शब्द : अच्युत पुरी/तस्बिर : अमुल थापा, काठमाडौँ | asar 9

शुक्रबार श्यामापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आउँदै गरेको जहाजको दुवै इन्जिनमा आगलागी भयो । जहाज आकाशमै थियो । पहिलो इन्जिनमा आगो लागेको जानकारी चालक दलले करिब १० मिनेटअगाडि नै त्रिभुवन विमानस्थलस्थित एटीसी टावरमा गराइसकेको थियो । विमानस्थल व्यवस्थापनले उपत्यकास्थित सबै निकायका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर ग¥यो । विभिन्न अस्पतालमा आकस्मिक उपचारको व्यवस्था तयारी अवस्थामा राख्न आग्रह गरियो । ती अस्पतालबाट एम्बुलेन्सहरू विमानस्थलतर्फ हुइँकिए ।

एबीसी एयरलाइन्सको एयरबस ३३० जहाज विमानस्थलको पूर्वतिर रहेको फायर स्टेशन नजिकै फोर्स ल्याण्ड हुँदा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए । ल्याण्ड हुनेबित्तिकै जहाजबाट आगोको मुस्लो निस्कियो, त्यसपछि सुरु भयो बचाउ र उद्दार । १ सय ८० यात्रु सवार यस जहाज दुर्घटनामा ४५ जनाको घटनास्थलमै मृत्यु भयो । २७ गम्भीर घाइते भए । गम्भीर घाइतेमध्ये एकलाई अल्टिच्यूड एयरको हेलिकोप्टरले ग्राण्डी अस्पताल पु¥यायो भने अन्य घाइतेलाई नजिकका अस्पताल लगिए ।

झट्ट हेर्दा वास्तविक दुर्घटनाकै झल्को दिने यो घटना वास्तविक भने होइन । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनासँगै हुने आगलागी नियन्त्रण र उद्दारसम्बन्धि तयारी, संयन्त्र, प्रविधि र जनशक्तिको प्रदर्शन गरिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलमा एभिएशन सेफ्टीसम्बन्धि तयारी प्रदर्शन गर्नुपर्ने प्रावधान छ । ‘हामीले दुर्घटना कहिले हुन्छ र उद्दार गरौंला भनेर कुर्ने भन्ने नै हुँदैन,’ विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भन्छन्, ‘आकस्मिक अवस्थामा अन्तरनिकाय समन्वय, जनशक्तिको व्यवस्था र तयारीबारे हरेक दुई वर्षमा यस्तो अभ्यास गर्नुपर्छ ।’

सोही प्रदर्शनका लागि शुक्रबार साढे ४ बजेदेखि ५ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । त्यस अवधिभर विमानस्थलबाट उडान अवतरण भएनन् । वास्तविक दुर्घटनामा पनि ‘फू्ल इमर्जेन्सी’ अवस्थामा विमानस्थल बन्द गरेरै उद्दार र बचाउको काम गरिन्छ । उपाध्यायका अनुसार हरेक दुई वर्षमा हुने यस्तो प्रदर्शनका बेला विमानस्थलमा हुन सक्ने विभिन्न आपतकालीन अवस्थाको अभ्यास गरिन्छ । यसअघि एउटा इन्जिनमा मात्र आगलागी हुँदा गर्ने तयारी, जहाज अपहरणमा परेका बेला गर्ने तयारीजस्ता अभ्यासको प्रदर्शनी भइसकेको छ । यस वर्ष भने पूर्ण अभ्यास गरिएको हो । यसमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, उपत्यकाका विभिन्न अस्पतालका डाक्टर र नर्स, एम्बुलेन्स तथा पहिलोपटक एयरएम्बुलेन्स समेत प्रयोग गरिएको थियो ।










शब्द : अच्युत पुरी/तस्बिर : अमुल थापा
http://www.enayapatrika.com/2017/06/23/158596/
Comments
Post a Comment