बोइङ बेच्न आगामी साता ग्लोबल टेन्डर

अच्युत पुरी   |   चैत ०२, २०७३
न्यूनतम मूल्य १७ करोड राखेर पुरानो बोइङ जहाज बेच्न विश्वव्यापी टेन्डर आह्वान गर्दै नेपाल वायुसेवा निगम
काठमाडौं/नेपाल वायुसेवा निगमले विस्थापन गर्ने निर्णय गरिसकेको बोइङ बिक्रीका लागि आगामी साता ग्लोबल टेन्डर आह्वान गर्ने भएको छ । जहाजको विस्तृत मूल्यांकनपछि सञ्चालक समितिले ७ फागुनमै जहाजको न्यूनतम मूल्य तोकेर सोही आधारमा ग्लोबल टेन्डर आह्वान गर्ने निर्णय गरेको थियो । व्यवस्थापनले अहिले ग्लोबल टेन्डरको अन्तिम तयारी गरिरहेको र ७ देखि १० दिनभित्र प्रक्रिया पूरा गरी टेन्डरमा जाने निगमका प्रबन्ध निर्देशक (एमडी) सुगतरत्न कंसाकारले जानकारी दिए ।
न्यूनतम मूल्य १७ करोड
निगमले त्रिभुवन विमानस्थलस्थित आफ्नो ह्यांगरमा थन्क्याएर राखेको यो जहाजको न्यूनतम मूल्य १७ करोड रुपैयाँ तोकेको छ । त्यसमाथि सबैभन्दा बढी मूल्य प्रस्ताव ल्याउने कम्पनीलाई निगमले जहाज बेच्नेछ ।
३० वर्ष पुरानो हो बोइङ
निगमसँग अहिले दुईवटा बोइङ ७५७–२०० मोडलका जहाज छन् । यी जहाज निगमले सन् १९८७ मा भित्राएको हो । १ सय ९० सिट क्षमताका यी दुवै जहाज विस्थापन गर्दै अन्तर्राष्ट्रिय उडानमा तत्काल एयरबस कम्पनीका जहाज मात्र थप्ने निगमको रणनीति छ । थोरै जहाज भएको कम्पनीले धेरै कम्पनीका जहाज राख्दा सञ्चालन खर्च बढी हुने भएकाले पुराना जहाज विस्थापन गर्दै नयाँ थप्ने निष्कर्षमा निगम पुगेको हो।
किन बेच्न लागियो यो जहाज ?
डबल इन्जिनयुक्त बोइङ ७५७–२०० बाट एक इन्जिन निगमले अर्को बोइङमा सारेर उडाइरहेको छ । अहिले विस्थापनको योजनामा रहेको जहाजको इन्जिनको आयु अब १ घन्टा उडान मात्र बाँकी छ । त्यो पनि जहाज खरिद गर्ने कम्पनीले उडाएर आफ्नो मुलुकसम्म पुर्या‍उनका लागि मात्र बचाएर राखिएको हो । त्यसपछि जहाज उडानयोग्य बनाउने हो भने नयाँ इन्जिन फेर्नुपर्छ । त्यसका लागि ठूलो धनराशि खर्च हुने र पुराना जहाजलाई नियमित मर्मत गर्नुपर्दा खर्च बढेपछि विस्थापनको निष्कर्षमा पुगेका निगमका एमडी कंसाकारले जानकारी दिए ।
९ महिना थन्कियो जहाज
बोइङ विस्थापनको निर्णय गरे पनि प्रक्रिया अगाडि नबढाई यो जहाज विगत ९ महिनायता थन्क्याएर राखिएको थियो । निगमले यो जहाज लिलामी प्रक्रियामा लैजानेबारे गत जेठमै निर्णय गरेको थियो । निगमसँग अहिले तीनवटा जहाज (एक बोइङ ७५७ र दुई एयरबस ३२०–२००)बाट अन्तर्राष्ट्रिय उडानमा छन् ।
दुई वर्षभित्र अर्को बोइङ विस्थापन
निगमले आगामी दुई वर्ष (सन् २०१९) भित्र अर्को बोइङ जहाजसमेत विस्थापन गर्ने तयारी गरेको छ । उक्त समयभित्र निगमसँग कम्पनीमा चारवटा एयरबस जहाज पुग्ने र क्रमशः एयरबस जहाज थप्दै पुराना बोइङ विस्थापन गरिने प्रबन्ध निर्देशक कंसाकारले जानकारी दिए ।
वाइडबडी खरिद सम्झौताको तयारी
निगमले अमेरिकी कम्पनी एएआरसँग वाइडबडी जहाज एयरबस ३३०–२०० को खरिद सम्झौता गर्ने तयारी गरिरहेको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका अनुसार निगम र कम्पनीबीच खरिद सम्झौताको अन्तिम तयारी भइरहेको छ । ‘सम्भवतः एक–दुई दिनभित्रै प्रक्रिया टुंग्याउने प्रयासमा छौँ,’ कंसाकारले नयाँ पत्रिकासँग भने । निगमले मार्च (फागुन–चैत)भित्रै एएआर कम्पनीसँग खरिद सम्झौता गर्ने यसअघि नै घोषणा गरेको थियो । कंसाकारका अनुसार खरिद सम्झौतापछिको करिब १० महिनाभित्रै दुईवटा नयाँ वाइडबडी जहाज नेपाल आइसक्नेछन् । २ सय ८० सिट क्षमताका यी जहाज ल्याएर लामो दूरीका गन्तव्यमा उडाउने निगमको योजना छ ।
http://www.enayapatrika.com/2017/03/15/132006/

Comments