घट्दै छ विप्रेषण आप्रवाह : ११ महिनामा साढे ६ खर्ब विप्रेषण

अच्युत पुरी, काठमाडौं   |  8 saun 

विदेशमा काम गर्ने नेपालीले आर्थिक वर्ष ०७३-७४ को अघिल्लो ११ महिनामा करिब साढे ६ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विप्रेषण (वर्कर्स रेमिट्यान्स)का रूपमा औपचारिक प्रणालीमार्फत जेठ महिनासम्म ६ खर्ब ३३ अर्ब ४१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यो रकम अघिल्लो आव ०७२-७३ को सोही अवधिको तुलनामा केवल ५.८ प्रतिशतले बढी हो । आव ०७२-७३ को ११ महिनाको अवधिमा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ नेपाल भित्रिएको थियो । तर, आव ०७१-७२ को अघिल्लो ११ महिनाको तुलनामा भने ०७२-७३ को सोही अवधिमा ८.६ प्रतिशले वृद्धि भएको थियो ।
पछिल्ला दिनहरूमा रेमिट्यान्सका रूपमा भित्रिने कुल रकम सामान्य मात्र वृद्धि भएको देखिन्छ । एकातर्फ विदेश जाने कामदारको संख्या कम हुँदै जानु र अर्कोतर्फ दक्षिण कोरिया तथा युनाइटेड अरब इमिरेट्स (युएई)जस्ता मुलुकबाट अधिकांश कामदारले पठाउने रकम औपचारिक प्रणालीबाट भित्रिन नसक्दा रेमिट्यान्स उल्लेख्य बढ्न नसकेको सरकारी अधिकारीहरू स्वीकार गर्छन् ।
युएई, दक्षिण कोरिया, जापान जाने नेपाली कामदारको वार्षिक आम्दानी अन्य मुलुकका कामदारको तुलनामा बढी छ । पछिल्लो समय यी देश जाने कामदारको संख्या पनि निरन्तर वृद्धि भइरहेको छ । तर, रेमिट्यान्स रकम वृद्धि हुन नसक्नुमा अनौपचारिक प्रणालीबाट भित्रिने रकमको हिस्सा बढी हुने कारण मुख्य मानिन्छ ।
कोरिया र युएईको रेमिट्यान्स अवैधानिक प्रणालीबाट भित्रिन्छ 
नेपालमा कोरिया र युएईबाट भित्रिने अधिकांश रेमिट्यान्स हुन्डीलगायत अवैधानिक प्रणालीबाट भित्रिने गरेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कोरियाबाट करिब एक प्रतिशत र युएईबाट पनि थोरै मात्र रेमिट्यान्स औपचारिक प्रणाली (बैंक, रेमिट्यान्स कम्पनी)बाट भित्रिने गरेको छ । कोरियामा अहिले करिब ४० हजार नेपाली कामदार कार्यरत छन् । उनीहरूले मासिक न्यूनतम १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्छन् ।
मलेसिया तथा खाडीका अन्य देशबाट भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा भने औपचारिक प्रणालीबाट आउँछ । दुबईबाट सुन, विद्युतीय सामग्री, तयारी गहना तथा अन्य भौतिक सामग्री भित्रिन्छन् ।
करिब साढे ६ लाख श्रमस्वीकृति 
आव ०७३-७४ मा करिब साढे ६ लाख श्रमस्वीकृति जारी भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव ०७३-७४ को अघिल्लो ११ महिनामा ५ लाख ९६ हजारले श्रमस्वीकृति लिएका थिए । विभागका सूचना अधिकृत मोहन अधिकारीका अनुसार यो संख्या एकपटक नेपाल आई पुनः श्रमस्वीकृति लिने कामदारलाई समेत जोड्दा हो । पहिलोपटक श्रमस्वीकृति लिने कामदारको संख्या भने उल्लेख्य बढ्न सकेको छैन ।
श्रमस्वीकृति लिनेमध्ये पनि कति कामदार विदेश जान्छन् र वार्षिक कति नेपाल फर्कन्छन् यकिन तथ्यांक नेपाल सरकारसँग छैन । सोहीकारण अहिले विदेशमा कति कामदार छन् भन्नेसमेत वास्तविक तथ्यांक आउन सकेको छैन । पछिल्लो समय श्रम तथा रोजगार मन्त्रालयले अध्यागमन विभागसँगको समन्वयमा विदेशबाट फर्कने कामदारको लगत राख्ने तयारी थालेको छ ।
http://www.enayapatrika.com/2017/07/23/167237/

Comments