नेपालका साना विमानस्थल असुरक्षित

अच्युत पुरी , काठमाडौँ   |  6 jetha 

आन्तरिक उडानका दुर्घटनामध्ये ५ साना विमानस्थलमा मात्र २० दुर्घटना
नेपालको हिमाली तथा पहाडी भेगका साना विमानस्थल असुरक्षित रहेको एक तथ्यांकले देखाएको छ । नेपालको आन्तरिक उडानतर्फ हालसम्म भएका कुल ५० दुर्घटनामध्ये २० वटा दुर्घटना साना विमानस्थलमा भएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो ५६ वर्षको इतिहासमा ५० वटा जहाज (यात्रुबाहक र कार्गो) दुर्घटना भएका छन् । त्यसमध्ये २० दुर्घटना ५ वटा साना विमानस्थलमा भएको छ । पछिल्लो समय लुक्लामा गोमा एयरको जहाज दुर्घटना भएको छ भने हुम्लाको सिमिकोटमा अवतरण गर्न नसकी बाजुरा लागेको सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । यी दुई दुर्घटनामा पाइलटको निधन भएको थियो । भौगोलिक अवस्थिति, मौसम परिवर्तन र उपयुक्त प्रविधिको अभावले नेपालको हवाई सुरक्षा चुनौतीपूर्ण बन्दै गएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।
५६ वर्षअघि पहिलो दुर्घटना
सन् १९६१ मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना भएयता नेपाली आकाशमा आन्तरिकतर्फ कुल ८१ दुर्घटना भएका छन् । त्यसमध्ये ३१ वटा हेलिकोप्टर र ५० हवाईजहाज दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । ३१ हेलिकोप्टर दुर्घटनामा परी निधन हुनेको संख्या ५९ छ । हवाई दुर्घटनाको दृष्टिकोणबाट तराईका विमानस्थल सबैभन्दा सुरक्षित छन् । नेपालको उडान इतिहासमा तराई क्षेत्रभित्र ४ वटा मात्र दुर्घटना भएका छन्, तर तराईमा एउटा पनि हेलिकोप्टर दुर्घटनामा परेको छैन ।
हवाई सुरक्षा सुधारोन्मुख तर सन्तोषजनक छैन
प्राधिकरण अधिकारी नेपालमा हवाई सुरक्षाको अवस्था सुधारोन्मुख रहे पनि सन्तोषजनक नभएको स्वीकार गर्छन् । ‘समग्रमा हवाई सुरक्षामा सुधार भइरहेको छ,’ आइतबारदेखि राजधानीमा सुरु एभिएसन सेफ्टी क्याम्पेन उद्घाटन अवसरमा उपमहानिर्देशक पोखरेलले भने, ‘तर, सन्तोषजनक छैन ।’
उनका अनुसार सन् २०१० देखि ०१२ को तीनवर्षे अवधिमा नेपालमा ५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ८९ जनाको ज्यान गएको छ । त्यसपछि सन् २०१३ मा नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासो (एसएससी) सूची र युरोपेली युनियनको सेफ्टी लिस्ट (कालो सूची)मा परेको थियो ।
हवाई सुरक्षामा सरकार गम्भीर : पर्यटन सचिव 
संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हवाई सुरक्षा अभिवृद्धिमा सरकार गम्भीर रहेको बताएका छन् । राजधानीमा आइतबारदेखि सुरु एभिएसन सेफ्टी क्याम्पेन उद्घाटन गर्दै सचिव अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत अन्तर्राष्ट्रिय निकायलाई चित्त बुझ्ने गरी काम भइरहेको र यसमा सरकारको पूर्ण साथ र सहयोग रहने जानकारी दिए ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निजी क्षेत्र र सरकारको संयुक्त प्रयासविना हवाई सुरक्षाका मुद्दा सम्बोधन गर्न नसकिने बताए । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कठिन भौगोलिक अवस्थितिका कारण नेपालमा हवाई सुरक्षा चुनौतीपूर्ण रहेको बताए । नेपालको सामाजिक–आर्थिक विकासमा हवाई उद्योगको ठूलो योगदान रहेको भन्दै उनले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय समुदायले उठाएका हवाई सुरक्षासम्बन्धी चासो सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
आगामी १३ महिनाभित्र निगमका लागि दुईवटा वाइड बडी जहाज आइसक्ने र ती जहाजबाट युरोपमा सीधा उडानको योजना रहेको भन्दै कंसाकारले यसबीचमा इयु र आइकाओको चासो सम्बोधन भइसक्नुपर्ने उनको भनाइ थियो । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अध्यक्ष पवित्रकुमार कार्कीले हवाई सुरक्षाका मुद्दा सूक्ष्म रूपले उठाइने क्याम्पेनका माध्यमबाट हरेक वर्ष ३ सयभन्दा बढी सरोकारवाला लाभान्वित हुने बताए । तीन दिनसम्म सञ्चालन हुने क्याम्पेनमा नेपाल सरकार, अन्तर्राष्ट्रिय निकाय, वायुसेवा कम्पनी र अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन् ।
बढी दुर्घटना भएका ५ विमानस्थल
लुक्लाः ७
जोमसोमः ५
सिमिकोटः ४
जुम्लाः २
डोल्पाः २
http://www.enayapatrika.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2-%E0%A4%85/

Comments