वाइडबडी जहाज खरिद सम्झौता मार्चमा

अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, २५ माघ   | 


अमेरिकाको एएआर कम्पनीसँग किन्ने दुईवटै वाइडबडी जहाज निगमको आवश्यकताअनुसारको डिजाइनमा बन्ने
नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी एयरबस ३२०–२०० जहाज खरिदसम्बन्धी सम्झौता आगामी महिना (मार्च)मा हुने भएको छ । निगमले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै विमान खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको र मार्चमा खरिद सम्झौता हुने जानकारी दिएको हो । निगमले अमेरिकी कम्पनी एएआर कम्पनीसँग दुईवटा वाइडबडी जहाज किन्दै छ । उक्त कम्पनीसँग जहाज खरिद सम्झौता गरेपछि खरिद प्रक्रिया पूरा भई जहाज आपूर्तिको मिति तय हुने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
करिब २१ अर्बमा दुई जहाज
निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार दुईवटा वाइडबडी जहाजलाई २५ अर्ब रुपैयाँ लाग्ने अनुमानसहित बोलपत्र आह्वान गरेको थियो । तर, एएआरले १० अर्ब ४० करोड रुपैयाँ हाराहारीमा एउटा जहाज उपलब्ध गराउने प्रस्ताव गरेको छ । निगमले अपेक्षा गरेभन्दा सस्तो मूल्यमा जहाज प्राप्त हुने महाप्रबन्धक कंसाकारले जानकारी दिए । ‘सामान्यतया यसरी बोलपत्र आह्वान गर्दा मूल्य र गुणस्तरमध्ये एउटामा सम्झौता गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, निगमलाई पशुपतिनाथको साथ भन्नुपर्छ, सस्तो र राम्रो जहाज नै मिल्यो ।’
निगमकै डिजाइनमा बन्नेछन् जहाज
बोलपत्र आह्वान गर्दा निगमले अधिकतम १ हजार घन्टा उडिसकेको जहाजसम्म भए पनि खरिद गर्न सकिने उल्लेख गरेको थियो । तर, एएआरले नयाँ जहाज नै उपलब्ध गराउने भएपछि यसको डिजाइन पनि निगमले चाहेअनुसार बन्ने कंसाकारले जानकारी दिए । ‘यी दुई जहाज फ्रान्समा बन्ने क्रममा छन्,’ उनले भने, ‘अब हामीले चाहेअनुसारको डिजाइनमा बनाउन सकिन्छ ।’ जहाजमा २ सय ८० सिट रहनेछन् भने १६ सिट बिजनेस क्लासका हुनेछन् ।
स्रोतको जोहो थाल्दै निगम
जहाज किन्ने कम्पनी तय भइसकेपछि अहिले निगम त्यसका लागि आवश्यक रकमको खोजीमा छ । यसैक्रममा निगम व्यवस्थापनले सञ्चय कोषसँग छलफल अगाडि बढाएको छ । निगमले ठूला जहाज ल्याइसकेपछि दक्षिण कोरिया, अस्टे«लिया, साउदी अरब, जापानदेखि बेलायतको लन्डनसम्म उडान विस्तारको योजना बनाएको छ । गन्तव्य विस्तार र व्यवस्थापन सुधारको काम जारी रहने निगमको भनाइ छ ।
खरिद प्रक्रिया पूर्ण पारदर्शी छ : कंसाकार
निगमले जहाज खरिदको निर्णय गरेसँगै स्वाभाविक रूपमा प्रतिस्पर्धी कम्पनीहरू यसबाट झस्किन पुगेका छन् । त्यसमा पनि जब अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट प्राप्त ११ प्रस्तावमध्ये सबैभन्दा राम्रो र सस्तो मूल्यमा जहाज उपलब्ध गराउने एएआर छनोट भएपछि अरू कम्पनी निराश छन् । यसवेला जहाज खरिदमा अनियमितताको हल्ला फिजाएपछि पुनः टेन्डर गराउन सकिने र २५ अर्ब रुपैयाँको ठूलो टेन्डर आफ्नो हातमा पार्ने मनसाय देखिन्छ । तर, निगमले सार्वजनिक खरिद ऐनका प्रत्येक प्रावधान तथा निगमको आफ्नो विनियमावलीको एउटा पनि प्रावधान उल्लंघन गरेको छैन । पूर्ण पारदर्शी प्रक्रियामा जहाज खरिद प्रक्रिया अगाडि बढेको हो ।
निगमको वाइडबडी जहाज खरिदसम्बन्धी टाइमलाइन
– माघ २०७२ : निगमले माघ २०७२ मा अन्तर्राष्ट्रियतर्फ ४ र राष्ट्रियतर्फ ४ गरी थप ८ जहाज खरिद गर्न प्रक्रिया थाल्ने निर्णय
– २९ भदौ २०७३ : निगमका लागि जहाज खरिद गर्न सरकार ग्यारेन्टी बस्ने निर्णय
–  ११ मंसिर २०७३ : ४५ दिने म्याद राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
–  १ माघ २०७३ : अमेरिकाको एएआर कम्पनीसँग साझेदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय
–  २ माघ २०७३ : एएआर कम्पनीलाई पत्र पठाइएको
–  १४ माघ २०७३ : एएआर कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर
–  सन् २०१७ भित्र दुईवटै जहाज नेपाल आइसक्ने ।
आन्तरिकतर्फ २० गन्तव्यमा उडानको योजना
नेपाल वायुसेवा निगमले आन्तरिकतर्फ २० वटा विमानस्थलमा उडानको योजना बनाएको छ । चीनबाट खरिद गरेका दुई जहाज हालै भित्राएको निगमले सम्भव भएसम्म धेरै विमानस्थलमा उडान गरी सेवा विस्तारको योजना बनाइरहेको महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । ‘निगमले टिकट भविष्यमा थप्न लागेका दुई चिनियाँ आइसकेपछि आन्तरिकतर्फ कुल ९ जहाज पुग्नेछन्,’ उनले भने, ‘त्यसपछि हामी राष्ट्रिय–अन्तर्राष्ट्रिय दुवैमा प्रतिस्पर्धी बन्नेछौँ ।’
http://www.enayapatrika.com/2017/02/07/124261/

Comments