हवाई सुरक्षामा सफलता र अबको चुनौती

नयाँ पत्रिका, काठमाडौं   |   6 saun 

राजन पोखरेल
उपमहानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरण
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अन्ततः नेपालमाथि लागेको गम्भीर सुरक्षा चासो औपचारिक रूपमा हटाएको छ । आइकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको बिहीबार बसेको बैठकले नेपाललाई यस्तो सूचीबाट हटाएपछि नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश पुनः एकपटक संसारभर सञ्चारित भएको छ । सन् २०१३ मा नेपाललाई आइकाओले गम्भीर सुरक्षा चासोको लिस्टमा राखेपछि यसलाई हटाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण निरन्तर सक्रिय थिए । नेपालका तर्फबाट भएका प्रयासमा प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले अन्तर्राष्ट्रिय विज्ञविशेषज्ञको साथमा रहेर काम गरेका थिए । एसएससी लिस्टबाट शुक्रबार नेपाल हटेको घोषणा गर्न प्राधिकरणमा आयोजित कार्यक्रममा हवाई सुरक्षाको विद्यमान अवस्था, भावी चुनौती तथा योजनालाई पोखरेलले यसरी बताए :
हवाई सुरक्षा विश्वव्यापी चासो 
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले आफ्ना सदस्य राष्ट्रहरूको सुरक्षा अवस्थिति ठीक छ–छैन भन्नेबारे मूल्यांकन र आँकलन गर्न विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षण अडिट गर्न थालिएको हो । सन् १९९९ देखि आइकाआले यो कार्यक्रम प्रारम्भ गरेको हो । हवाई उडानमा कुनै पनि एक मुलुकको सुरक्षाको अवस्थाले विश्वव्यापी रूपमा प्रभाव पार्छ । हवाई सुरक्षा कमजोर भएको अवस्थामा त्यस्ता मुलुकका वायुसेवा कम्पनी, त्यहाँका नियामक निकाय र ती मुलुकबाट बाहिर जाने र भित्रने वायुसेवा कम्पनीको सुरक्षामा पनि असर पुग्ने मान्यताबमोजिम आइकाओले विश्वव्यापी रूपमा सुरक्षा अभिवृद्धिमा काम थालेको हो । आइकाओमा अहिले १ सय ९१ सदस्य राष्ट्र छन् । ती मुलुकमा आइकाओबाट जारी गरिएका मापदण्ड, प्रक्रिया तथा विधि–विधान परिपालन भए–नभएको निश्चित गर्न नियमित अडिट हुने गरेको छ ।
गम्भीर सुरक्षा चासो र सहयोग 
कुनै पनि मुलुकका नियामक निकाय तथा सेवाप्रदायक कम्पनीले मापदण्ड पूरा नगरेको पाएमा आइकाओले गम्भीर सुरक्षा चासो (एसएससी) लिस्टमा राख्ने गर्छ । यसको मतलव तिम्रो देशको हवाई सुरक्षा सन्तोषजनक छैन भनेर सचेत गराइएको हो । यसरी एसएससी लिस्टमा राखिएका मुलुकको संकेत आइकाओको वेबसाइटमा रातो झन्डा राखेर पनि जनाइएको हुन्छ । यसरी रातो झन्डा राखी त्यस्ता मुलुकलाई चेतावनी दिइसकेपछि पनि आइकाओ चुप लागेर भने बस्दैन । त्यसबाट पार लगाउन सम्बन्धित मुलुकलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउँछ । सन् २०१३ मा नेपाल पनि एसएससी लिस्टमा परेपछि यसबाट मुलुकलाई माथि उकास्न आइकाओले निरन्तर सहयोग जारी राखेको थियो ।
आइकाओका चासो सम्बोधन 
आइकाओले मूलतः ८ क्षेत्रमा केन्द्रित रहेर सुरक्षा अडिट सञ्चालन गर्ने गरेको छ । कानुन, नागरिक उड्डयन संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, नेभिगेसन सेवा र विमानस्थल सञ्चालन गरी ८ वटा क्षेत्रमा आइकाओका मापदण्ड पालना भए–नभएकोबारे अडिट तथा अध्ययन–मूल्यांकन हुने गर्छ । नेपालमा पहिलोपटक सन् २००९ मा सुरक्षा अडिट भएको थियो । त्यसवेला वायुसेवा सञ्चालन अनुमतिपत्र जारी गर्ने विषयमा आइकाओको गम्भीर चासो थियो । सोही अडिटको निरन्तरताका लागि सन् २०१३ मा अर्को टोली नेपाल आएको हो । पछिल्लो समय ४ देखि ११ जुलाईसम्म नेपाल आएको टोलीको अध्ययनले गरेको अडिटका आधारमा नेपालले विश्वव्यापी औसत पार गरेर एसएससी लिस्टबाट माथि उठ्न सफल भएको छ । यसको मतलब नेपालले अन्तर्राष्ट्रिय नियामक निकायका चासो निरन्तर सम्बोधन गर्दै लगेको छ ।
संगठनमा बाँकी छन् कमजोरी 
आइकाओले गम्भीर सुरक्षा चासोमा राखेका क्षेत्र र त्यसमा देखिएका कमजोरी सुधार गर्दै लैजाने सन्दर्भमा धेरै सुधार देखिए पनि अझै चुनौती समाप्त भइसकेका छैनन् । खासगरी नागरिक उड्डयन संगठनको क्षेत्रमा विश्वव्यापी औसत ६० प्रतिशतमध्ये हामी अहिले ५० प्रतिशत मात्र कार्यान्वयनको अवस्थामा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अहिलेकै संरचनाबाट यो कार्यान्वयन प्रतिशत सुधार हुने सम्भावना छैन । किनकि अहिले देखिएको ५० प्रतिशत सुधार प्राधिकरणको जिम्मेवारीअन्तर्गतको हो । बाँकी क्षेत्र सुधारका लागि प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय गरी छुट्याउनुपर्ने हुन्छ । दुर्घटना जा“चसम्बन्धी छुट्टै निकायको आवश्यकता छ । हवाई सुरक्षामा जल तथा मौसम विभागको कामले पनि प्रभाव पर्ने भएकाले संगठनका विषयमा अझै धेरै चुनौती कायम छन् ।
आइकाओको विशेषज्ञ सेवा 
नेपाल र आइकाओबीच अप्रिल २०१५ मा प्राविधिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार आइकाओले गम्भीर सुरक्षा चासोबाट नेपाललाई पार लगाउन विशेषज्ञ सेवा दिएको थियो । आइकाओले तीनवटा छुट्टाछुट्टै क्षेत्रमा विशेषज्ञ खटाएर परामर्श दिने काम गरेको थियो । आइकाओबाट खटिएका विज्ञ नेपालमा आफ्नो जिम्मेवारी पूरा गरी फर्किएका छन् । उनीहरूको प्रयास, सहयोग र नेपालमा खटिएका कर्मचारी, वायुसेवा कम्पनी र सम्पूर्ण सरोकारवालाको संयुक्त प्रयासको फलस्वरूप आज नेपाल गम्भीर सुरक्षा चासोको लिस्टबाट बाहिरिएको छ । यसअघि नेपालसहित केवल ७ मुलुक मात्र त्यो लिस्टमा सूचीकृत थिए ।
अझ बढी काम गर्नुपर्ने चुनौती
एसएससी सकियो, अब हाम्रो काम सकियो भनेर ढुक्कसाथ बस्ने अवस्था अब नेपाललाई छैन । आज हामी विश्वव्यापी स्तरबाट केही माथि उठेका छौँ । भोलि विश्वव्यापी स्तर अझ माथिसमेत उठ्न सक्छ । अब हामीले सुरक्षाका विषयमा सम्झौता गर्ने कुनै स्थान नै छैन । हामी कहीँ थोरै मात्र चुक्यौँ भने नेपालको स्तर पुनः तल झर्न सक्छ । अब नेपालले यसमा चनाखो भएर निरन्तर सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ । हामीलाई अझ बढी काम गर्नुपर्ने र खटिनुपर्ने चुनौती थपिएको छ । आज बढेको स्तर यही अवस्थामा रहिरहन्छ भन्ने हुँदैन । यस अवस्थामा नियामक निकाय, सेवाप्रदायक कम्पनी र अन्य सरोकारवालाको जिम्मेवारी बढेको छ ।
उपलब्धिको दिगो रक्षा 
हामीले गम्भीर सुरक्षा चासोको सूचीभित्र रहँदा धेरै गुमाएका छौँ । नेपाल अहिले पनि युरोपेली युनियनको हवाई सुरक्षा लिस्टमा छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली वायुसेवाले धेरै प्रश्नको सामना गर्नुपरेको छ । त्यसकारण आज जे उपलब्धि प्राप्त भएको छ, यसको दिगो रक्षाका लागि काम गर्नुपर्ने हुन्छ । आइकाओले पनि यस सम्बन्धमा हामीलाई सचेत गराएको छ ।
अब स्टेट सेफ्टी प्रोग्राम कार्यान्वयन 
एसएससी लिस्टबाट दीर्घकालसम्म बाहिरै रहने वातावरण निर्माणका लागि अब राष्ट्रिय स्तरमा सुरक्षा अभिवृद्धिका विविध योजना बनाएर कार्यान्वयनमा जानुपर्ने हुन्छ । अब हामीले तत्काल स्टेट सेफ्टी प्रोग्राम (एसएसपी) बनाएर त्यसको कार्यान्वयन गर्नुपर्छ । यो नेपालका लागि तत्कालको ठूलो चुनौती हो । संगठनका क्षेत्रमा नेपाल कमजोर छ । अब राज्य नै यसका लागि गम्भीर हुनुपर्छ । हामी अहिले कानुनी सुधारको क्षेत्रमा छौँ । अगाडि बढेका कामलाई निष्कर्षमा पुर्याउन दबाब सिर्जना भएको छ ।
हवाई सुरक्षा समाप्त हुने विषय नै होइन 
हवाई सुरक्षा प्रत्येक दिन नयाँ–नयाँ चुनौती लिएर आउने गर्छ । यसमा सधैँभरि सिकाइ हुन्छ । कुनै एक नतिजा प्राप्त भएपछि सुरक्षित भयो भनेर ढुक्क हुने अवस्था यसमा रहँदैन । नियामक निकाय सक्षम हुनुपर्यो, सेवाप्रदायकले सुरक्षा अभिवृद्धि व्यवहारमा देखाउन सक्नुप¥यो । यसै महिनाको अडिटका लागि नेपाल रहँदा विशेषज्ञले दुई ठूला नेपाली वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको स्थलगत भ्रमणसमेत गरेका थिए ।
सहकार्यको खाँचो 
कुनै पनि मुलुकको हवाई सुरक्षा अभिवृद्धिका सन्दर्भमा सहकार्य महत्वपूर्ण हुन्छ । एक्लाएक्लै हि“डेर कहीँ पनि पुगिँदैन । यसको एउटा उदाहरण थाइल्यान्ड हो । थाई एयर विश्वस्तरीय कम्पनी हो । दुनियाँभर उड्ने यो कम्पनीलाई संसारका सबैले पत्याएका छन् । त्यहाँ विश्वस्तरीय अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । त्यहाँ पूर्वाधार र जनशक्ति विकासमा खास समस्या छैन । तर, पनि थाइल्यान्ड एसएससी पर्यो । यसो हुनुको पछाडि त्यहाँको नागरिक उड्डयन संगठन कमजोर हुनु हो । जसको परिणाम त्यहाँको हवाई उद्योगले भोग्नुपर्यो । अहिले थाइल्यान्डले आफ्नो कमजोरीमा सुधार गरेको छ । हामी पनि सबै सरोकारवाला निकाय सहकार्य नगरेसम्म अन्तर्राष्ट्रिय निकायले उठाउने प्रश्नमा बलियो रूपमा उत्रिन सक्दैनौँ ।
http://www.enayapatrika.com/2017/07/22/166968/

Comments