पर्वतारोहण मौसमले बढायो तारे होटेलमा पाहुना

अच्युत पुरी   |   चैत ०९, २०७३

ठूला होटेलमा अकुपेन्सी दर ६० देखि ६५ प्रतिशत
काठमाडौं/पवर्तारोहणको मौसम प्रारम्भ भएपछि तारे होटेलमा पर्यटक आगमन बढेको छ । होटेलहरूको छाता संगठन होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूला होटेलमा अकुपेन्सी (कोठा–उपयोग) दर ६० देखि ६५ प्रतिशत हाराहारी छ । अर्थात्, औसत १ सयवटा कोठामध्ये ६५ वटासम्म कोठा उपयोगमा आएका छन् । होटेलमा पाहुनाको आगमन दर पछिल्लो दुई वर्षको तुलनामा सकारात्मक रहेको संघका प्रमुख कार्यकारी अधिकृत प्रवेश अर्यालको भनाइ छ । वैशाख ०७२ को भूकम्पपछि पर्यटक आगमन दर घटेपछि होटेलको अकुपेन्सी र व्यापार दुवै खस्किएको व्यवसायीहरूको भनाइ छ ।
अप्रिलमा ८५ प्रतिशत पुग्ने अनुमान
हानका अनुसार अप्रिल (चैत–वैशाख)मा तारे होेटेलका ८० देखि ८५ प्रतिशत कोठा भरिने अनुमान छ । ‘होटेलहरूमा अग्रिम बुकिङको अवस्था हेर्दा अप्रिलमा अकुपेन्सी दर ८० देखि ८५ प्रतिशतसम्म पुग्ने अनुमान छ,’ प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । वसन्त ऋतुमा सगरमाथालगायत हिमालहरूको आरोहण गर्न सबैभन्दा धेरै आरोही नेपाल आउँछन् । त्यसकारण चैत–जेठसम्मको समय नेपालमा मुख्य पर्यटकीय मौसममध्ये एक मानिन्छ ।
अघिल्लो वर्ष ६२ प्रतिशत अकुपेन्सी
सरकारले सन् २०१६ को विस्तृत पर्यटकीय तथ्यांक अझै पनि सार्वजनिक गरेको छैन । तर, हानको आन्तरिक अध्ययनअनुसार अघिल्लो वर्ष तारे होटेलहरूका औसत ६२ प्रतिशत कोठा उपयोगमा आएका अथवा बिक्री भएका छन् । सन् २०१६ मा पर्यटक आगमन सन् २०१५ को तुलनमा करिब ४० प्रतिशतले बढेको थियो । नेपालले भूकम्प र भारतीय नाकाबन्दी भोगेको वर्ष सन् २०१५ मा होटेल अकुपेन्सी ३०-३५ (अनुमानित) गरिएको थियो ।
आतिथ्य उद्योगमा ६० प्रतिशतभन्दा माथिको दरमा कोठा उपयोग हुनु (गुड) राम्रो अवस्था मानिन्छ । यो दर ७० प्रतिशत नाघ्दा त्यस अवस्थालाई (एक्सिलेन्ट) उत्कृष्ट मान्ने गरिन्छ । कोठा उपयोग दर ५० प्रतिशतभन्दा कम रह्यो भने उक्त अवस्थालाई सर्भाइभ (सञ्चालनमा मात्र सीमित)  रहेको मानिन्छ ।
प्रतिरात ३८ हजारलाई सेवा दिन सक्ने क्षमता
पर्यटन मन्त्रालयले जुन २०१६ मा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा तारे स्तरीय होटेलको संख्या १ सय १६ छ । यी होटेलमा कुल ९ हजार ७ सय १० वटा बेड (शड्ढया) रहेका छन् । ९ सय ५७ वटा पर्यटकस्तरीय होटेल रहेकोमा बेड संख्या २७ हजार २ सय ४० रहेको तथ्यांक छ । यो सरकारी रेकर्डमा रहेको मात्र तथ्यांक हो । व्यवसायीहरूका अनुसार स्थानीय निकायमा दर्ता भई सञ्चालनमा आएका कुल तारे र पर्यटकस्तरीय होटेलले प्रतिरात ३८ हजारसम्म पर्यटकलाई सेवा दिन सक्छन् ।
दैनिक आधा दर्जन टोलीको ब्रिफिङ
पर्यटन विभागका अनुसार अहिले हिमाल आरोहणमा जाने टोलीहरूले धमाधम आरोहण अनुमति लिइरहेका छन् । त्यसमध्ये दैनिक आधा दर्जनभन्दा बढी टोलीलाई ब्रिफिङ गरी हिमालतर्फ पठाउने गरिएको छ । विभागले अहिलेसम्म सगरमाथाबाहेकका हिमाल आरोहणको फारम मात्र हेरेर आरोहण परमिट जारी गरेको छ । यसै सातादेखि सगरमाथाको समेत परमिट जारी सुरु गरिने विभागको भनाइ छ । सगरमाथा आरोहणका लागि अनलाइनबाट फारम वितरण गरिएको हो ।
http://www.enayapatrika.com/2017/03/22/133820/

Comments