ह्वात्तै घटे बिदेसिने नेपाली

अच्युत पुरी, काठमाडौं   |   जेठ १८, २०७४

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको छ । चालू आर्थिक वर्ष ०७३-७४ को आठ महिना (फागुन) सम्म कुल १ लाख ८६ हजार १ सय ६६ जना नेपाली बिदेसिएका छन् । गत आव ०७२-७३ को सोही अवधिमा २ लाख ८० हजार २ सय १७ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसभन्दा अघिल्लो वर्षको सोही अवधिमा यसरी बिदेसिनेको संख्या ३ लाख ६४ हजार ७ सय ३८ थियो । 
गत आव ०७२-७३ को पूरा अवधिमा कूल ४ लाख १८ हजार ७ सय १३ जना युवा वैदेशिक रोजगारीमा गएका थिए । श्रम तथा रोजगार मन्त्रालयका अनुसार फागुनपछि पनि विदेश जाने नेपालीको संख्या उत्साहजनक छैन । ‘फागुनदेखि असारसम्म बजेट कार्यान्वयनका सिलसिलामा नेपालभित्र सबैभन्दा धेरै विकास निर्माणका गतिविधि हुन्छन्,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोविन्दमणि भुर्तेल भन्छन्, ‘त्यसकारण यी महिनामा बिदेसिने युवा विगतदेखि नै कम हुने गर्छन् ।’
के कारणले घटे बिदेसिने युवा ? 
१. स्थानीय तह निर्वाचन 
मन्त्रालयका अनुसार यस वर्ष स्थानीय निर्वाचनको प्रभाव वैदेशिक रोजगारीमा परेको छ । खासगरी विदेश जान तयार भएका युवालाई पार्टीहरूले चुनावी अभियानमा लाग्न रोकेर राखेको अनुमान मन्त्रालयको छ । चुनावमा राजनीतिक दलहरूले गर्ने आकर्षक खर्चले युवालाई आकर्षित गरिरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
२. सुरक्षित आप्रवासन कार्यक्रमको प्रभाव 
श्रम तथा रोजगार मन्त्रालयले बढी युवा बिदेसिने विभिन्न १९ जिल्लामा अहिले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमका दौरान विदेश गएर फर्किएका युवालाई केही रकम दिएर उनीहरूमार्फत गाउँमा रहेका युवालाई वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरिन्छ । यस प्रकारका गतिविधिअन्तर्गत विदेश जानुअघि पालना गर्नुपर्ने नीति–नियम, वैदेशिक रोजगार कम्पनीबाट हुने ठगीबाट बच्ने उपाय र विदेश जानु मात्र समस्या समाधान होइन भन्नेबारे व्यापक जनचेतना जगाउने काम भइरहेको मन्त्रालयका प्रवक्ता भुर्तेलले जानकारी दिए ।
३. पुनर्निर्माण 
भूकम्पको पुनर्निर्माणका क्रममा ग्रामीण भेगमा अहिले विविध गतिविधि भइरहेका छन् । यसक्रममा निर्माण, विद्युत्, खानेपानीलगायत क्षेत्रमा काम गर्ने युवा गाउँमै व्यस्त भएपछि पनि विदेश जाने युवाको संख्या घटेको हो ।
४. रोजगारदाता मुलुकमा देखिएको मन्दी 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले साउदी अरबलगायत मुलुकमा तेलको मूल्यमा गिरावट आएपछि आर्थिक मन्दीको अवस्था छ, जसले गर्दा नेपाली कामदार बढी लिने कतिपय कम्पनी बन्दसमेत भएका छन् । मलेसियालगायत केही मुलुकको मुद्राको मूल्य घट्दो क्रममा छ । केहीपहिले आकर्षक भनिएका मुलुकमा पनि पर्याप्त आम्दानी नहुने अवस्थामा कामदार विदेश जाने क्रम सुस्ताएको व्यवसायीको भनाइ छ ।
५. फ्री भिसा र फ्री टिकटको प्रभाव 
सरकारले वैदेशिक रोजगारीमा अधिकतम १० हजारसम्म लिन पाउने गरी फ्री भिसा फ्री टिकट नीति लागू गरेको छ । सोहीकारण अहिले धेरै कामदार पर्ख र हेरको अवस्थामा छन् । फ्री भिसा फ्री टिकट भने पनि व्यवसायीले पैसा लिएर मात्र विदेश पठाउने, कामदारले तिर्ने र समस्या परेपछि मात्र उजुरी पर्ने प्रवृत्तिले धेरै युवा पीडित छन् । सरकारले प्रमाण नभएपछि कारबाही गर्न नसक्ने बताउँदै आएको छ । व्यवसायी भने यस नीतिपछि रोजगारदाताको प्राथमिकता नेपाल नपर्दा माग कम आउन थालेको बताउ“छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘यो नीति लागू भएपछि नेपालभन्दा अन्य मुलुकलाई रोजगारदाता कम्पनीले प्राथमिकतामा राख्दै गएको अवस्था हो ।’
के भन्छन् सरोकारवाला
 गोविन्दमणि भुर्तेल, प्रवक्ता श्रम तथा रोजगार मन्त्रालय 
ग्रामीण भेगमा रोजगारीको अवसर नपाएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता युवामा छ । जब स्थानीयस्तरमा रोजगारका अवसर सिर्जनाका गतिविधि बढ्छन्, स्वाभाविक रूपमा बिदेसिने युवाको संख्यामा कमी आउँछ । यो वर्ष धेरै कारणले यसमा भूमिका खेलेको छ । यसमध्ये स्वरोजगार बन्नुपर्छ भन्ने सचेतनासहित स्थानीय तह निर्वाचन र पुनर्निर्माणको भूमिका बढी छ ।
 विमलप्रसाद ढकाल, अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ
रोजगारदाता मुलुकको प्राथमिकताका आधारमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या थपघट हुने गर्छ । यो वर्ष कतिपय मुलुकमा आर्थिक मन्दीको अवस्था छ भने अर्कोतर्फ फ्री भिसा र फ्री टिकट अनिवार्य भएका कारण धेरै कम्पनी नेपालको साटो अन्य मुलुकका कामदारतर्फ मोडिएका छन् ।
http://www.enayapatrika.com/2017/06/01/152020/

Comments