अच्युत पुरी, काठमाडौं | 23 aun
स्थानीय तहले दीर्घकालीन गुरुयोजनामा आधारित पूर्वाधार विकास गर्नुपर्ने
परिवर्तित राजनीतिक व्यवस्थास“गै स्थानीय तहमा गठन भएका सरकारहरूले अब दीर्घकालीन गुरुयोजनामा आधारित रही सहरी पूर्वाधार विकास गर्नुपर्ने भएको छ । सहरी विकास मन्त्रालयलले कम्तीमा २० वर्षको अवधिमा हुने जनसंख्या वृद्धिको आँकलन गरी दीर्घकालीन योजना बनाउने प्रक्रिया सुरु गरेको छ ।
स्थानीय तहमा गठन हुने सरकारहरूले अब सोही दीर्घकालीन योजनालाई आधार मानेर व्यवस्थित, सुरक्षित आवास तथा एकीकृत सहरी विकासका योजना बनाउनुपर्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. रमेशप्रसाद सिंहले बताए । ‘स्थानीय तहमा विभिन्न योजना निर्माण र विकास कार्यक्रमको अभियान प्रारम्भ भइसकेको छ,’ उनले भने ।
मन्त्रिपरिषद्को स्वीकृति
मन्त्रालयको यस योजनालाई २९ असारको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । त्यसपछि मन्त्रालयले पहिलो चरणमा विभिन्न ९० नगरपालिकाको ‘एकीकृत आवास तथा सहरी विकास योजना’ तयार गर्न प्रस्तावसमेत आह्वान गरिसकेको छ । दीर्घकालीन योजनाको प्रस्ताव आउनुअघि नै मन्त्रालयमातहतको सहरी विकास तथा भवन निर्माण विभागले ७० नगरपालिकाको एकीकृत सहरी विकास योजना निर्माणको प्रक्रिया थालेको थियो । त्यसबाहेक विभिन्न नगरपालिकामा स्मार्ट सिटी, एक सहर एक पहिचान, नया“ सहर विकास कार्यक्रम पनि अहिले कार्यान्वयनको चरणमा छन् । यी कार्यक्रम स्थानीय तहस“गको समन्वयमा अगाडि बढाउने नीति मन्त्रालयको छ ।
किन आवश्यक दीर्घकालीन योजना ?
तत्कालीन आवश्यकतालाई मात्र हेरेर स्थानीय तहले आवास र सहरी विकास योजना बनाउ“दा जमिनको छनोट र उपयोग सही रूपमा हुन नसक्ने मन्त्रालयको निष्कर्ष छ । यसरी हुने विकासले जग्गा विकास, यातायात, खानेपानी, ढल निकास, फोहोरमैला व्यवस्थापन र सरसफाइ, विद्युत्, सञ्चारलगायत आधारभूत सुविधा दिगो हुन नसक्ने मन्त्रालयले उल्लेख गरेको छ । यस अवस्थामा सुविधा थप गर्दा प्राविधिक दृष्टिले समेत समस्या आउने कारणले स्थानीय तहको एकीकृत विकासमा बाधा पुग्ने भएकाले दीर्घकालीन योजना आवश्यक रहेको मन्त्रालयको भनाइ छ । योजना तर्जुमा र कार्यान्वयनका लागि सहरी विकास तथा भवन निर्माण विभागमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।
गुरुयोजनाको दीर्घकालीन मार्गदर्शन
-तत्कालीन आवश्यकभन्दा माथि उठेर कम्तीमा २० वर्षमा स्थानीय तहमा हुने सक्ने जनसंख्या वृद्धिको आँकलन गरी एकीकृत गुरुयोजना योजना बनाएर कार्यान्वयनमा जाने ।
-गुरुयोजनामा जग्गा विकास, यातायात, खानेपानी, ढल निकास, फोहोरमैला व्यवस्थापन र सरसफाइ, विद्युत्, सञ्चारलगायत आधारभूत सुविधा एकीकृत रूपमा समेटेर व्यवस्थित आवास र सहरी विकास गुरुयोजना बनाउने ।
-स्थानीय तहले छिमेकी स्थानीय तहसँगको समन्वयविना समृद्धि हासिल गर्न नसक्ने भएकाले समन्वयात्मक रूपमा जान सक्ने अवधारणा कार्यान्वयनमा ल्याउने ।
http://www.enayapatrika.com/2017/08/07/171671/
Comments
Post a Comment