‘हिमालय यात्राको प्रवेशद्वार नेपाल’

नयाँ पत्रिका , काठमाडौं   |   जेठ १९, २०७४


काठमाडौंमा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडिया सम्मेलन (आइटिबिएमसी) सम्पन्न
हिमाली क्षेत्र ओगटेका मुलुकको यात्राको प्रवेशद्वार नेपाल रहेको भन्दै यसलाई पर्यटकीय प्रडक्टका रूपमा विश्वभर प्रचार–प्रसार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । साहसिक पर्यटकीय गतिविधिका सन्दर्भमा नेपालले विश्वमै अलग खालको अनुभव पस्कने अवस्था रहेकाले हिमालय यात्राको नेतृत्व नेपालले लिनुपर्ने उनीहरूले बताएका हुन् ।
नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा शुक्रबारदेखि राजधानीमा हिमालयन ट्राभल मार्ट सञ्चालन हुँदै छ ।
सोही कार्यक्रमको एक पाटोका रूपमा बिहीबार राजधानीमा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडिया सम्मेलन (आइटिबिएमसी) सम्पन्न भएको छ । सम्मेलन उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले नेपाल सस्ता (ब्याकप्याकर्स) मात्र नभई लक्जरी र खर्चालु पर्यटकका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रमले पर्यटकीय आकर्षण बोकेका क्षेत्रको प्रवद्र्धनमा ठूलो सहयोग पुग्नेछ ।’ पर्यटन प्रवद्र्धनका गतिविधिमा सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्दा बढी प्रभावकारी हुने उनको भनाइ छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हिमालय यात्राको प्रवेशद्वारका रूपमा नेपाललाई स्थापित गराउन सम्मेलन सफल हुने अपेक्षा व्यक्त गरे ।
साहसिक गन्तव्यका रूपमा नेपाल पायोनियर मुलुक रहेको भन्दै उनले हिमालय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकासको नेतृत्व नेपालले लिनुपर्ने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्व पर्यटन बजारमा नेपालको बलियो उपस्थितिमा कार्यक्रम फलदायी हुने बताए ।
पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डे र पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले हिमालयन ट्राभल मार्ट र ब्लगर तथा मिडिया सम्मेलनबाट नेपालले चाहेको नयाँ पर्यटकीय प्रडक्टको विश्वव्यापी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।
स्वदेशी र विदेशी पर्यटनसम्बद्ध संस्थाले साटे अनुभव
सम्मेलनमा ३३ मुलुकका १ सय ७ ट्राभल ब्लगर तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधि उपस्थित थिए । स्वदेशी सञ्चारमाध्यम, सरकारी अधिकारी तथा नेपाली व्यवसायी सहभागी सम्मेलनमा करिब एक दर्जन ब्लगर, आरोही र ट्राभल स्टोरी राइटरले आ–आफ्नो अनुभव साटेका थिए ।
विदेशी ट्राभल ब्लगर करिब एक सातादेखि नेपालमा छन् । त्यसक्रममा उनीहरूलाई नेपालका विविध गन्तव्यमा घुमाएर नेपाली पर्यटनको यथार्थ स्थिति देखाउने उद्देश्य रहेको आयोजकको भनाइ छ ।
आजदेखि हिमालयन ट्राभल मार्ट
नेपाल आयोजक भएर पहिलोपटक सञ्चालन हुन लागेको हिमालयन ट्राभल मार्ट शुक्रबारदेखि राजधानीमा सुरु हुँदै छ । विदेशी प्रतिनिधि सहभागिताको हिसाबले मेला अहिलेसम्मकै ठूलो रहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । मेलामा हिमालयन ट्राभल मार्ट सम्मेलन तथा क्रेता र विक्रेताबीच प्रत्यक्ष भेटघाट भई बिजनेस डिल गर्ने कार्यक्रम तय गरिएको छ ।
सम्मेलनमा ५३ मुलुकका २ सय ५० अन्तर्राष्ट्रिय पाहुना सहभागी हुने पाटा नेपालको भनाइ छ । त्यसमध्ये ब्लगर्स र सञ्चारकर्मी १ सय १७ र बाँकी क्रेता तथा विक्रेता सहभागी हुँदै छन् ।
http://www.enayapatrika.com/2017/06/02/152259/

Comments