राष्ट्रिय गौरवका आयोजना खर्च दुईतिहाइ, प्रगति दयनीय

अच्युत पुरी, काठमाडौं 7 saun 
आर्थिक वर्ष २०७३-०७४ मा राष्ट्रिय गौरवका आयोजनाले करिब दुईतिहाइ बजेट खर्च गरेका छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याइएको बजेटमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म ७०.६९ प्रतिशत रकम खर्च भएको छ । तर, उक्त आवमा भएको राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति अझै आइसकेको छैन । बजेट खर्च उल्लेख्य भएको देखिएका अधिकांश आयोजना अझै कागजी प्रक्रियाकै चरणमा छन् । निर्माणको चरणमा प्रवेश गरेका आयोजनाको कामको गतिसमेत सुस्त छ ।
त्यसकारण ती आयोजनामा भएको खर्च प्रशासनिक काम तथा प्रारम्भिक चरणमा हुने सामान्य गतिविधिमा केन्द्रित हुने गरेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । ‘राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त आयोजनाले गति पाउनुको साटो फर्निचर, मिल–मेसिनरी, स्टोरका सामान, यन्त्र तथा भ्रमणजस्ता गतिविधिमार्फत बजेट खर्च गर्ने प्रवृत्ति बढेको छ,’ अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी भन्छन्, ‘हामीले चाहेको बजेट खर्च यस्तो प्रकृतिको होइन ।’
खर्चको गुणस्तर कमजोर 
अर्थ मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयबाट परियोजनामा भएको खर्च नतिजामुखीभन्दा परिमाणमा केन्द्रित छ । ‘जुन खर्च हामीले निरुत्साहित गर्न चाहेका छौँ, त्यस्ता खर्च बढेको बढ्यै छ, तर बढाउन खोजेको क्षेत्रमा खर्च बढाउन सकिएको छैन,’ नेपाल सरकारका सचिव“गको छलफलमा बुधबार सचिव सुवेदीले भने, ‘यसमा हामी सबैको कमजोरी छ ।’
कार्यान्वयन विधि नै नभएका आयोजनालाई किन बजेट ?
अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय गौरवका आयोजनामध्ये कतिपय आयोजना कार्यान्वयनको विधिसमेत तय भएको छैन । यी आयोजनाको पुँजीगत खर्च कम छ । काठमाडौं–तराई मधेस द्रुतमार्ग, बुढीगण्डकी जलविद्युत् आयोजना, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलजस्ता परियोजनामा कार्यान्वयन विधि निर्धारण हुन नसक्दा पुँजीगत खर्च नभएको हो ।
अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय गौरव घोषणा गरेका आयोजना कार्यान्वयनमा राज्यका निकायलाई घचघच्याउनसमेत बजेट विनियोजन गरिएको हुन्छ । ‘मोडालिटी नै नबने पनि बजेट छुट्याइएको छ भने कार्यान्वयन गर्नुपर्छ, काम गर्नुपर्छ भन्ने दबाब कार्यान्वयन गर्ने निकायहरूमा पर्छ,’ सचिव सुवेदीले भने, ‘जतिसक्दो छिटो काम सुरु गर्न सक्यो, ती आयोजना अघि बढ्न थाल्ने भएकाले यसो गरिएको हो ।’
ठूला आयोजनाको रकमसमेत रकमान्तर 
मन्त्रालयका अनुसार कतिपय ठूला आयोजनामा विनियोजित रकम खर्च गर्न नसकेर रकमान्तर गरिएको छ । यसरी ठूला आयोजनामा छुट्याइएको बजेट अन्यत्र खर्च गर्दा बजेट अनुशासन कायम गर्न नसकिएको मन्त्रालयले उल्लेख गरेको छ । यसका साथै कतिपय आयोजनामा जग्गा प्राप्ति, बनको स्वीकृति र निर्माण सामग्री आपूर्तिका समस्या यस वर्ष पनि कायम रहे । जसले गर्दा राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगतिले गति लिन सकेन ।
http://www.enayapatrika.com/2017/07/22/166943/

Comments