प्रतिकूल मौसमले उडान प्रभावित

अच्युत पुरी, काठमाडौं   |   चैत २०, २०७३
पछिल्लो एक साता प्रतिकूल मौसमको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरणमा परेको छ । विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा मौसम परिवर्तनसँगै भिजिबिलिटी कम भएपछि जहाजहरू उडान–अवतरण प्रभावित बनेको छ । सोही कारण ग्राउन्डमा रहेका जहाजहरू एकदेखि डेढ घन्टासम्म डिले हुने तथा आकाशमा रहेका जहाजहरू होल्ड हुने समस्या रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । व्यवसायीहरू भने १ देखि ५ घन्टासम्म उडान डिले तथा लामो समय जहाज आकाशमा होल्ड हुने गरेको बताउँछन् । ‘आकाश खुलेर विनाअवरोध उडान–अवतरण गर्न सकिने समयमा मौसम बिग्रिएको छ,’ एक व्यवसायीले भने, ‘यस अवस्थामा स्वाभाविक रूपमा समस्या हुन्छ ।
कसरी प्रभावित हुन्छ उडान–अवतरण ?
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्टुमेन्टल फ्लाइट रुल (आइएफआर) यी दुई नियमबाट उडान–अवतरण हुने गर्छ । सामान्य अवस्थामा भिएफआर नियमबाट उडान–अवतरण गरिन्छ ।
यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ । किनकि, यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।
खराब मौसमका कारण भिएफआर नियमअनुसार उडान–अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।
http://www.enayapatrika.com/2017/04/02/136580/

Comments