नेवानिका पाइलटको भत्ता वृद्धि गर्न निर्वाचन आचारसंहिताको अड्को

अच्युत पुरी   |   चैत १०, २०७३ 
पाइलटलगायत प्राविधिक कर्मचारीको भत्ता बढाउन नेवानिले पर्यटन मन्त्रालयमार्फत गरेको प्रस्ताव अर्थले अड्काइदियो
काठमाडौं/नेपाल वायुसेवा निगमका कर्मचारीको भत्ता वृद्धिको प्रस्तावलाई अर्थ मन्त्रालयले निर्वाचन आचारसंहिताका कारण नमिल्ने भन्दै अड्काइदिएको छ । आफ्ना प्राविधिकतर्फका कर्मचारीलाई निजी कम्पनीले आकर्षक तलब र भत्तामा लैजान थालेपछि निगमले उनीहरूको भत्ता वृद्धि गर्ने प्रस्ताव स्वीकृतिका लागि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको थियो । पर्यटनबाट सहमतिका लागि पुगेको यस प्रस्तावका सम्बन्धमा प्रारम्भमा अर्थले थप कागजात माग गरेको थियो । ‘त्यसपछि अर्थ पठाइएको यस प्रस्तावको जवाफमा मन्त्रालयले निर्वाचन आचारसंहिता लाग्ने भन्दै अड्को थापिदियो,’ पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार अर्थले भत्ता वृद्धिको निर्णयमा निर्वाचन आचारसंहिता आकर्षित हुने भन्दै निर्वाचन आयोगबाट स्वीकृति लिन निर्देशन दिएको छ । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउन सकिने अर्थको तर्क छ । तर, निगमले प्राविधिकतर्फका कर्मचारीको भत्ता वृद्धिको प्रक्रिया निर्वाचन आचारसंहिता लागू नहुँदै प्रारम्भ गरेको थियो ।
जनशक्ति टिकाउन भत्ता वृद्धि
निगमले प्राविधिकतर्फका कर्मचारीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय निजी क्षेत्रका वायुसेवा कम्पनीले ठूलो रकममा किन्न थालेपछि कर्मचारी अभावको समस्या चुलिएको बताउँदै आएको छ । ‘हामीसँग उपलब्ध जहाजको तुलनामा पाइलट र इन्जिनियरको टड्कारो अभाव छ,’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नयाँ पत्रिकासँग भने, ‘निगमको समस्यालाई सरोकारवाला सबैले गम्भीर रूपमा लिनुपर्छ ।
निगमले प्राविधिकतर्फ बढीमा २ सय प्रतिशतसम्म भत्ता वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । निगमका अनुसार सरकारी पाइलटको तुलनामा निजी कम्पनीले दिने सेवा–सुविधा निकै आकर्षक छ । त्यसकारण कर्मचारीलाई निगममा टिकाउन मात्र होइन, नयाँ भर्नाको माग गर्दासमेत नआउने सम्भावना छ । निगमले पछिल्लो समय हरेक महिनाजसो पाइलट माग गरी विज्ञापन गर्दै आएको छ ।
आन्तरिकमा बढी समस्या
निगम स्रोतका अनुसार निगमलाई आन्तरिक उडानमा पाइलटको बढी समस्या छ । सोही कारण निगमले चीनबाट ल्याएका जहाजलाई तालिकाअनुसार उडाउन सकेको छैन । निगममा अहिले आन्तरिक तथा बाह्य उडानका लागि ६५ जना पाइलट तथा को–पाइलट कार्यरत छन् । निगमले हालै माग गरेको दरखास्तबाट शारीरिक तथा स्वास्थ परीक्षण परीक्षामा सफल १ जना पाइलट र ८ जना सिनियर को–पाइलटलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ ।
एकातर्फ नयाँ पाइलट भित्राउने र अर्कोतर्फ भत्ता वृद्धि गरेर भए पनि उपलब्ध जहाजलाई अधिकतम उडान सेवामा लगाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक कंसाकार बताउँछन् । निगमले आन्तरिक उडानका लागि चीनबाट अझै दुईवटा जहाज ल्याउन बाँकी छ । ती जहाज पाइलटको जोहो नभएकै कारण ल्याउन नसकिएको हो ।
http://www.enayapatrika.com/2017/03/23/134086/

Comments