३५ हजारले लिए युवा स्वरोजगार कोषबाट ऋण

अच्युत पुरी, काठमाडौँ   |   असार ०४, २०७४
युवा बेरोजगारी कम गर्न कोषको कार्यक्रम प्रभावकारी बन्दै –
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लाभान्वित हुने युवाको संख्या ३५ हजार नाघेको छ । सरकारले आर्थिक रूपमा पिछडिएका, विपन्न वर्ग, उत्पीडित, महिला, दलित, द्वन्द्वपीडित, बेरोजगार युवा, परम्परागत सीप भएकालगायत समूह लक्षित युवाको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कोषमार्फत विनाधितो ऋण उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष ०७२-७३ सम्म कोषबाट विनाधितो ऋण प्राप्त गर्ने युवा ३० हजार ६ सय ८६ जना थिए । चालू आव ०७३-७४ को ८ महिना (फागुन)सम्म ४ हजार ५ सय ६८ युवा स्वरोजगार बनेका छन् । यसरी कोषबाट विनाधितो ऋण प्राप्त गरी ३५ हजार २ सय ५४ जना युवा स्वरोजगार बनेको कोषले जानकारी दिएको छ । ‘कोषबाट सञ्चालित स्वरोजगारका विविध कार्यक्रममा युवाको सहभागिता उत्साहजनक देखिएको छ,’ युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा. प्रेमप्रसाद दंगालले भने, ‘यो कार्यक्रम मुलुकमा बेरोजगारी समस्या केही हदसम्म भए पनि समाधान गर्न सहयोगी भएको छ ।’
युवालाई विनाधितो दुई लाख ऋण 
पुँजी र कामको अभावमा विदेश पलायन हुने युवालाई स्वदेशमै रोक्ने लक्ष्यसहित ०६५ मा कोष स्थापना गरिएको थियो । कोषले प्रारम्भमा बेरोजगार युवालाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्छ । त्यसपछि वित्तीय संस्थामार्फत सहुलियत ब्याजदरमा विनाधितो आवधिक कर्जा प्रदान गर्दै आएको छ । यस्तो कर्जाबापत युवालाई अधिकतम २ लाख र बढीमा २५ जनाको समूह (सहकारी)लाई ५० लाख रुपैयाँ प्रदान गरिने उपाध्यक्ष दंगालले जानकारी दिए । कार्यक्रमबाट ७३ जिल्लाका युवा तथा साना व्यवसायी लाभान्वित भएको कोषले जानकारी दिएको छ । १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार युवा यस कोषका लक्षित वर्ग हुन् ।
८ महिनामा ४ अर्ब लगानी 
चालू आवको ८ महिनामा कोषले २० वटा बैंक तथा वित्तीय संस्थासहित ९ सय ६१ सहकारी संस्थासँग प्रारम्भिक कर्जा सम्झौता गरेको छ । सम्झौतासँगै ३ अर्ब ९५ करोड ३८ लाख रुपैयाँ लगानी भएको कोषको तथ्यांकमा उल्लेख छ ।
लगानी र कार्यक्रम बढाउने योजना छ
डा. प्रेमप्रसाद दंगाल, उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष
कोषका कार्यक्रममा युवाको सहभागिता बढ्दो क्रममा छ । युवालाई सर्वप्रथम स्वरोजगारका लागि तयार पार्ने हाम्रो उद्देश्य हो । त्यसअनुसार जिल्लामा अभिमुखीकरण तथा सीपमूलक तालिम प्रदान भइरहेको छ । आगामी दिनमा युवाका लागि लगानी र कार्यक्रम बढाउने योजना छ।
कस्ताले पाउँछन् ऋण ? 
– व्यावसायिक खेती तथा पशुपक्षीपालन, कृषि तथा उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय
– सहरबजार क्षेत्रमा रिक्सा, ठेलागाडालगायत स्वरोजगारमूलक, सेवामूलक व्यवसाय
– परम्परागत सीपयुक्त व्यवसाय
– पर्यटन (होमस्टे) व्यवसाय
– स्थानीय कच्चा पदार्थ र सीप परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना, एक गाउँ एक उत्पादनसम्बन्धी परियोजना साथै द्वन्द्वपीडित व्यक्ति, अपांग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालित परियोजनालाई प्राथमिकता ।
कसरी प्रदान गरिन्छ ऋण ? 
स्वरोजगार कोषमार्फत कर्जा प्राप्त गर्न युवाले कोषसँग सम्झौता गरेका बैंक, वित्तीय संस्था वा सहकारीमा सम्पर्क गर्नुपर्छ । त्यसअगाडि युवाले कुनै पनि निकाय (सरकारी, निजी, अन्तर्राष्ट्रिय) निकायबाट सञ्चालित अभिमुखीकरण तालिममा भने युवाले अनिवार्य भाग लिएको हुनुपर्ने प्रावधान छ ।
आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना विवरण तथा आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाएपछि मात्र युवाले विनाधितो ऋण प्राप्त गर्छन् । व्यक्तिगत रूपमा प्राप्त हुने ऋणमध्ये पहिलो चरणमा १ लाख र व्यवसाय प्रारम्भ गरिसकेपछि थप १ लाख दिने गरिएको कोषका उपाध्यक्ष दंगालले जानकारी दिए ।
http://www.enayapatrika.com/%E0%A5%A9%E0%A5%AB-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%B2%E0%A4%BF%E0%A4%8F-%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%BE-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%8B%E0%A4%9C/

Comments