अच्युत पुरी, काठमाडौँ | १२ चैत 

१ सय ६६ होटेलसँग मात्र छ विदेशी मुद्रा ग्रहण गर्ने इजाजत
नेपालमा सञ्चालित अधिकांश होटेल–रेस्टुराँसँग विदेशी मुद्रा ग्रहण गर्ने इजाजत नै नरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार अहिले नेपालभर सञ्चालित होटेलमध्ये केवल १ सय ६६ वटा होटेल–रेस्टुराँसँग मात्र विदेशी मुद्रा ग्रहण गर्ने इजाजत छ । तर, मुलुकभर सञ्चालित पर्यटकस्तरका अधिकांश होटेल तथा रेस्टुराँले विदेशी मुद्रामा समेत भुक्तानी लिने गरेको सरकारी अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकले पर्यटन विभागमा आधिकारिक रूपमा दर्ता भएका र पर्यटकस्तरीय तथा सोभन्दा माथिल्लो श्रेणीका होटेललाई विदेशी मुद्रा ग्रहण गर्ने इजाजत दिने गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा १ सय १६ वटा तारेस्तरका होटेल पर्यटन विभागमा दर्ता भएका छन् । पर्यटकीयस्तरका होटेलको संख्या ९ सय ५७ छ । विभागमा दर्ता नभई स्थानीय निकायहरूमा दर्ता भएका होटेल र रेस्टुराँको संख्या हजारौँको संख्यामा भए पनि ती होटेल–रेस्टुराँले विदेशी मुद्रा ग्रहण गर्ने इजाजत छैन ।
अनौपचारिक कारोबार बढी
नेपालमा पर्यटक आगमन वृद्धि हुने र होटेलमा अक्कुपेन्सी बर्सेनि बढिरहे पनि पर्यटन क्षेत्रले अर्थतन्त्रमा गर्ने योगदानको हिस्सा भने बढ्न सकेको छैन । सन् २०१५ मा पर्यटन क्षेत्रले ४९ अर्ब ७८ करोड आम्दानी गरेको थियो । सन् २०१४ मा यस्तो आम्दानी ४६ अर्ब ३७ करोड रहेको थियो । खासगरी पर्यटनमा अवैध तथा अनौपचारिक कारोबार बढी भएका कारण यसबाट हुने आम्दानीको खास नतिजा आउन नसकेको जानकारहरू बताउँछन् ।

विदेशी मुद्राको अवैध कारोबार नहोस् भनेरै नेपाल राष्ट्र बैंकले होटेलहरूलाई मुद्रा ग्रहणसम्बन्धी इजाजत दिने गरेको राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना बताउँछन् । ‘एकातर्फ विदेशी मुद्रा साट्न नपाएर पर्यटकले नेपालमा खर्च गर्न नसक्ने वातावरण नबनोस् र अर्कोतर्फ अनौपचारिक कारोबारसमेत नहोस् भनेर होटेललाई विदेशी मुद्रा ग्रहण गर्ने इजाजतको व्यवस्था गरिएको हो,’ उनले भने, ‘विधि र प्रक्रिया पूरा गरी सबै होटेलले यो इजाजत लिनुपर्छ ।’
इजाजत नभएका होटेलमा आउने पर्यटकले होटेलबाहिर रहेका मनी एक्स्चेन्जबाट नेपाली मुद्रा सटही गरी पैसा बुझाउनुपर्ने हुन्छ । तर, मुख्य पर्यटकीय क्षेत्रमा डलरको अवैध कारोबार बढी हुने र त्यसले अनौपचारिक कारोबार बढाएका कारण पर्यटनको खास योगदान औपचारिक प्रणालीमा कम देखिने गरेको पर्यटन व्यवसायीहरू स्वीकार गर्छन् । नेपालमा कुल ४ हजार ५ सय कम्पनीले मनी एक्स्चेन्जको लाइसेन्स लिएका छन् ।
होटेलमा आउने पर्यटकबाट नेपाली मुद्रा लिनुभन्दा विदेशी मुद्रामै कारोबार गर्दा राज्यलाई फाइदा हुने भन्दै विदेशी विनिमयको अनौपचारिक कारोबार घटाउने अभियानमा सहयोग गर्न नेपाल राष्ट्र बैंकका अधिकारीहरूले होटेल व्यवसायीलाई आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)को आयोजनामा मंगलबार राजधानीमा नेपाल राष्ट्र बैंक र होटेल व्यवसायीबीच छलफल भएको थियो । त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटी तथा कार्यकारी निर्देशकद्वय भीष्मराज ढुंगाना र नारायणप्रसाद पौडेलले विदेशी मुद्राको अपचलन तथा अनौपचारिक कारोबारबाट बच्न व्यवसायीहरूलाई सचेत गराए । होटेल व्यवसायीहरूले भने पर्यटकले सेवा प्रयोग गरेबापत स्वीकार गर्ने विदेशी मुद्राबाहेक पनि उसले साइटसिन, किनमेल तथा अन्य प्रयोजनमा गर्ने खर्चको सटही सुविधा पनि होटेलले नै पाउनुपर्ने माग राष्ट्र बैंकसँग गर्दै आएका छन् । विदेशी मुद्रा ग्र्रहण गर्ने इजाजतबाटै मुद्रा सटहीको सुविधा पनि पाउनुपर्ने व्यवसायीहरूको मत छ ।
५ सयमाथिका भारु लिन्छन् होटेल
पछिल्लो समय होटेलहरूले भारतीय पर्यटकबाट ५ सयमाथिको नोट स्वीकार गर्ने गरेको पाइएको भन्दै राष्ट्र बैंकका अधिकारीले यो काम गैरकानुनी हुने स्पष्ट पारेका छन् । ‘विद्यमान व्यवस्थाअनुसार नेपालमा १ सयभन्दा तलको भारु मात्र वैध हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगाना भन्छन्, ‘तपार्इंको काउन्टरमा एउटा मात्र ५ सय, १ हजार र २ हजारको नोट भेटियो भने तपार्इं गैरकानुनी गतिविधिमा संलग्न भएको ठहर हुनेछ ।’

http://www.enayapatrika.com/2017/04/26/141849/
Comments
Post a Comment