पर्वतारोहणमा जिपिएस ट्रयाकिङ डिभाइस प्रयोग गरिने

अच्युत पुरी   |   फागुन २७, २०७३
चुचुरोमै नपुगी आरोहीले झुटो दाबी गर्ने गरेको प्रमाण फेला परेपछि पर्वतारोहणमा प्रविधिको प्रयोग बढाउँदै सरकार
काठमाडौं/सरकारले पर्वतीय पर्यटनलाई सुरक्षित तथा विश्वसनीय बनाउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्र्याकिङ डिभाइस प्रयोगमा ल्याउने योजना बनाएको छ । पछिल्ला वर्ष आरोहण अनुमति लिएका केही आरोहीले चुचुरोमै नपुगी आरोहणको झुटो दाबी गर्ने गरेको प्रमाण फेला परेपछि सरकारले पर्वतारोहणमा प्रविधिको प्रयोग बढाउने योजना बनाएको हो । यस सिजनको वसन्त ऋतु (चैत–वैशाख)मा हुने आरोहणमा नमुनाका रूपमा जिपिएस ट्र्याकिङ डिभाइसको प्रयोग सुरु गरिने पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए ।
विभागले पर्वतारोहणमा जाने आरोहीका साथमा जिपिएस ट्र्याकिङ प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे नेपाली सफ्टवेयर निर्माता कम्पनीहरूसँग छलफल गरेको थियो । ‘उनीहरूबाट सकारात्मक जवाफ प्राप्त भएको छ,’ महानिर्देशक आचार्यले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यसको अनुमति पाए पर्वतारोहणमा प्रविधिको प्रयोग कार्यान्वयनमा आउनेछ ।’
के हो जिपिएस ट्रयाकिङ  ?
जिपिएस अन्तरिक्षमा आधारित एक प्रकारको रेडियो नेभिगेसन सिस्टम हो । अमेरिकाले विकास गरेको यो प्रणाली अहिले नक्सा बनाउन, जमिनको सर्वेक्षण, वैज्ञानिक प्रयोग, पर्वतारोहण तथा ट्रेकिङलगायतमा हुने गरेको छ । यसले लोकेसनको सही जानकारी दिन्छ । अहिले कतिपय स्मार्टफोनमा समेत यस्तो सिस्टम जडान भइसकेको छ । यसको धेरै प्रयोग यातायातको क्षेत्रमा भएको छ । उता उच्च हिमाली क्षेत्रमा प्रत्यक्ष जानकारी लिन असम्भव हुने अवस्थामा डिभाइसमा राखिएको उपकरणले अवस्थितिको रेकर्ड गरी पछि कम्प्युटरमार्फत हेर्न सकिने प्रविधिसमेत विकास भएको छ । विश्वका विकसित मुलुकले आरोहणमा जिपिएस डिभाइस प्रयोगमा ल्याइसकेका छन् ।
आकस्मिक उद्धारमा सहयोगी
जिपिएस डिभाइस प्रयोगले आकस्मिक अवस्थामा लोकेसन पत्ता लगाई छिटो उद्धारमा जुट्न सहयोग गर्छ । ‘जलवायु परिवर्तनका कारण अहिले हिमाली क्षेत्रको मौसमबारे गरिने अनुमान ठ्याक्कै नमिल्न सक्छ,’ नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव ठाकुरराज पाण्डे भन्छन्, ‘जिपिएस ट्र्याकिङ डिभाइसको प्रयोगले नेपाल आरोहणका लागि संसारकै सुरक्षित छ भन्ने सन्देश जानेछ ।’ आरोहणको झुटो दाबी र हिमालमा हुने दुर्घटनाले नेपालबारे नकारात्मक सन्देश प्रवाहित हुने गरेकोमा त्यो नियन्त्रण हुने उनको भनाइ छ ।
सम्पर्क अधिकृतको नाम वेबसाइटमा
पर्यटन विभागले यस सिजनदेखि आरोहण टोलीका साथ हिमालमा जाने सम्पर्क अधिकृतको नाम वेबसाइटमा राखी सार्वजनिक गर्ने तयारी गरेको छ । यसबाट हिमाल जाने गरी खटिएर पनि फिल्डमा उपस्थित नहुने, फिल्डमा गएर आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारीमा दबाब सिर्जना हुने महानिर्देशक आचार्यले बताए । कतिपय आरोहीले सम्पर्क अधिकृत र शेर्पा सहयोगीको मिलेमतोमा चुचुरोमै नपुगी आरोहणको दाबी गर्ने गरेको गुनासो विभागमा आउने गरेको छ ।
ब्रिफिङमा सचेत गराइने
आरोहणको झुटो दाबी अपराधसरह मानिने भन्दै सरकारले हिमाल चढ्नुअघि आरोही, सहयोगी र सम्पर्क अधिकृतलाई दिने ब्रिफिङमा यसबारे जानकारी गराउने भएको छ । हिमालमा हुने विकृति रोक्दै पर्वतीय पर्यटनको गरिमा उच्च राख्न सम्भव भएसम्म सबै प्रयास गरिरहेको महानिर्देशक आचार्य बताउँछन् ।
भारतीय जोडीको प्रमाणपत्र खारेज
सन् २०१६ को वसन्तु ऋतुमा सगरमाथा आरोहणका लागि इजाजत लिएका भारतीय नागरिक दिनेश चन्द्रकान्त राथोड र तार्केश्वरी चन्द्रकान्तको आरोहण प्रमाणपत्र खारेज गरिएको छ । यी दुई आरोही जोडीले झुटो विवरण पेस गरी पर्यटन विभागबाट सगरमाथा आरोहणको प्रमाणपत्र लिएकोमा उक्त प्रमाणपत्र रद्द गरिएको विभागले जानकारी दिएको छ । विभागले गत १२ फागुनमा एक सूचना प्रकाशित गर्दै प्रमाणपत्र रद्द गरिएको जानकारी गराएको हो ।
http://www.enayapatrika.com/2017/03/10/130766/

Comments