पाँच वर्षमा राजस्व दोब्बर

अच्युत पुरी, काठमाडौं   |   साउन ०४, २०७४

नेपालको राजस्व संकलन दर पछिल्लो पाँच वर्षको अवधिमा शतप्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष ०७३-७४ मा सरकारले कर र गैरकर गरी कुल ६ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । यो रकम ५ वर्षअघिको तुलनामा १०६.६७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार आव ०६९-७० मा कुल २ खर्ब ९६ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । नेपालले कर आधारको वृद्धि तथा कर प्रणाली सुदृढ बनाउँदै गएका कारण राजस्व संकलन उत्साहप्रद रहेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ ।
औसत २०.२६ प्रतिशत राजस्व वृद्धिदर 
अर्थ मन्त्रालयका अनुसार पछिल्लो ५ वर्षयता औसत २०.२६ प्रतिशतका दरले राजस्व संकलन वृद्धि भइरहेको छ । आव ०७३-७४ मा अघिल्लो आवको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व संकलन भएको छ । मन्त्रालयका अनुसार ५ वर्षयता आव ०७१-७२ मा सबैभन्दा कम राजस्व संकलन वृद्धि (१३.७३ प्रतिशत) भएको थियो । सबैभन्दा बढी (२६.९३ प्रतिशत) अघिल्लो आव २०७३-७४ मा भएको छ ।
लक्ष्यभन्दा करिब ४६ अर्ब बढी राजस्व 
आव ०७३-७४ मा सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सो अवधिमा लक्ष्यभन्दा ४५ अर्ब ८७ करोड रुपैयाँ बढी राजस्व संकलन भएको मन्त्रालयको तथ्यांक छ । उक्त आवको बजेटले राजस्व संकलनको संशोधित लक्ष्य भने ५ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ राखेको थियो । संशोधित लक्ष्यभन्दा पनि ३० अर्ब ७८ करोड रुपैयाँ बढी राजस्व संकलन भएको मन्त्रालयले जानकारी दिएको छ।
यसकारण बढिरहेको छ राजस्व संकलन
आर्थिक गतिविधिका लागि अनुकूल वातावरण बनेको कारण यसको सकारात्मक प्रभाव राजस्व संकलनमा देखिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार नयाँ करदाता विस्तार, ६.९ प्रतिशतको आर्थिक वृद्धिले सिर्जना गरेको व्यावसायिक वातावरण, पुनर्निर्माणमा भएको लगानी विस्तार, भन्सार बिन्दुहरूमा नयाँ प्रणाली जडानजस्ता कार्यले राजस्व संकलन वृद्धिमा सहयोग पु¥याएको छ । यसका साथै कर अनुसन्धान तथा परीक्षणको प्रभाव, लगानीयोग्य अनुकूल वातावरण तथा निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलापले पनि राजस्व संकलनमा सहयोग गरेको छ ।
चालू आवमा ७ खर्ब ३० अर्ब राजस्व संकलनको लक्ष्य 
सरकारले चालू आव ०७४-७५ मा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य गत आवमा गरिएको लक्ष्यको तुलनामा २९.०१ प्रतिशत र संकलनको तुलनामा १९.३५ प्रतिशतले बढी हो ।
अर्थतन्त्रलाई सबल बनाउन सक्रिय छु : अर्थमन्त्री 
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले भने, ‘सफा, पारदर्शी, सुदृढ र सक्षम राजस्व प्रशासनमार्फत अर्थ मन्त्रालयका कामकारबाही निर्देशित हुनेछन् ।’ कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले मूल्य अभिवृद्धि कर र आयकर राजस्वका मूल स्रोत बन्दै गएको बताए । ‘साथै, स्थानीय तहमा नयाँ प्रणालीअनुसार बजेट विनियोजन हुँदा खर्चसमेत बढ्ने निश्चित छ,’ उनले भने । त्यस्तै, राजस्वसचिव शिशिरकुमार ढुंगानाले राजस्व प्रशासनका धेरै क्षेत्रमा सुधारका काम भइरहेको जानकारी दिए ।
http://www.enayapatrika.com/2017/07/19/165758/

Comments