अच्युत पुरी , काठमाडौं, २४ माघ

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई मार्ग प्रयोग गरी बाहिरिने यात्रुबाट विमानस्थल विकास शुल्क (एडिएफ)का नाममा उठाएको रकम ४ अर्ब नाघेको छ । आर्थिक वर्ष ०७१-७२ देखि प्राधिकरणले त्रिभुवन विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल शुल्कबापत हजार रुपैयाँ (भ्याटसहित) उठाउँदै आएको छ । प्राधिकरणका अनुसार आव ०७१÷७२ देखि चालू आव ०७३-७४ को पुस महिनासम्म एडिएफमार्फत ४ अर्ब १२ करोड ९० लाख रुपैयाँ उठिसकेको छ ।
खर्च नगन्य
यस रकमलाई प्राधिकरणले उद्देश्यअनुरूप विमानस्थलको सेवा–सुविधा वृद्धि र भौतिक पूर्वाधार विकासमा उपयोग भने गर्न सकेको छैन । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार एडिएफको रकममध्ये अहिलेसम्म अधिकतम ४ करोडसम्म मात्र खर्च भएको छ । तर, विमानस्थल विकासका आयोजना अगाडि बढ्ने क्रममा रहेका कारण आगामी दिनमा भने यो रकमको खर्च बढ्दै जाने उनको भनाइ छ ।
एडिएफको रकम केमा खर्च गर्नुपर्छ ?
प्राधिकरणका अनुसार एडिएफबापत उठाइने रकम त्रिभुवन विमानस्थलमा यात्रुको सेवा–सुविधा वृद्धि र भौतिक पूर्वाधार विकासमा मात्र उपयोग गर्ने अधिकार छ । त्रिभुवन विमानस्थलबाहेक बाहिर यो रकम खर्च गर्न पाइँदैन । ‘हामीले विमानस्थलभित्र नया“ उपकरण जडान गर्नुपरे पनि यो रकम खर्च गर्न पाइँदैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर, यात्रु बस्ने कुर्सी, साजसज्जा, सरसफाइ र भौतिक पूर्वाधार अभिवृद्धिमा मात्र यसको उपयोग गर्न पाउने अधिकार छ ।’ त्रिभुवन विमानस्थलको विद्यमान धावनमार्ग पुनर्निर्माणमा यसको प्रयोग हुनेछ । बिग्रिएका एप्रोनहरूको मर्मतको काममा पनि यो रकम प्रयोग गर्न पाउने अधिकार प्राधिकरणलाई छ ।
सबैभन्दा ठूलो आयोजना धावनमार्ग मर्मत
प्राधिकरणले विमानस्थल विकास शुल्कको प्रयोग हुने गरी अगाडि बढाएको ठूलो आयोजना धावनमार्ग मर्मत–सम्भार हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार विमानस्थलको धावनमार्ग मर्मत–सम्भारका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया जारी छ । यो आयोजना करिब ३ अर्ब रुपैयाँ हाराहारीको हो । एक मात्र धावनमार्ग रहेको त्रिभुवन विमानस्थलमा धावनमार्ग मर्मतको काम सबैभन्दा चुनौतीपूर्ण मानिन्छ । महाप्रबन्धक उपाध्यायका अनुसार प्रक्रिया पूरा भई निर्माणको काम प्रारम्भ हुनुअघि सेवा प्रदायक कम्पनीहरूसँगको समन्वयमा धावनमार्ग मर्मतको काम प्रारम्भ हुनेछ ।
एडिएफको पैसा अहिलेसम्म के काममा खर्च भयो ?
–विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ नयाँ कुर्सी जडान गर्न
–आगमन कक्षमा नयाँ कार्पेटिङ गर्न
५ वर्षका लागि दिइएको हो अधिकार
प्राधिकरणलाई विमानस्थल विकास शुल्क आर्थिक वर्ष ०७६÷७७ सम्म मात्र उठाउन पाउने अधिकार छ । यो रकम प्राधिकरणले आफूखुसी खर्च गर्न पाउँदैन । सोहीकारण प्राधिकरणले विमानस्थल विकास शुल्कबापत उठेको रकम छुट्टै बैंक खाता बनाएर जम्मा गरिरहेको जानकारी दिएको छ । पछिल्लो समय प्राधिकरणले कर्मचारीलाई बोनस वितरणको निर्णय गरेपछि विमानस्थल विकास शूल्क उठाएर नाफा कमाएको आरोप लाग्दै आएको छ । तर, प्रवक्ता श्रेष्ठले भने यात्रुबाट उठाइएको यो रकम आफुखुसी खर्च गर्ने अधिकार प्राधिकरणलाई नभएका कारण छुट्टै खाता बनाएर जम्मा गरिरहेको जानकारी दिए ।
खर्च गर्न नसके पैसा सरकारलाई
सरकारले प्राधिकरणलाई विमानस्थल विकास शूल्क उठाउने अधिकारी दिदा विमानस्थल भित्र यात्रुको सेवा सुविधाका लागि रकम खर्च गर्न नसके यो पैसा सरकारले फिर्ता लैजाने शर्त राखेको छ ।
http://www.enayapatrika.com/2017/02/06/124079/
Comments
Post a Comment