आन्तरिक सेड्युल उडानमा श्री एयरलाइन्स

नयाँ पत्रिका, काठमाडौं   |  27 saun 
नेपालको आन्तरिक सेड्युल उडानमा शुक्रबारदेखि श्री एयरलाइन्सले सेवा सुरु गर्दै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार एयर अपरेटिङ सर्टिफिकेट (एओसी) पाएको कम्पनीले शुक्रबारदेखि नै व्यापारिक उडान सुरु गर्न लागेको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए । कम्पनीले शुक्रबार भैरहवा र नेपालगन्जबाट सेवा सुरु गर्ने उनले बताए ।
११ महिनापछि सञ्चालन अनुमति 
सेड्युल उडानका लागि नयाँ भए पनि श्री एयरलाइन्स नेपालको हवाई सेवाका लागि भने नौलो कम्पनी होइन । सन् १९९९ मा स्थापना भएको कम्पनी हेलिकोप्टर सेवातर्फ सफल सेवाप्रदायकमध्ये एक हो । कम्पनीले हेलिकोप्टरसँगै तत्कालका लागि आन्तरिक र दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय उडानमा जाने योजना यसअघि नै सार्वजनिक गरेको थियो । सोहीबमोजिम पर्यटन मन्त्रालयबाट आन्तरिकतर्फ सेड्युल गर्ने प्रक्रिया सुरु गरेको ११ महिनापछि बिहीबार सञ्चालन अनुमति प्राप्त भएको मानन्धरले बताए ।
४ महिनादेखि थन्किएका जहाज उड्ने 
श्री एयरलाइन्सले चैत अन्तिम साता क्यानडामा निर्मित जहाज बम्बार्डियर सिआरजे–२०० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो । त्यसको एक महिनाभित्रै एओसी पाउने अपेक्षा गरेको कम्पनीले प्राधिकरणबाट सञ्चालन अनुमति पाउन भने ४ महिना कुरेको छ । आन्तरिक उडानका लागि श्रीले ३ वटा (दुईवटा सिआरजे–२०० र एउटा सिआरजे–७००) जहाज भित्राइसकेको छ । हेलिकोप्टर उडानमा भने श्रीसँग ८ वटा एयरक्राफ्ट छन् ।
ट्रंक रुटमा उड्नेछन् श्रीका जहाज 
श्री एयरलाइन्सले पहिलो चरणमा ल्याइएका तीन जहाजबाट पाँचवटा ट्रंक रुट (ठूला विमानस्थल) र माउन्टेन फ्लाइट गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा श्री एयरलाइन्सको जहाजले सेवा दिनेछन् ।
प्रतिस्पर्धी कम्पनीलाई चुनौती 
आन्तरिक सेड्युल उडानमा अहिले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमसहित ८ वटा कम्पनीले सेवा दिइरहेका छन् । त्यसमध्ये अधिकांश कम्पनी ट्रंकरुटमै प्रतिस्पर्धा गरिरहेका छन् । श्री एयरलाइन्सले सुरुमा अन्य वायुसेवासरह भाडामा उडाउने योजना बनाएको मानन्धरले जानकारी दिए । उनका अनुसार श्रीका सबै जहाजले तोकिएका गन्तव्यमा उडान प्रारम्भ गर्न थालेपछि ‘प्रमोसनल प्याकेज’ ल्याउने तयारी छ
http://www.enayapatrika.com/2017/08/11/173297/

Comments