दैनिक ३९ हजार पर्यटक बस्न सक्छन् नेपालमा

अच्युत पुरी, काठमाडौँ   |  asar 10
१ सय २० तारे होटेल, ९ सय ८५ पर्यटकस्तरीय होटेल र २ सय ७१ होमस्टे –
नेपालमा सञ्चालित तारे होटेल, पर्यटकस्तरीय होटेल र होमस्टेमा ३९ हजार बेड पर्यटकको सेवाका लागि उपलब्ध छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पर्यटकको सेवाका लागि ३९ हजार १ सय २० वटा बेड (शøया) दैनिक बिक्रीयोग्य अवस्थामा छन् । एउटा बेडमा एकजना मात्रै सुतेको अवस्थामा नेपालमा दैनिक सो संख्यामा पर्यटक वास बस्न सक्छन् । देशभर सञ्चालित १ सय २० तारे होटेल, ९ सय ८५ पर्यटकस्तरीय होटेल र २ सय ७१ होमस्टेमा यी कोठा उपलब्ध छन् ।
मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार सन् २०१६ मा दैनिक औसतः २ हजार १ सय पर्यटक नेपाल आएका छन् । ती पर्यटक औसतः १३ दिन नेपाल बसेका छन् । अर्कोतर्फ आन्तरिक पर्यटकले पनि यी सबै होटेल र होमस्टेबाट सेवा लिन्छन् । आन्तरिक तथा बाह्य पर्यटकका कारण नेपालमा सञ्चालित करिब ६० प्रतिशत हाराहारी बेड उपयोगमा आएको र अझै पनि ४० प्रतिशत बेड बिक्री हुन नसकेको होटेल व्यवसायी बताउँछन् ।
११ लाख पर्यटक धानिने 
पछिल्लो तथ्यांकअनुसार पर्यटन विभागमा दर्ता भई औपचारिक प्रणालीमार्फत सञ्चालित होटेल र होमस्टेले वार्षिक ११ लाख पर्यटकलाई सेवा दिन सक्छन् । यो तथ्यांक पर्यटकको औसतः बसाइ १३ दिन रहँदाको हो । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक नेपाल आएका थिए । तर, पर्यटकको औसतः बसाइ बढ्नुमा सबैभन्दा ठूलो भूमिका पर्वतारोहण र पदयात्रामा आउने पर्यटकको छ । यी पर्यटक लामो समय नेपाल बसे पनि सामान्यतया ग्रामीण भेगमा बस्छन् भने कतिपय अवस्थामा टेन्टभित्रै रात काट्छन् । त्यसकारण तथ्यांकले देखाएजस्तो सबै बेड बिक्री नहुने होटेल संघ नेपालका निवर्तमान कोषाध्यक्ष तथा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य घनेन्द्रबहादुर श्रेष्ठ बताउ“छन् । ‘नेपाली आतिथ्य सेवाले अहिले नै वार्षिक १२ देखि १३ लाख पर्यटक धान्न सक्छ,’ उनले भने, ‘अझ यस क्षेत्रमा लगानी बढिरहेकाले पर्यटक आगमन बढाउनुपर्ने आवश्यकता छ ।’
ठूलो लगानी प्रणालीबाहिर 
होटेल व्यवसायीका अनुसार उपत्यका र उपत्यकाबाहिरका जिल्लामा ठूलो लगानीमा खोलिएका धेरै होटेल अझै पनि पर्यटन मन्त्रालयको औपचारिक प्रणालीबाहिर छन् । पर्यटन विभागमा दर्ता भएको मात्र होटेल सरकारले तोकेको मापदण्ड पूरा गरेमा वर्गीकरणभित्र पर्छ । त्यसरी वर्गीकरणमा परेका होटेल मात्र तथ्यांकमा समेटिन्छन् । स्थानीयस्तरमा दर्ता भई सञ्चालनमा आएका तर औपचारिक प्रणालीमा नदेखिएका होटेलकोसमेत लगानी र बेड संख्या जोड्दा ठूलो संख्यामा पर्यटकलाई सेवा दिन सकिने क्षमता रहेको श्रेष्ठले बताए । नेपालमा आतिथ्य सेवाको गुणस्तर बढाउन पनि देशभर रहेका सबै होटेललाई वर्गीकरणभित्र समावेश गर्नुपर्ने व्यवसायीले बताउँदै आएका छन् ।
मोफसलका मुख्य पाहुना आन्तरिक पर्यटक 
होटेल संघ नेपाल (हान)का अनुसार देशभर सञ्चालित होटेलमध्ये ४० प्रतिशत स्तरीय होटेल काठमाडौं उपत्यकामा छन् । ती होटेलका मुख्य पाहुना विदेशी हुन् । मोफसलका भने धेरै होटेल आन्तरिक पर्यटककै कारण धानिएका छन् । तर, नेपालमा कति आन्तरिक पर्यटक घुमघाममा निस्कन्छन् भन्ने तथ्यांक कुनै पनि निकायस“ग छैन ।
http://www.enayapatrika.com/2017/06/24/158680/

Comments