अच्युत पुरी, काठमाडौं   |   २४ जेठ 

पोखरा विमानस्थलको आम्दानीले भुक्तानी गर्न अपुग भए मात्र प्राधिकरणले थप रकम राख्ने सहमति
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा चिनियाँ लगानीकर्ता र नेपाल सरकारबीच ऋण सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ । सहमतिसँगै आयोजनाका लागि चिनियाँ एक्जिम बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव युगराज पाण्डेले जानकारी दिए । ‘चिनियाँ पक्षसँग भएको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ,’ उनले भने, ‘अब निर्माण कम्पनीले काम अगाडि बढाउन सक्छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत २१ अर्ब रुपैयाँ अनुमान गरिएको छ । विमानस्थल निर्माण गर्न यो रकम चीनको एक्जिम बैंकबाट उपलब्ध हुनेछ । यसमध्ये २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप प्राप्त गर्नेछ । बाँकी ७५ प्रतिशत रकममा भने नेपालले वार्षिक २ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ । ऋण भुक्तानी ७ वर्षपछि मात्र सुरु हुनेछ । कुल २० वर्षको अवधिमा ऋण चुक्ता गर्ने गरी नेपाल र चीन सरकारबीच सम्झौता भएको छ । त्यसअनुसार वर्षको दुई किस्तामा प्राधिकरणले ऋण भुक्तानी गर्दै जानेछ ।
इस्क्रो एकाउन्ट खोलेपछि पैसा आउने 
ऋण कार्यान्वयनमा आइसकेपछि अब त्रिपक्षीय सहभागितामा खोल्नुपर्ने बैंक एकान्उट (इस्क्रो) खोलेपछि निर्माण लगानीकर्ता कम्पनीले सोही एकाउन्टमा पैसा पठाउन थाल्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण, चिनिया“ पक्ष र तेस्रो पक्ष (नेपाली बैंक)बीचको सहभागितामा नेपालकै एक बैंकमा इस्क्रो एकाउन्ट खुल्नेछ । इस्क्रो एकाउन्ट खोलेपछि आयोजनाको निर्माण कार्यले गति लिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार बढीमा तीन महिनाभित्र पोखरा विमानस्थलको भौतिक संरचना निर्माण थालिसक्ने लक्ष्य छ ।
आम्दानी इस्क्रो एकाउन्टमा 
एक्जिम बैंकले इस्क्रो एकाउन्टमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण आम्दानी जम्मा गर्नुपर्ने सर्त राखेपछि ऋण कार्यान्वयन लम्बिएको थियो । प्राधिकरणले भने आगामी पाँच वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आई आम्दानी गर्न थालेको दिनबाट त्यसको आम्दानी इस्क्रो एकाउन्टमा राखेर सोही रकममार्फत भुक्तानी गर्ने जवाफ पठाएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार पोखरा विमानस्थलको आम्दानीले भुक्तानी गर्न अपुग भए मात्र प्राधिकरणले थप रकम राख्ने सहमति जनाएपछि ऋण कार्यान्वयनको बाटो खुलेको हो ।
ऋण कार्यान्वयनमा आउन नसक्दा पोखरा विमानस्थल आयोजनाले जग्गा अधिग्रहण तथा पेरिफेरीमा गर्नुपर्ने सामान्य कामबाहेक आयोजनाको मुख्य काम भने प्रारम्भ गर्न सकेको थिएन । ऋण कार्यान्वयनमा आएपछि विमानस्थलको डिजाइन पास गर्ने र जमिनभन्दा मुनिको काम भने त्यसअगाडि नै सुरु गर्ने प्राधिकरणको तयारी छ ।
के हो इस्क्रो एकाउन्ट ?
खासगरी ठूलो धनराशि खर्च हुने यस्ता परियोजनामा तीन पक्ष (दाता, ऋण लिने पक्ष र तेस्रो पक्ष)को सहभागितामा एउटा बैंक खाता खोल्नुपर्ने हुन्छ । पोखरा विमानस्थलको हकमा एक्जिम बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपालको एक वाणिज्य बैंकबीच सहमति गरी नेपालकै बैंकमा इस्क्रो खाता खोलिन्छ । सामान्यतया यस्तो खाता दुई प्रकार (इस्क्रो रेभिन्यु र इस्क्रो डिपोजिट)को हुन्छ । रेभिन्यु खातामा आम्दानीतर्फको रकम जम्मा गरिन्छ भने डिपोजिटतर्फ किस्ता तिर्ने वेला रकम जम्मा गरिन्छ । ऋण भुक्तानी गर्न खोलिने यस्तो खातामा तेस्रो पक्षको सहभागिता अनिवार्य मानिनुको कारण उसलाई ऋण दिने र लिने लिने पक्षको साक्षीका रूपमा लिइएको हो । ऋण लिने पक्षले पनि आफूले काम गरेका आधारमा इस्क्रो एकाउन्टबाट पैसा प्राप्त गर्छ भने उसले आम्दानी गर्न थालेपछि सोही खाताबाट भुक्तानी गर्न थाल्नुपर्छ ।
२०७१ सालमै ठेक्का सम्झौता
यो विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले पाएको छ । कम्पनी र प्राधिकरणबीच ८ जेठ, ०७१ मा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौतालाई सरकारले १० कात्तिक ०७१ मा स्वीकृत गरेको थियो । विमानस्थलको १ वैशाख ०७३ मा शिलान्यास गरिएको थियो ।
कस्तो बन्दै छ विमानस्थल
पोखरा क्षेत्रीय विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग बन्दै छ । यस क्षमताको धावनमार्गमा बोइङ ७५७ तथा एयरबस ३२० (न्यारोबडी) मोडलसम्मका जहाज उडान–अवतरण गर्न मिल्छ । विमानस्थलमा एरोब्रिजयुक्त भवन र कार्गो भवन निर्माण हुनेछ । यसबाहेक ट्याक्सी वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोलर टावर, एयरपोर्ट ह्यांगरजस्ता संरचना बन्नेछन् । विमानस्थलका लागि ०३४ सालबाटै जग्गा अधिग्रहण तथा मुआब्जा वितरण थालिएको थियो । ४० वर्षअघि ३ हजार १ सय रोपनी जग्गा अधिग्रहण गरेर राखिएको थियो भने ५ सय २१ रोपनी जग्गा पछिल्लो समय अधिग्रहण भइरहेको आयोजनाले उल्लेख गरेको छ ।
http://www.enayapatrika.com/2017/06/07/153579/

Comments