टिआइए विस्तारको तीनचौथाइ काम नेपाली कम्पनीबाट

अच्युत पुरी/नयाँ पत्रिका , काठमाडौं, २२ माघ  
फेब्रुअरीभित्र बोलपत्र आह्वान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको तीनचौथाइ कामको जिम्मा नेपाली निर्माण कम्पनीलाई दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विस्तार आयोजनालाई चार खण्डमा विभाजन गरेर तीन खण्डमा निर्माणको जिम्मेवारी नेपाली कम्पनी र एक खण्डको निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई दिने तयारी गरेको हो । यसका लागि फेब्रुअरी महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी तयारी भइरहेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसअघि यो आयोजना स्पेनिस कम्पनी सानहोसे कन्स्त्रक्तोराले सम्झौता अवधिमा केवल १७ प्रतिशत हाराहारी मात्र काम गरेपछि प्राधिकरणले ठेक्का सम्झौता रद्द गरिसकेको छ । विस्तार आयोजनाअन्तर्गत अब बाँकी रहेको काम पूरा गर्न प्राधिकरण पुनः ठेक्का प्रक्रियामा जान लागेको हो ।
सानहोसेका सामानको मूल्यांकन जारी
प्राधिकरणका अनुसार अहिले आयोजनास्थलमा रहेका उपकरणको मूल्यांकनको काम जारी छ । सामग्रीको मूल्यांकनसँगै नयाँ टेन्डरका लागि समेत तयारी भइरहेको प्राधिकरणको भनाइ छ । सानहोसेबाट ठेक्का सम्झौताको बैंक ग्यारेन्टी र एडभान्स पेमेन्टलगायत पाउनुपर्ने करिब १ अर्ब ६५ करोड रुपैयाँ प्राधिकरणकले प्राप्त गरिसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । मार्च २०१३ बाट काम थालेको सान्होसेले मार्च २०१६ भित्र जिम्मेवारी पूरा गर्ने गरी प्राधिकरणसँग सम्झौता गरेको थियो । तर, त्यस अवधिमा लक्ष्यको केवल १७ प्रतिशत हाराहारी मात्र काम सकिएपछि प्राधिकरणले सम्झौता रद्द गर्ने निष्कर्षमा पुगेको थियो ।

के–के जिम्मा पाउनेछन् नेपाली कम्पनीले ?
प्राधिकरणले नेपाली निर्माण कम्पनीबीच आह्वान गर्ने टेन्डरमा अन्तर्राष्ट्रिय टर्मिनल भवन, धावनमार्ग विस्तारलगायत रहनेछन् । अन्तर्राष्ट्रिय कम्पनीले भने विमानस्थलको उत्तरतर्फ खाल्डोमा माटो भर्ने र अन्तर्राष्ट्रिय पार्किङ बे निर्माणको जिम्मा पाउनेछ ।

आयोजना छुट्याएर कार्यान्वयनमा जाँदा के फाइदा ?
प्राधिकरणका अनुसार आयोजनाअन्तर्गतका काम छुट्याएर कार्यान्वयनमा जाँदा छिटो काम सम्पन्न हुनेछ । उत्तरदायी कम्पनी धेरै हुने भएकाले उनीहरूमा निरन्तर दबाब सिर्जना गर्न सकिन्छ । ‘यसअघि एउटा मात्र कम्पनी उत्तरदायी हुने र उसले सक्दिन भन्यो भने पूरै काम ठप्प हुने अवस्था थियो,’ प्राधिकरणका उपमहानिर्देशक श्रेष्ठले भने, ‘अब भने आयोजनाअन्तर्गतका सबै काम एकसाथ अगाडि बढ्नेछन् ।

के निर्माण हुँदै छ विमानस्थलमा
एसियाली विकास बैंकको ८ करोड अमेरिकी डलर सहयोगमा विमानस्थल विस्तार आयोजना कार्यान्वयनको क्रममा छ । त्यसमध्ये ७ करोड डलर ऋण र १ करोड डलर अनुदान हो । विमानस्थलको टर्मिनल भवनदेखि उत्तर र दक्षिण दुवैतर्फ ३-३ सय मिटर धावनमार्ग विस्तार हुँदै छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३ हजार ६ सय ५० मिटर पुग्छ । यसबाहेक अन्तर्राष्ट्रियतर्फ पार्किङ एप्रोन, कन्भेयर बेल्ट, ट्याक्सी वेलगायत निर्माण हुनेछन् ।

आयोजना नबन्दा के असर पर्छ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनका अनुसार विमानस्थलको विद्यमान संरचनाले सन् २०२२ पछि यात्रु र विमानको चाप थेग्न सक्दैन ।

त्यसकारण पनि विस्तार आयोजनाअन्तर्गतका काम सम्पन्न गर्नु आवश्यक छ । खासगरी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति नलिएको अवस्थामा अझै लामो समय नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क त्रिभुवन विमानस्थलमै निर्भर हुने निश्चित छ ।
http://www.enayapatrika.com/2017/02/04/123730/

Comments