विदेशी पाइलट विस्थापनको योजना

अच्युत पुरी, काठमाडौं   |   साउन २५, २०७४

हेलिकोप्टर कम्पनीले नै जब ग्यारेन्टीसहित पाइलट तालिममा पठाउने
स्वदेशी पाइलटको अभाव परिपूर्ति गर्न निजी वायुसेवा सञ्चालकले रोजगारीको प्रत्याभूति (जब ग्यारेन्टी)सहित नेपाली विद्यार्थीलाई हेलिकोप्टर पाइलट तालिममा पठाउने भएका छन् । पछिल्लो समय नेपालमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी र जहाज संख्या बढे पनि हेलिकोप्टर उडाउने नेपाली पाइलटको संख्या भने न्यून छ । सोहीकारण प्रत्येक पर्यटकीय सिजनमा करिब एक दर्जन विदेशी पाइलटले महँगो तलबभत्तासहित नेपालमा रोजगारी पाउने गरेका छन् । महँगो तलबभत्ता दिएर विदेशी पाइलट ल्याउनुभन्दा मुलुकभित्रबाटै नया“ पाइलट उत्पादन गर्ने उद्देश्यले वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)बाट नेपाली युवालाई पाइलट तालिममा पठाउन लागिएको संघका सचिव तथा मनाङ एयरका कर्पोरेट चिफ राजु न्यौपानेले जानकारी दिए ।
१० पाइलटलाई रोजगारीको प्रत्याभूति 
आयोनमा आबद्ध कम्पनीहरूले पहिलो चरणमा होलिकोप्टर पाइलट कोर्स पूरा गर्ने १० जना पाइलटलाई रोजगारी दिनेछन् । त्यसका लागि इच्छुक नेपाली युवाबाट ५ भदौसम्म आइपुग्ने गरी आयोनले आवेदन मागेको छ । स्वीकृतप्राप्त शैक्षिक संस्थाबाट भौतिक विज्ञान र गणित विषय लिई १० जोड २ उत्तीर्ण युवाले आवेदन दिन सक्ने सचिव न्यौपानेले बताए । २३ वर्ष उमेर ननाघेको युवालाई मात्र तालिममा पठाउने योजना आयोनको छ । १० पाइलटलाई रोजगारीको प्रत्याभूति गर्ने कम्पनीमा सिम्रिक एयर, अल्टिच्युड एयर, एयर डाइनेस्टी, फिस्टेल एयर रहेका छन् ।
खर्च विद्यार्थी स्वयंको 
सचिव न्यौपानेका अनुसार पाइलट कोर्स पूरा गर्दा स्वदेश तथा विदेशमा लाग्ने खर्च भने विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ । यसअघि एकातिर विद्यार्थीले आफूखुसी पाइलट कोर्स पूरा गरेर आए पनि बेरोजगार बस्नुपर्ने अवस्था थियो भने अर्कोतर्फ स्वदेशी कम्पनीको आवश्यकताअनुसार फ्रेस पाइलट उपलब्ध नहुँदा विदेशी पाइलट ल्याउनुपर्ने बाध्यता थियो । नयाँ प्रक्रियाबाट पाइलट कोर्स गर्ने विद्यार्थीले भने जागिरका लागि चिन्ता गर्नुनपर्ने आयोनको प्रतिबद्धता छ । पाइलट अभाव र बेरोजगारीबीचको खाडल मेट्न आयोनले पहिलोपटक परीक्षणका रूपमा यस्तो योजना अगाडि सारेको हो ।
८ महिने तालिममा ६० लाख खर्च 
सामान्यतया नेपालबाट फ्रेस विद्यार्थीले ८ महिने तालिम अवधिमा पाइलट कोर्स पूरा गर्छन् । त्यस अवधिभित्र करिब ६० लाख खर्च हुने आयोनको भनाइ छ । नेपालबाट अमेरिका र फिलिपिन्समा सबैभन्दा धेरै विद्यार्थी पाइलट तालिम गर्न जान्छन् । ८ महिने तालिम पूरा गरी स्वदेश फर्किएपछि करिब ३–४ महिना नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रदान गर्ने लाइसेन्सका लागि खर्च गर्नुपर्ने हुन्छ । लाइसेन्सप्राप्त विद्यार्थीले रोजगारीको ग्यारेन्टी गरेका सम्बन्धित कम्पनीमा जागिर पाउनेछन् ।
त्यसपछि उनीहरूका लागि ६ घन्टाको इन्डोर्समेन्ट तालिम (यात्रुविना जहाज उडाएर दिइने तालिम)को सुविधा सम्बन्धित कम्पनीले नै दिनेछ । उक्त तालिममा उत्तीर्ण पाइलटले ‘ट्रेनी पाइलट’का रूपमा सिनियर पाइलटसँग ६ सय घन्टा व्यावसायिक उडान गर्नुपर्ने कानुनी प्रावधान छ ।
यो अवधि पूरा गर्न करिब २ वर्ष लाग्छ । यसरी पाइलट पढ्न गएको करिब तीन वर्षमा एक फ्रेस युवा पूर्ण पाइलटका रूपमा तयार हुन्छन् । पाइलट कोर्सबाहेक इन्डोर्समेन्ट तालिममा लाग्ने खर्च कम्पनीले नै व्यहोर्नेछ भने जुनियर पाइलटका रूपमा उनीहरूलाई दिने पारिश्रमिक पनि कम्पनीबाटै प्राप्त हुन्छ ।
दुई हेलिकोप्टर उडाउन ५ जना पाइलट आवश्यक 
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधानअनुसार नेपालमा दैनिक एक हेलिकोप्टर उडाउन २.५ जना अर्थात् दुई हेलिकोप्टर उडाउन ५ जना पाइलट आवश्यक पर्छ । तर, पाइलट अभावले अधिकांश निजी कम्पनीले यो प्रावधान पूरा गरेका छैनन् । आयोनका अनुसार नेपालमा करिब दुई दर्जन हेलिकोप्टर सञ्चालनमा छन् । ती हेलिकोप्टर चलाउन त्यति नै संख्यामा सिनियर पाइलट तयार भएका छन् भने एक दर्जन ट्रेनी पाइलट ६ सय घन्टा उडान अवधिका लागि खटिएका छन् ।
नेपाली कम्पनीले पर्यटकीय मौसममा हरेक वर्ष एक दर्जनभन्दा बढी विदेशी पाइलटलाई रोजगारी दिइरहेका छन् । मनाङ एयरका कर्पोरेट चिफ राजु न्यौपानेका अनुसार अफ सिजनमा पनि विभिन्न कम्पनीस“ग आधा दर्जन विदेशी पाइलट आबद्ध हुन्छन् ।
http://www.enayapatrika.com/2017/08/09/172513/

Comments