नेवानिले लियो सञ्चयकोष र लगानी कोषबाट ऋण

नयाँ पत्रिका , काठमाडौं   |  ३० जेठ 

ऋण सम्झौता भएसँगै निगमलाई दुईवटा वाइड बडी जहाज किन्न वित्तीय स्रोत जुटेको छ
नेपाल वायुसेवा निगमले ठूलो आकारको (वाइड बडी) जहाज किन्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको छ । यी दुई निकायबाट १२-१२ अर्ब रुपैयाँ लिने क्रममा आइतबार र सोमबार छुट्टाछुट्टै ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै निगमले जहाज खरिद गर्न रकमको जोहो भएको हो । निगमले दुईवटा वाइड बडी जहाज खरिद गर्ने प्रक्रिया टुंग्याइसकेको छ ।
अब निकट भविष्यमा जहाज खरिद गरिएको कम्पनी एएआर कर्पोरेसनलाई पहिलो किस्तावापत दुईवटा जहाजको ४-४ अर्ब गरी कुल ८ अर्ब (३५ प्रतिशत) रुपैयाँ पठाइने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले दुईवटा जहाज २० करोड ९६ लाख अमेरिकी डलर (झन्डै २२ अर्ब रुपैयाँ)मा खरिद गर्दैछ । २२ अर्ब जहाज खरिद र बाँकी रकम भने पाइलट–प्राविधिकको जोहो, गन्तव्य विस्तार तथा अन्य व्यवस्थापकीय प्रक्रियामा खर्च हुने निगमको भनाइ छ ।

प्रवक्ता श्रेष्ठका अनुसार नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही सुविधा प्राप्त हुनासाथ पहिलो किस्ता पठाउने तयारी छ । निगमले जहाज किन्दा सरकार जमानी बस्ने निर्णय भएसँगै यी दुई निकाय निगमलाई ऋण दिन तयार भएका हुन् ।
लगानी कोषसँग सम्झौता 
सोमबार नेपाल वायुसेवा निगम र नागरिक लगानी कोषसँग ऋण सम्झौता भएको छ । सम्झौतामा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरे । यसअघि आइतबार कर्मचारी सञ्चयकोष र निगमबीच ऋण सम्झौता भएको थियो ।
१५ वर्षमा भुक्तानी 
निगमले यी दुई निकायबाट वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋण लिएको हो । १५ वर्षमा भुक्तानी गरिसक्ने शर्तसहित ऋण सम्झौतामा हस्ताक्षर भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निगमले जहाजबाट व्यावसायिक उडान थालेपछि ऋण भुक्तानी गर्न सुरु गर्नेछ । प्रत्येक वर्ष चार किस्तामा ऋण चुक्ता गर्दै जाने शर्तसहित निगमले यी दुई निकायसँग ऋण सम्झौतामा हस्ताक्षर गरेको हो ।
एक वर्षभित्र दुईवटा वाइड बडी 
निगमले जहाज उपलब्ध गराउने अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग गरेको सम्झौताअनुसार एक वर्षभित्र दुईवटा जहाज नेपाल आइसक्ने छन् । २ सय ८० सिट रहने यी जहाजबाट निगमले लामो गन्तव्यमा उडान विस्तार गरी अन्तर्राष्ट्रिय बजारहिस्सा बढाउने लक्ष्य राखेको छ । निगमले अहिले तीनवटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले नेपालबाट हुने कुल अन्तर्राष्ट्रिय उडानको १० प्रतिशत बजारहिस्सा ओगट्न सकेको छैन ।
http://www.enayapatrika.com/2017/06/13/155090/

Comments