कर्णालीमा बगेको मकालु एयरको जहाज भेटियो

अच्युत पुरी   |   चैत ०५, २०७३ 
जहाज भेटिएको तथ्यलाई मकालु एयरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठले पुष्टि गरे
सर्च एड रेक्स्यु टर्मिनेट (रद्द) गरिसकेको मकालु एयरको जहाज कर्णाली नदीमा पानीको मात्रा कम भएपछि फेला परेको छ । गत २० साउनमा फोर्स ल्यान्डिङ गर्दा हुम्लामा कर्णाली नदीले बगाएको मकालु एयरको जहाजको केही भाग देखिएको मकालु एयरले जहाज दुर्घटना छानबिन आयोगलाई अनौपचारिक रूपमा जानकारी छ ।
जहाज भेटिएको तथ्यलाई मकालु एयरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठले पनि पुष्टि गरे । ‘कर्णाली नदीमा जहाजका केही भाग देखिएको भन्ने खबर आएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, कुन स्थानमा र कुन अवस्थामा छ भन्नेबारे विस्तृत जानकारी छैन ।’
आयोगका संयोजक तथा पूर्वपर्यटनसचिव यज्ञप्रसाद गौतमका अनुसार कम्पनीले जहाज भेटिएकोबारे दुर्घटना छानबिन आयोगलाई औपचारिक जानकारी भने गराइसकेको छैन । ‘जहाज भेटिएको अनौपचारिक जानकारी आएको छ,’ उनले भने, ‘तर, कम्पनीबाट औपचारिक पत्र पाइएको छैन ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, खोज तथा उद्धार केन्द्रका अनुसार २० साउनमा हुम्ला जिल्लास्थित सिमिकोट विमानस्थलबाट सुर्खेत विमानस्थलका लागि उडेको जहाज हुम्लाको हेल्दुङस्थित नदीको बगरमा आकस्मिक अवतरण गरेको थियो ।
सुर्खेतबाट कार्गो लिएर हुम्ला पुगेको सिंगल इन्जिन जहाज सुर्खेत नै फर्कने क्रममा इन्जिनमा गडबडी आएपछि आकस्मिक अवतरण गरेको थियो । जहाजमा रहेका पाइलट साङ्गे ग्याल्मु लामा र को–पाइलट प्रशान्त शाह सामान्य घाइते भएका थिए भने घटनामा मानवीय क्षति
भएको थिएन ।
यसअघि कम्पनीले जहाज नदीमै गायब भएको भन्दै आफ्नो जहाज कर्णालीमै हराएको प्रतिवेदन दुर्घटना छानबिन आयोगलाई बुझाएको थियो । सर्च एन्ड रेस्क्युका क्रममा लामो समयसम्म पनि फेला नपरेपछि नाइन–एनएकेसी कलसाइन (दर्ता नम्बर) भएको जहाज रद्द (टर्मिनेट) गरिएको चिठी आयोगमा बुझाएको थियो ।
प्रतिवेदनमा अन्योल
कम्पनीले जहाजको सर्च एन्ड रेस्क्यु रद्द गरेको चिठी बुझाएसँगै जहाज दुर्घटना छानबिन आयोगले पाइलट र को–पाइलटको बयानका आधारमा प्रतिवेदन तयार पारिसकेको छ । तर, प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । जहाज भेटिएको खबर प्राप्त भएसँगै प्रतिवेदन के गर्ने भन्ने अन्योलमा आयोग छ ।
के छ प्रावधान ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) तथा नेपाल नागरिक उड्डयनको प्रावधानअनुसार कुनै पनि जहाज दुर्घटनापछि अनिवार्य त्यसको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुर्घटनामा परी जहाज नभेटिएको अवस्थामा कुनै प्रतिवेदन तयार पारिसकिए पनि जहाज भेटियो भने पुनः विस्तृत अध्ययन गरी नयाँ प्रतिवेदन तयार गर्नुपर्छ । जहाजको इन्जिन फेलापरेको अवस्थामा अनुसन्धानपछि दुर्घटनाको ठोस कारण पत्ता लाग्ने गर्छ ।
मकालु एयरको जहाज दुर्घटनाबारे छानबिन गर्न ३२ साउनमा आयोग गठन गरिएको थियो । चालक दलको बयानका आधारमा प्राप्त तथ्य समेटेर आयोगले प्रतिवेदन तयार पारिसकेको छ ।
मन्त्रालय र प्राधिकरण मौन
पूर्वसचिव गौतमका अनुसार जहाज या अन्य सबै प्रकारका सवारीसाधन दुर्घटनापछि सर्च एन्ड रेस्क्यु गर्ने दायित्व सरकारको हो । त्यसमा पनि सम्बन्धित निकायको नियमनकारी निकायले यसमा ठोस योगदान दिनुपर्छ ।
तर, मकालु एयरको दुर्घटनामा पर्यटन मन्त्रालय र प्राधिकरण मौन बसेका छन् । यी दुई निकायले औपचारिक रूपमा सर्च एन्ड रेस्क्यु रद्द भएको घोषणा नगर्दा कम्पनीको भर पर्ने बाध्यता आएको उनको भनाइ छ ।
राज्यसँग दुर्घटना छानबिन गर्न स्थायी संयन्त्रे व्यवस्था नहुँदा यस्ता समस्या दोहोरिने गरेको उनको भनाइ छ । मानवीय क्षति नभएका कारण जहाज खोज्न स्वयं कम्पनी र सरकार इच्छुक नदेखिँदा यो दुर्घटना छानबिनको काम कठिन भएको आयोग सदस्यको गुनासो छ ।
http://www.enayapatrika.com/2017/03/18/132743/

Comments