नयाँ पत्रिका , काठमाडौं | असार २१, २०७४

नेपाल वायुसेवा सञ्चालक संघ (आयोन)ले बुधबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम १ सय ८१ रुपैयाँसम्म भाडा घटायो
नेपाल आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य कटौती गरेसँगै आन्तरिक उडानतर्फ हवाई यात्रामा लाग्ने भाडा सस्तिएको छ । नेपाल वायुसेवा सञ्चालक संघ (आयोन)ले बुधबारदेखि लागू हुने गरी विभिन्न गन्तव्यमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम १ सय ८१ रुपैयाँसम्म घटाएको हो ।
आयोनका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाका अनुसार हवाई इन्धनमा न्यूनतम प्रतिलिटर ४ रुपैयाँ थपघट हुनासाथ वायुसेवा कम्पनीले हवाई भाडा परिवर्तन गर्दै आएका छन् । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ कटौती गरेको थियो । अहिले हवाई इन्धनको आन्तरिकतर्फ मूल्य प्रतिलिटर ८२ रुपैयाँ कायम भएको छ ।
हवाई भाडा तय गर्दा दुई प्रकारको मूल्य जोडिन्छ । एउटा हवाई भाडा र अर्को फ्युल सरचार्ज । इन्धनको मूल्यमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकले त्यही अनुपातमा सरचार्ज थपघट गर्न सक्छन् । सरचार्ज सबै कम्पनीमा समान रूपमा घट्ने भए पनि भाडा रकम भने कम्पनी स्वयंले निर्धारण गर्ने भएकाले अधिकतम या न्यूनतम भाडा कम्पनीपिच्छे केही तलमाथि हुने गर्छ ।

http://www.enayapatrika.com/2017/07/05/162095/
Comments
Post a Comment