव्य खोजीमा बोर्डको सक्रियता 
यस वर्ष आन्तरिकतर्फ पर्यटन गन्तव्यको खोजी र विस्तारमा भने नेपाल पर्यटन बोर्डले नेतृत्व गर्नेछ । खासगरी नवनिर्वाचित स्थानीय तहहरूसँगको समन्वयमा बोर्डले ती गन्तव्यको विकास र प्रवद्र्धनमा काम गर्नेछ । ठूलो सम्भावना भए पनि पूर्वाधार विकास र प्रचार–प्रसारको दृष्टिकोणबाट पछि परेका गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने वातावरण बनाउन बोर्डको नेतृत्वमा विविध गतिविधि सञ्चालन हुने मन्त्रालयले तयार पारेको योजनामा उल्लेख छ । खप्तड, रारा, पाथीभरा, सुक्लाफाँटाजस्ता देशभर छरिएर रहेका गन्तव्यको प्रवद्र्धन गरी पर्यटन विविधीकरण गर्ने योजना सरकारको छ ।
नेपाल भ्रमण वर्ष २०२० को तयारी 
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै छ । यसको तयारीका लागि आन्तरिक गन्तव्य विस्तार गरी पर्यटकीय उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता छ । १५ लाख पर्यटक भित्राउने लक्ष्यसहित आयोजना हुने नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आन्तरिक रूपमा तयारी थालिएको मन्त्रालयको भनाइ छ ।
बिदा पर्यटन कार्यान्वयनमा भने मन्त्रालय असफल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आर्थिक वर्ष ०७३-७४ मा सरकारी कर्मचारीका लागि ल्याइएको ‘बिदा पर्यटन कार्यक्रम’ कार्यान्वयन गर्न चुकेको छ । मन्त्रालयमातहतका कर्मचारी र अन्य निकायबाट केही सीमित कर्मचारीलाई रकमसहित घुमफिरमा पठाउने कार्यक्रम छ । तर, गत आवमा मन्त्रालयमा यो कार्यक्रम कार्यान्वयनमा नै आएन । मन्त्रालयले निजी तथा सार्वजनिक संस्थान र सबै कर्मचारीलाई बिदा पर्यटनमा पठाउने गरी कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव पारित नभएपछि मन्त्रालयले नियमित कार्यक्रम कार्यान्वयनमा समेत सक्रियता देखाउन सकेन ।
http://www.enayapatrika.com/2017/08/18/175744/

Comments