टिआइएमा : सुरुङमार्गमाथि धावनमार्ग, प्रस्तावित आयोजनाबारे सरोकारवाला नै अनभिज्ञ

अच्युत पुरी, काठमाडौं   |   २७ जेठ
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्ने क्रममा ल्याएको महत्वाकांक्षी योजनाका सम्बन्धमा सरोकारवाला नै अनविज्ञ छन् । सरकारले आर्थिक वर्ष ०७४-७५ को बजेट वक्तव्यमार्फत कोटेश्वर–सूर्यविनायक सडकखण्डलाई सुरुङमार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग र पार्किङ वे थप गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा विस्तारको जिम्मेवार निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हुन् ।
तर, कोटेश्वर–सूर्यविनायक सडकखण्डलाई सुरुङ मार्गमा परिणत गरी धावनमार्ग र पार्किङ वे विस्तार गर्ने कार्यक्रम सम्बन्धमा भने यी दुवै निकाय अनविज्ञ छन् । ‘यो पर्यटन मन्त्रालयबाट गएको कार्यक्रम होइन,’ मन्त्रालयका सहसचिव (योजना तथा मूल्यांकन महाशाखा) डण्डुराज घिमिरेले भने, ‘त्यसकारण यसमा कुनै अध्ययन भएको जानकारी छैन ।’
त्रिभुवन विमानस्थलको चाप न्यूनीकरण गर्न कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा स्तरोन्नति गरी धावनमार्ग विस्तार र पाकिङ वे थप गर्ने बजेट वक्तव्यमा उल्लेख छ । तर, अहिले त्रिभुवन विमानस्थलको क्षमता विस्तार आयोजनाका क्रममा यस प्रकारको योजना भने नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
के हो वास्तविकता ? 
कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गर्ने या उक्त सडक बन्द गरी वैकल्पिक सडक बनाउने प्रस्ताव भने नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार यो सडकखण्ड अहिले पनि त्रिभुवन विमानस्थलकै पेरिफेरिभित्र पर्छ । यो सडक अहिले राजधानीमा सबैभन्दा व्यस्त सडकमध्ये पर्न थालिसकेको छ । एकातर्फ सवारी र यात्रुको चाप बढ्ने र अर्कोतर्फ सडक आसपास गगनचुम्बी घर बन्दा हवाई सुरक्षा (सेफ्टी–सेक्युरिटी)मा चुनौती थपिने भन्दै प्राधिकरणले लामो समयदेखि यस विषयमा छलफल चलाउँदै आएको छ ।
तर, यस वर्ष बजेटमै समावेश गरी कार्यान्वयन गर्ने सम्बन्धमा भने कुनै छलफल या अध्ययन नभएको महानिर्देशक गौतमले स्पष्ट पारे । ‘अवतरण गर्ने वेला अहिले पनि जहाज सडकमार्गको निकै नजिक आइपुगेका हुन्छन्, टिआइएको क्षमता विस्तारपछि धावनमार्ग लम्बिँदा जहाज झनै नजिक आइपुग्छन्,’ उनले भने, ‘त्यसकारण जहाजको सुरक्षालाई ध्यानमा राख्दै यो सडकको विकल्प खोज्नुपर्ने अवधारणा प्राधिकरणले ल्याएको हो ।’
कसरी प्रवेश पायो बजेटमा ? 
अर्थमन्त्रालय स्रोतका अनुसार यो कार्यक्रम राष्ट्रिय योजना आयोगको विशेष आग्रहमा बजेट भाषणमा समेटिएको हो । आयोगका उच्च अधिकारीकै आग्रहमा कार्यक्रमले बजेट भाषणमा स्थान पाएको स्रोतको भनाइ छ ।
बजेट वक्तव्यमा के भनिएको छ ? 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिनेछ । यसअन्तर्गत विमानस्थलसँगैको कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ वे थप गरी एयर ट्राफिक समस्या न्यून गरिनेछ ।
सम्भव छैन सुरुङमार्गमाथि धावनमार्ग 
प्राधिकरणका अनुसार कोटेश्वर–सूर्यविनायक सडकको विकल्प खोज्नु या यसलाई भूमिगत गरी सुरुङमार्ग बनाउनु धावनमार्ग विस्तारका लागि होइन । ‘यो सडक बन्द गरी विकल्प खोज्दा या सुरुङमार्ग बनाउँदैमा त्रिभुवन विमानस्थलको ट्राफिक चापबाट उत्पन्न समस्या न्यूनीकरण हुन्छ भन्ने होइन,’ महानिर्देशक गौतमले भने, ‘हवाई सुरक्षा अभिवृद्धिका लागि महत्वपूर्ण छ ।’ अन्तर्राष्ट्रिय विमानस्थलको आडैमा मानवीय गतिविधि तथा सडक र सवारीका कारण हवाई सुरक्षामा चुनौती थपिँदै गएको प्राधिकरणको भनाइ छ ।
http://www.enayapatrika.com/2017/06/10/154394/

Comments