सगरमाथा चुचुरो नपुगी फर्किए १ सय ८० विदेशी आरोही

अच्युत पुरी, काठमाडौं   |   ३० जेठ 
फाइल तस्बिर
सन् २०१७ को वसन्त ऋतुमा सगरमाथा आरोहणमा गएका १ सय ८० विदेशी आरोही चुचुरोमा नपुगी फर्किएका छन् । खराब मौसमका कारण सफल आरोहणको दर कम भएको हो । यस वर्ष वेदर रिपोर्ट पनि अनुमान गरिएभन्दा फरक परेको थियो ।
पर्यटन विभागका अनुसार यस सिजनमा ४२ टोलीका ३ सय ७५ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । अनुमति लिएकामध्ये स्व. मीनबहादुर शेरचनसहित ५ जना नेपाली थिए भने बाँकी विदेशी हुन् । विदेशीमध्ये १ सय ९० आरोही मात्र चुचुरोमा पुग्न सफल भएका छन् । मौसम अनुमान गरेकोभन्दा उल्टो परेपछि धेरै आरोही चुचुरोमा पुग्न नसकेको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।
४ सय ४५ सगरमाथा चुचुरोमा 
विभागको तथ्यांकअनुसार यस वर्ष वसन्त ऋतुमा कुल ४ सय ४५ आरोही चुचुरोमा पुग्न सफल भएका छन् । विभागको पर्वतारोहण शाखाका सम्पर्क अधिकृत खेमप्रसाद अर्यालका अनुसार १ सय ९० विदेशी र २ सय ५५ नेपाली आरोही चुचुरोमा पुग्न सफल भएका छन् । थप १ सय ८० विदेशी पनि चुचुरोमा पुग्न पाएका भए यस वर्ष सगरमाथामा पुग्ने आरोहीको संख्या कीर्तिमानी बिन्दुमा पुग्ने थियो ।
सन् २०१६ मा ४ सय ५६ सफल भएका थिए
गत वर्षको सोही सिजनमा सगरमाथा चुम्ने कुल आरोहीको संख्या ४ सय ५६ जना थियो । यस वर्ष १ सय ९९ विदेशी र २ सय ५७ जना नेपालीले सगरमाथा चुमेका थिए । सन् २०१६ मा २ सय ८९ जनाले अनुमति लिएकोमा १ जना नेपाली थिए । गत वर्ष ९० जना विदेशी मात्र आरोहण गर्न नसकेर फिर्ता भएका थिए ।
८ हजार मिटर अग्ला हिमालमा ६ सय ३१ आरोही
सन् २०१७ को वसन्त ऋतुमा नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक चढ्ने आरोहीको संख्या ६ सय ३१ पुगेको छ । सन् २०१६ को वसन्त ऋतुमा ८ हजार मिटरभन्दा बढी उचाइका हिमाल चढ्ने कूल आरोहीभन्दा यस वर्ष आरोही सामान्य घटेका छन् । पर्यटन विभागका अनुसार गत वर्ष ६ सय ८० आरोहीले ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेका थिए ।
१०७ टोलीका ८३४ सदस्यलाई अनुमति

 यस सिजनमा १ सय ७ टोलीका ८ सय ३४ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाका सम्पर्क अधिकृत अर्यालका अनुसार सबैभन्दा बढी ४२ टोलीका ३ सय ७५ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागले ८ हजार मिटरभन्दा साना हिमाल चढेर फर्किएका आरोहीको समेत तथ्यांक संकलन गरिरहेको छ । 
– नेपालमा पहिलो पटक सन् १९५३ मा सगरमाथा आरोहण सफल भएयता ५ हजारभन्दा बढी आरोही चुचुरोमा पुगिसकेका छन् । 
-सरकारले हरेक वर्ष करिब ५० करोड रुपैयाँबराबर पर्वतारोहण रोयल्टी संकलन गर्दै आएको छ ।
– सगरमाथा चढ्न विदेशी नागरिकलाई ११ हजार डलर र नेपाली आरोहीका लागि ७५ हजार नेपाली रुपैयाँ रोयल्टी लाग्छ ।
– आरोहणमा १ विदेशी आरोहीबराबर कम्तीमा १ जना शेर्पा साथमै सहयोगी हुन्छन्
– यस सिजनमा नेपालतर्फ हिमाल आरोहणका क्रममा ५ जनाको निधन भएको छ ।
चीनले रोक्दै छ सगरमाथा आरोहण
चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा शरद ऋतु (अटम सिजन)मा सगरमाथा आरोहण गर्न रोक लगाएको छ । पर्यटन विभागका अनुसार चीनले सगरमाथामा बढ्दै गएको फोहोर तथा विदेशी आरोहीको अनधिकृत प्रवेश नियन्त्रणका लागि सगरमाथा आरोहणमा रोक लगाएको हो । चीनले आगामी वसन्त ऋतुमा पनि आरोहण बन्द गर्ने सम्भावना रहेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । नेपालले पनि फोहोर संकलन र सगरमाथामा बढेको भिड नियन्त्रणका लागि प्रभावकारी कदम नचाले गम्भीर समस्या निम्तिन सक्ने चेतावनी सरोकारवालाले दिँदै आएका छन् ।
मौसम प्रतिकूलताले कीर्तिमान बनेन
आङछिरिङ शेर्पा 
अध्यक्ष
नेपाल पर्वतारोहण संघ
यस वर्ष सबैभन्दा बढी आरोहीले अनुमति लिएका कारण कीर्तिमानी संख्यामा आरोही सफल हुने सम्भावना थियो । तर, प्रतिकूल मौसमले सोचेअनुसार आरोहण सफल भएन । तर, सगरमाथामा धेरै दुर्घटना नभएका कारण यो वर्षको आरोहणलाई सुरक्षित मान्न सकिन्छ । यसले आगामी दिनमा अझ आकर्षण थप्नेछ ।
http://www.enayapatrika.com/2017/06/13/155097/

Comments