अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी खोल्न अब ५ अर्ब चुक्ता पुँजी

अच्युत पुरी, काठमाडौं   |   20  saun

नेपालमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गर्न ५ अर्ब रुपैयँ चुक्ता पुँजी पुर्याउनुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक हवाई उद्योग व्यवस्थापन नियमावली तयार पारी रायका लागि कानुन मन्त्रालय पठाउने तयारी गरिरहेको छ । प्रस्तावित नियमावलीमा यसअघि कायम भएको चुक्ता पुँजी बढाउने प्रावधान समेटिएको छ । नेपालमा अहिले ‘नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि, २०६६’ मार्फत संस्थाहरूको नियमन भइरहेको छ । यसलाई विस्थापित गरी मन्त्रालयले नियमावली बनाउन लागेको हो । अहिले ५० करोड चुक्ता पुँजी भएको कम्पनी वा फर्मले वायुसेवा सञ्चालन गर्न सक्ने प्रावधान छ ।
अन्तर्राष्ट्रिय वायुसेवाको वर्गीकरण 
प्रस्तावित नियमावलीले पहिलोपटक नेपालमा दर्ता हुने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको वर्गीकरण पनि गर्दै छ । यसअनुसार नेपालमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वर्गका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी रहनेछन् । ती कम्पनी स्थापनाका लागि चुक्ता पुँजी क्रमशः ५ अर्ब, ३ अर्ब र १ अर्ब ५० करोड रुपैयाँ निर्धारण गरिएको छ ।
आन्तरिक वायुसेवा खोल्न १ अर्ब चुक्ता पुँजी 
नियमावलीले आन्तरिकतर्फ सञ्चालन हुने वायुसेवा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने प्रावधान समेटेको छ । अहिले १५ करोड चुक्ता पुँजी भएको कम्पनीले आन्तरिक वायुसेवा सञ्चालन गर्न सक्छ ।
किन बढाइँदै छ चुक्ता पुँजी ? 
वायुसेवा सञ्चालनको अनुमति लिने र उडान नगरी लाइसेन्स होल्ड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न चुक्ता पुँजी बढाउन लागिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसले एकातर्फ बजारमा बलियो बनाउँदै शक्तिशाली कम्पनी आउनेछन् भने अहिले सञ्चालनमा रहेका कम्पनीहरूलाई पनि मर्जरमा जान अभिप्रेरित गर्नेछ ।
अहिले सञ्चालनमा रहेका कम्पनीको हकमा के हुन्छ? 
प्रस्तावित नियमावली अहिले सञ्चालनमा रहेका कम्पनीको चुक्ता पुँजी वृद्धिका सन्दर्भमा भने मौन छ । यस विषयलाई सरोकारवालासँगको छलफलपछि निश्चित अवधि तोकेर कार्यान्वयनमा ल्याइने एक उच्च अधिकारीले बताए । ‘नियमावलीका प्रावधान नयाँ–पुराना सबै कम्पनीका लागि हो,’ उनले भने, ‘सरोकारवालासँग छलफल गरी पुँजी वृद्धिका लागि निश्चित अवधि तोकिन्छ ।’
http://www.enayapatrika.com/2017/08/04/170622/

Comments