त्रिभुवन विमानस्थल विस्तार आयोजनामा पुनः टेन्डर

अच्युत पुरी   |   फागुन २५, २०७३
यसअघि एउटै कम्पनीलाई सबै कामको जिम्मेवारी दिएर आयोजनाको काम अगाडि बढाएको प्राधिकरणले अब कामलाई विभिन्न चार भागमा बाँडेको छ
काठमाडौं/हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र विस्तारको बाँकी काम सम्पन्न गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया सुरु गरेको छ । उक्त प्रयोजनका लागि प्राधिकरणले सोमबार पुनः टेन्डर आह्वान गरेको हो ।
यसअघि स्पेनिस निर्माण कम्पनी सानहोसे कन्स्त्रक्तोराले ठेक्का पाएको यो आयोजनाको काम तोकिएको समयमा पूरा गर्न नसकेपछि सानहोसेसँगको सम्झौता तोडिएको थियो । प्राधिकरणले २५ मंसिरमा नोटिस अफ टर्मिनेसन निकाल्दै ठेक्का रद्दको प्रक्रिया थालेको थियो । त्यसपछि विस्तार आयोजनाको काम अवरुद्ध भएको छ । आयोजनाअन्तर्गतको कामलाई गति दिन नयाँ टेन्डर गरी निर्माण कम्पनी छनोटको प्रक्रिया थालिएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
आयोजनाको काम चार भागमा बाँडियो
यसअघि एउटै कम्पनीलाई सबै कामको जिम्मेवारी दिएर आयोजनाको काम अगाडि बढाएको प्राधिकरणले अब भने आयोजनाअन्तर्गतको कामलाई विभिन्न चार भागमा बाँडेको छ । त्यसमध्ये पहिलो चरणमा तीन भागको मात्र टेन्डर आह्वान गरिएको छ । प्राधिकरणका महानिर्देशक गौतमका अनुसार पहिलो चरणमा क्रमशः धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय टर्मिनल भवन र विमानस्थलमा दैनिक प्रयोगमा आउने विविध काम (वाटर सप्लाई, फोहोर व्यवस्थापन प्रणाली)लगायतका लागि छुट्टाछुट्टै कम्पनीबाट प्रस्ताव आह्वान गरिएको छ ।
आयोजनाको काम छुट्टाछुट्टै निर्माण कम्पनीलाई जिम्मा दिँदा सबै काम एकसाथ अगाडि बढ्ने र यसले समयमै आयोजनाको काम सम्पन्न गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । २३ फागुनमा प्रथमपटक प्रकाशित टेन्डरको अन्तिम म्याद ७ वैशाखलाई तोकिएको छ । तीन खण्डको कामलाई सम्भव भएसम्म नेपाली कम्पनीबाटै गराउने प्राधिकरणको लक्ष्य छ । यो आयोजनाको कार्यान्वयनमा एसियाली विकास बैंकले ऋण तथा अनुदान सहयोग गरिरहेका कारण टेन्डरमा एसियाली विकास बैंकका सदस्य राष्ट्रका निर्माण कम्पनीले भाग लिन पाउनेछन् ।
माटो भर्ने कामको टेन्डर दुई-तीन महिनापछि
त्रिभुवन विमानस्थल क्षेत्र विस्तार आयोजनाको सबैभन्दा चुनौतीपूर्ण काम विमानस्थलको उत्तरतर्फ रहेको खाल्डोमा माटो भर्ने र त्यहाँ अन्तर्राष्ट्रिय पार्किङ वे निर्माण गर्नु हो । ठूलो परिमाणमा माटो भर्नुपर्ने यस कामका लागि कहाँबाट माटो ल्याउने तथा काम अगाडि बढेपछि विनाअवरोध काम गराउने भन्नेबारे अध्ययन भइरहेकाले यस कामको टेन्डर भने ढिला हुने महानिर्देशक गौतमले जानकारी दिए । उनका अनुसार यसका लागि अझै दुई-तीन महिना समय लाग्नेछ । यो कामको जिम्मेवारी भने विदेशी निर्माण कम्पनीलाई जिम्मा दिने योजना प्राधिकरणको छ ।
१७ प्रतिशत मात्र काम सम्पन्न
मार्च २०१३ बाट काम थालेको सानहोसेले मार्च २०१६ भित्र शतप्रतिशत काम सम्पन्न गर्ने गरी प्राधिकरणसँग सम्झौता गरेको थियो । तर, त्यस अवधिमा लक्ष्यको केवल १७ प्रतिशत हाराहारी मात्र काम सकिएपछि प्राधिकरणले सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालेको हो ।
आयोजना छुट्याएर कार्यान्वयनमा जाँदा फाइदा
प्राधिकरणका अनुसार आयोजनाअन्तर्गतका काम छुट्याएर कार्यान्वयनमा जाँदा छिटो काम सम्पन्न हुनेछ । उत्तरदायी कम्पनी धेरै हुने भएकाले उनीहरूमा निरन्तर दबाब सिर्जना गर्न सकिने प्राधिकरणको विश्वास छ । यसअघि एउटा मात्र कम्पनी उत्तरदायी हुने र उसले सक्दिन भनेको अवस्थामा पूरै काम ठप्प हुने अवस्था नरहने भएकाले पनि आयोजनाको काम छुट्याएर दिने निर्णयमा प्राधिकरण पुगेको हो ।
के निर्माण हुँदै छ विमानस्थलमा
एसियाली विकास बैंकको ८ करोड अमेरिकी डलर सहयोगमा विमानस्थल विस्तार आयोजना कार्यान्वयन हुँदै छ । त्यसमध्ये ७ करोड डलर ऋण र १ करोड डलर अनुदान हो । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनसँगै उत्तर र दक्षिण दुवैतर्फ ३–३ सय मिटर धावनमार्ग विस्तार हुँदै छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ६ सय ५० मिटर पुग्छ । यसबाहेक अन्तर्राष्ट्रियतर्फ पार्किङ एप्रोन, कन्भेयर बेल्ट, ट्याक्सी वेलगायत निर्माण हुँदै छन् ।
http://www.enayapatrika.com/2017/03/08/130392/

Comments